सिद्धान्तमा नचल्दा सहकारी समस्यामा

पोखरा ।
कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले उद्देश्य अनुरुप सञ्चालक समितिले सहकारी नहाँक्दा लाखौं उपभोक्ता ठगिएको बताएका छन् । मन्त्री जिसीले ब्याजको लोभ गर्दा सहकारी संस्थाहरु धरासायी बनेकोसमेत बताए ।
सुखदुःखमा साथ दिनुपर्ने सहकारीले रातारात धनी हुने र धान्नै नसक्ने करोडौंको कारोबार गर्दा सहकारीबाट देशभर आम मानिस पीडित बनेको उनको ठम्याइ छ । कर्मचारी बचत तथा ऋण सहकारी संस्था पोखराको १६ औं वार्षिक साधारण सभामा कांग्रेस नेता एवं मन्त्री जिसीले खुला बैठक र प्रजातन्त्रका आस्था राख्ने कर्मचारीमात्र सेयर सदस्य भएको सहकारी नमूना बन्नुपर्नेमा जोड दिए ।
सदस्य वृद्धि गर्दै पारदर्शी र जिम्मेवार र इमान्दारिताको पाठ सबैलाई सिकाएर कर्मचारी सहकारी सक्षम हुनेमा आफू विश्वस्त भएको बताए । सहकारीले सबैलाई पाठ सिकाउने र नीति, व्यवहार यस्तो हुनुपर्ने भन्दै नमुना सहकारी बनाउन मन्त्री जिसीले सुझाव दिए ।
सहकारीका अध्यक्ष महेशकुमार सिग्देलको अध्यक्षतामा भएको सभामा कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव सहदेव प्रसाद हुमागाँईले राम्रो गर्ने सहकारी मन्त्रालयको लिस्टमा परेको बताउँदै ऐन, नियम र विनियमलाई पूर्ण कार्यान्वयन गरे गण्डकी प्रदेशमा समस्या नआउने उल्लेख गरे ।
कार्यक्रममा कृषि विकास निर्देशनालयका महानिर्देशक वासुदेव रेग्मी, नेपाली कांग्रेस गण्डकी प्रदेश कर्मचारी प्रशासन विभागका सचिव सुरेन्द्रप्रसाद अधिकारी, नेपाल निजामति कर्मचारी युनियन केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश संयोजक दीपक रेग्मी, संघका केन्द्रीय सदस्य बद्री पौडेल, सहकारीका सचिव एवं नेपाल निजामति कर्मचारी युनियन कास्की अध्यक्ष सुरेशकुमार श्रेष्ठले कर्मचारी सहकारी हरेक कोणबाट उत्तम रहेको बताएका थिए ।
सहकारीका सल्लाहकार संयोजक रामजीप्रसाद कोइराला, सहकारीका उपाध्यक्ष बद्री पौडेल, सहकारीका सञ्चालक सदस्य तथा कार्यक्रम सञ्चालक केदार सापकोटा, लेखा सुपरीवेक्षण समितिका संयोजक हेरम्ब शर्मा पौडेल लगायतले सहकारीको नीति, योजना तथा भावि कार्यक्रम बारे उल्लेख गरेका थिए ।
कर्मचारी बचत तथा ऋण सहकारीले विभिन्न विधामा पुरस्कार प्रदान गरेको छ । सहकारीमा कार्यरत कर्मचारीमध्ये साधना ढुंगाना पुरस्कृत बनिन् । सहकारीले ज्येष्ठ नागरिकतर्फ शंकरप्रसाद कोइराला, सदस्य अभियन्तामा केदार धमला र अञ्जना पोखरेल, सेयर सदस्यतर्फ टीकाराम बराल, शारदा सिग्देल, रचना गुरुङ, राजेन्द्रप्रसाद पौडेललाई सम्मान गरेको कार्यालय प्रमुख निरोज मल्लले बताए ।
वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कारोबार गर्ने शिव परियार र सुस्मिता कार्की, बचतकर्ताको तर्फबाट विष्णु गुरुङ र होमनाथ भण्डारीलाई सम्मान गरिएको सहकारीका व्यवस्थापक शारदा गिरीले जानकारी दिइन् । यस्तै बालबचतमा वत्सल पौडेलले पुरस्कार प्राप्त गरेका थिए भने शैक्षिक पुरस्कारमा संकल्प सिग्देल, अधिश ढकाल, मनाकामना गौतम, चन्द्रकाला बस्नेत, आशा कोइराला, आशीष सिग्देल, इजिता जोशी पुरस्कृत भएका थिए ।
६ सय ९४ सेयर सदस्य रहेको कर्मचारी बचत तथा ऋण सहकारीमा २ करोड ५६ लाख ५० हजार सेयर पुँजी, ५ करोड ६१ लाख ५१ हजार बचत, ७ करोड, ४७ लाख ७० हजार ऋण लगानी छ । नेपाल निजामति कर्मचारी युनियन तथा सार्वजनिक सेवा कर्मचारी संघसँग आवद्ध कर्मचारी सेयर सदस्य रहेको सहकारीले सामाजिक उत्तरदायित्वका विभिन्न कार्य गर्दै आएको छ ।









सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया