सञ्चयकोष शाखा विरौटामा

समाधान संवाददाता २०७६ असार ४ गते १३:४६

समाधान संवाददाता
पोखरा

पोखरा महानगरपालिका बडा नं ९, नयाँबजारस्थित भवनबाट विभिन्न सेवा सुविधा प्रवाह गरिरहेको सञ्चय कोषले असार १ गतेदेखि पोखरा १७ विरौटाको भवनबाट सेवा प्रवाह सुरु गरेको छ । नयाँबजारमा रहेको कार्यालय पुरानो भएकाले अत्याधुनिक सुविधासहितको कार्यालय भवन बनाउनका लागि पोखरा १७ विरौटाको आफ्नै भवनबाट सेवा प्रवाह गरिएको कार्यालय प्रमुख दिलीपराज पौडेलले वताए ।

सञ्चयकर्तालाई उपलब्ध गराइने सेवा सुविधा स्थानीय स्तरमा नै उपलब्ध गराउँदै जाने नीति अनुरुप २०५३ सालमा पोखरामा स्थापना भएको शाखाले गण्डकी प्रदेशको गण्डकी र धौलागिरी अञ्चलमा रहेका १० जिल्लालाई समेटेको छ । कार्यालयले कोषकट्टी एवं विशेष सापटीको फाँटवारी संकलन, जम्मा रकमको ८० प्रतिशतसम्म विशेष सापटी, धितोमूलक सापटीमा घर सापटीतर्फ बढीमा १ करोडसम्म, शैक्षिक सापटीतर्फ १० देखि २५ लाखसम्म, घर मर्मत सापटीतर्फ बढीमा २५ लाखसम्म प्रदान गर्दै आएको छ ।

Advertisement

सञ्चयकर्तालाई सामाजिक सुरक्षा सुविधाअन्र्तगत दुर्घटना क्षतिपूर्ति योजनातर्फ बढीमा २ लाखसम्म, सञ्चयकर्ताको मृत्यु भएमा हकवालालाई काजक्रिया खर्च ४० हजार, सुत्केरी तथा शिशु हेरचाह कार्यक्रम अन्तर्गत ७ हजार ५ सय यस शाखाबाट उपलब्ध गराउँदै आएको छ ।

यी सेवाका अतिरिक्त खाता एकीकरण, निजी क्षेत्रका होटल, सहकारी, लघु वित्त लगायतका सञ्चयकर्ताको कोष कट्टी रकमको फाँटवारी प्रविष्ट तथा व्यवस्थापनसमेत गर्दै सञ्चय कोषले गर्दै आएको छ । कोषले सामाजिक सुरक्षणको अवधारण अनुरुप आफ्ना सञ्चयकर्तालाई विभिन्न सेवा सुविधा विस्तार गर्ने क्रममा राष्ट्रिय बिमा कम्पनीसँग २०७५ मंसिर १ गतेदेखि लागु हुने गरी स्वास्थ्य बिमाका लागी सम्झौता गरिसकेको छ । सामान्य उपचारका लागि १ लाख र घातक रोग उपचारका लागि १० लाखसम्मको बिमाको व्यवस्था भएको छ । उनले शल्यक्रियामार्फत प्रसूति भएको अवस्थामा बढीमा ४ हजार ५ सयसम्म दिइने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया