पुस्तक समीक्षा

काव्य–साधक रमेश श्रेष्ठको– मलामी पहाड र सारंगी

श्रीबाबु कार्की २०८० असोज २१ गते १६:४३

बिम्बकविका रूपमा छवि निर्माण गरेका रमेश श्रेष्ठ नेपाली समकालीन कविका केन्द्रीय व्यक्तित्व हुन् । कविता लेख्नु र कविता हुनु नितान्त फरक कुरा हुन् । कविता भनेर लेखिएका सबै कुरा कविता हुँदैनन् । वास्तविक कविता ती हुन् – जसले मानव हृदयलाई आल्हादित र मस्तिष्कलाई गहिरोसँग झंकार प्रदान गर्छ ।

Advertisement


कविता भावनाको सपाट वर्णन होइन । न लहैलहैमा लेखिएको शब्दको उटपट्याङ गुजुल्टो नै हो । अनुभूतिको तीव्र प्रवाह रहेको कविताले हरेक मानिसभित्र नजानिँदो स्थायी प्रकम्पन दिन्छ । असली कवितामा बिम्बको प्रवाह चाहिन्छ, प्रतीकको सौन्दर्य चाहिन्छ, ध्वनिको गति चाहिन्छ, वक्रोक्ति /गुण /रस/अलंकार/शैली आदिको चामत्कारीक शक्ति चाहिन्छ । वैचारिकता, निजत्व, दर्शन र जीवनबोधको गहिरो चिन्तन अनि सौन्दर्य चाहिन्छ । कवितामा भाषाको पनि उत्कृष्ट कला र लचकता चाहिन्छ । यी सबै कुराको संयोजनले मात्रै कविता कविताजस्तो हुन्छ ।


कवि रमेश श्रेष्ठका कवितामा कविताका धेरै तत्व र सौन्दर्य भेट्टाउन सकिन्छ । उनका हरेक कविताले मस्तिष्कमा गहिरोसँग छुुन्छन् । हृदयमा विशिष्ट तरंग पैदा गर्न पुग्छन् । श्रेष्ठका कविता समकालीन पृष्ठभूमिका कविताहरूभन्दा पृथक उभिएका छन् । उनैले छुट्टै काव्यिकमार्ग स्थापित मात्रै गरेका छैनन्, पूर्ववर्तीहरूले कोरिदिएको नक्सासमेत उनको हातमा छैन । आफ्नै स्थापत्यमा उभिएर आफ्नो छुट्टै काव्यिक गोरेटो कोर्दै हिँड्ने नेपालका थोरै कविहरूमध्येका एक नाम हुन् – रमेश श्रेष्ठ । उनका हरेक कविता पढ्दा लाग्छ – उनी विशिष्ट चेतका अल्पसंख्यक कविहरूमध्येका एक हुन् ।


कविता कुनै अपेक्षाभावले लेखिन्न । असल कविले अनपेक्षितभावले काव्य निर्माण गर्छ । कविता निष्कामभावले उत्पन्न हुने एउटा विशिष्ट हृदयानुभूति हो । कविता भनेर छापिएका/वाचिएका सबै किमार्थ कविता हुँदैनन्/होइनन् पनि । आकाशमा देखिएका सबै चम्किला बस्तु सूर्य– चन्द्र होइनन् । लाखौंका संख्यामा चम्किरहेका ताराहरू र सूर्य–चन्द्रमा अकल्पनीय फरक छ । यत्ति हो तिनीहरू उज्यालोका स्रोत हुन् । कविता पनि त्यही हो । समकालीन कवितामा देखापरेका ताराहरू विहानीको उज्यालोमा आफैं हराए जान्छन् । कति कविहरू स्वान्तः सुखायका निर्मिति मात्रै हुन् । यस्ता सिर्जनाको अस्तित्व बलेँसीको पानीका फोकाझैं क्षणभंगुर हुन्छन् । यही कविताको भीडमा एउटा पृथक स्वभाव/शैली र सौन्दर्य बोकेका कवि हुन् – रमेश श्रेष्ठ ।


रमेश श्रेष्ठ शब्दमा प्रकट हुने सामथ्र्यवान् कवि हुन् । उनको काव्यिक चिन्तन, परिपक्वता, गहिरो सौन्दर्य एवम् तिक्खर शब्द–शिल्पले कवित्वको गहिराई, अग्ल्याइँमा असीम स्वाद पाठकले अनुभूत गर्न सक्छन् । तीक्ष्ण संवेदना, जैविक सहअस्तित्वका संवेद्य कवि हुन् ऊनी । जीवन र जगतको सौन्दर्यलाई निक्कै तिक्खर प्रस्तुति गर्ने उनीभित्रको कवित्वचेत निक्कै सबल, सक्षम र शक्तिशाली रहेको प्रतीत हुन्छ ।

Advertisement

श्रेष्ठ आफ्ना कविताहरूमा कतै प्रकृतिकरण भएर पोखिएका छन् त कतै प्रकृतिलाई मानवीकरण गरेर फैलिएका छन् । मलामी पहाड र सारंगी कवितासंग्रहभित्रका कविताहरू समयको अनुहारमा उभिएर लेखिएका सुन्दर शब्द–चित्र हुन्


नेपाली कविताका अथक साधक रमेश श्रेष्ठकृत पछिल्लो कविताकृति हो – ‘मलामी पहाड र सारंगी– २०८०’ उनको यो संग्रहमा दुईवटा खण्ड छन् । ‘मलामी पहाड’ र ‘सारंगी’ यी शृंखलामा युगीन यथार्थ प्रस्तुत भएको छ । कतै मूर्त, कतै अमूर्त र कतै बिम्ब, कतै प्रतीकले शोभनीय छन् यिनका कविताहरू । उनका कविताले मानवीय जिजीविषा, जुगुप्सा र मुमुक्षाको उद्वोदन गरेको पाइन्छ । श्रेष्ठ आफ्ना कविताहरूमा कतै प्रकृतिकरण भएर पोखिएका छन् त कतै प्रकृतिलाई मानवीकरण गरेर फैलिएका छन् । मलामी पहाड र सारंगी कवितासंग्रहभित्रका कविताहरू समयको अनुहारमा उभिएर लेखिएका सुन्दर शब्द–चित्र हुन् ।


उनी समयका अनेकौं रङहरू मार्फत विम्ब र प्रतीकले कविताको क्यानभाष रङ्याउने सिद्धहस्त कवि हुन् । कवि रमेश श्रेष्ठ आफैंमा बहुआयामिक व्यक्तित्व हुन् । ऊनी शब्दमा खेल्न जत्ति पारंगत लाग्छन् रङसँगको उनको दौँतरी पनि उत्तिकै सशक्त देखिन्छ । रमेश श्रेष्ठ रङसँग पनि उत्तिकै प्रेमिल छन् । रङ सौन्दर्यमा पनि ’काविल’ छन् ऊनी । यस हिसाबले रमेश समकालीन कविता र क्यानभाषका एक अप्रतिम व्यक्तित्व हुन् ।

यो संग्रहमा भएका दुई खण्डमध्ये पहिलो खण्ड मलामी पहाडमा एकसठ्ठीवटा कविता संग्रहित छन् भने दोस्रो खण्ड सारंगीमा सत्र वटा कविता छन् । एकै शृंखलामा यति सशक्त कविता सिर्जना गर्न सक्ने उनीभित्रको कवित्वको प्रखर चेतना विशेष लाग्छ । मलामी पहाड शीर्षक खण्डबाट एउटा शक्तिशाली कविता हेरौं ।

बारम्बार
विथोलिएपछि पनि
मुसारिरहन्छु सपनाहरूलाई

अनौठो भई बस्छन् हरेक उत्सवहरू

मानौँ
फूलहरू निदाइरहेका छन्
अर्का बिथोलिएका
सपनाहरूको खोजीमा


थोरै शब्दप्रयोगमा शक्तिशाली बिम्ब मार्फत कविताको यति बलियो उपस्थिति राख्ने कमै कविहरू छ्न । जो थोरै शब्दमाको चमत्कारले जीवनका आयामहरू चिह्याउन सकून् । जो सामथ्र्य रमेश श्रेष्ठका कवितामा अनुभूति गर्न सकिन्छ । ऊनी कवि मात्रै होइनन् एउटा विचार हुन्, दृष्टिकोण हुन्, शैली हुन्, सौन्दर्य हुन् र काव्यका ‘स्ट्रकचरल इन्जिनियर’ पनि हुन् । उनको काव्यिक निर्माण नेपाली कविताका पारखीहरूका लागि संस्कृति अनि अमुल्य सम्पदा हुन् ।

रमेश श्रेष्ठ कालजयी कविताहरूका सर्जक हुन् । नेपाली कवितामा रमेशीय शैली, मौलिकता र स्वरुपले जो कसैको मन–मस्तिष्क सजिलैसँग तान्छ । उनका कवितामा समाज र प्रकृतिको आरोह– अवरोह छ । जैविक– अजैविक जीजीविषाहरू छन् । मानव र मानवेतर सम्बन्धका अनुभूतिजन्य सम्बन्धहरू छन् । वैश्विक चेत र ब्राह्मण्डीय सौन्दर्यहरू उद्घाटित छन् । कवि भूगोलमा कतै बाँधिएका अल्झिएका छैनन् । उनीभित्र सिंगो ब्राह्मणको प्रकम्पन र सौन्दर्य अटाएको छ । उनी चराजस्तै निर्बन्ध र स्वतन्त्र देखिन्छन् ।


कवि श्रेष्ठको कवितासंग्रह ‘मलामी पहाड र सारंगी’को पहिलो खण्ड ‘मलामी पहाड’ कविताभित्र कल्पनाशीलताको निर्बन्ध उडान छ भने ‘सारंगी’ खण्डमा सारंगीलाई केन्द्रीय बिम्ब बनाएर जीवन र जगतको शाश्वत यथार्थ उत्खनन गरिएको देखिन्छ । संग्रहका कविता वाचाल छन् ।


हरेक कविताको पठनबाट पाठकले आआफ्नो चेतनाको भरमग्दूर प्रयोग गर्न सक्ने छन् । सर्जकको अर्थभन्दा सचेत पाठको कविताबोध झन् गहिरो बन्ने निश्चित छ । उनका कविताले बोकेको भावगत सौन्दर्य समुद्रझैं विशाल छ र आकाशगंगाझैं अनन्त छ । श्रेष्ठका हरेक कविताको बहुल पठन अनिवार्य देखिन्छ ।


बिम्बकवि रमेश श्रेष्ठका सन्दर्भमा शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीको शब्द सापटी लिएर भन्ने हो भने –‘समयको आँखामा उभिएर कलात्मक काव्यका लागि नव–विम्वहरू निर्माण गर्न सक्ने उनको क्षमता वास्तबमै लोभलाग्दो छ ।’ शताब्दी वाङमय पुरुष सत्यमोहन जोशीका शब्दनै कवि रमेश श्रेष्ठका लागि काफी छन् भन्ने देख्छु । अन्त्यमा उनको यो कविताप्रतिको साधना र समर्पण अझै बाक्लिँदै र झांगिदै जाओस् – बिम्बकवि रमेश श्रेष्ठलाई कृति सफलताको शतशः शुभकामना ।

लेखकः रमेश श्रेष्ठ
प्रकाशकः साहित्य पोस्ट समूह
सम्वतः २०८०
पृष्ठः १३१
मूल्यः ३५०।–

तपाईको प्रतिक्रिया