ज्योतिलाई सिर्जनशील कला पुरस्कार

पोखरा ।
युवा कलाकार ज्योति गुरुङका लागि शनिबार विशेष बन्यो । गृहनगर पोखरामा उनको एकल चित्रकला प्रर्दशनीकै दिन सिर्जनशील कलाकार समूहले पुरस्कृत गर्यो । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’, अग्रज कलाकार दुर्गा बराल ‘वात्स्यायन’ लगायतले उनलाई सिर्जनशील युवा कला पुरस्कार २०८० बाट सम्मानित गरे ।
पुरस्कार राशि नगद १५ हजार र सम्मानपत्र छ । कलाकार विश्वरत्न शाक्यद्वारा स्थापित यो पुस्कार १९ औँ पटक प्रदान गरिएको हो । यो पुरस्कारबाट सम्मानित हुनेमा उनी पहिलो महिला कलाकार हुन् ।
कलाकार गुरुङले आफ्नो जन्मभूमिमा पहिलो एकल कला प्रदर्शनीकै दिन सम्मानित हुने विरल अवसरले आफू उत्साहित भएको सुनाइन् । ‘मैले परिवार र अग्रज कलाकारबाट कला सिकेँ, अझै सिक्दै छु । पुरस्कारले सिकाइलाई थप ऊर्जा दिएको छ,’ उनी भन्छिन् ।
देशमा एक दर्जनभन्दा बढी र विदेशमा आधा दर्जन कला प्रदर्शनी गरिसकेकी गुरुङको शनिबार भएको ‘स्टेप टु द नेचर’ शीर्षकको प्रदर्शनीमा दुई दर्जन चित्र प्रदर्शनीमा छन् । बाटर कलर प्रयोग गरी उनले पोखरा र आसपासको प्रकृति र मानव जीवन क्यान्भासमा उतारेकी छन् ।
कार्यक्रममा अग्रज कलाकार दुर्गा बराल ‘वात्स्यायन’ले सिर्जनशील कलाकार समूहको स्थापना र पोखरेली कलाकारको एकताबारे प्रकाश पारे । प्रतिष्ठानका कुलपति बिखर्चीले कलाको महत्व बुझाउन विद्यालय तहबाटै कला शिक्षण गर्नुपर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष मिलन शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा सचिव हेमकान्ति गुरुङ, पूर्वअध्यक्ष विश्व पराजुली, सदस्य निशान थापाल लगायतले बोलेका थिए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया