संसदीय समितिका सभापतिले लिए सपथ

पोखरा ।
गण्डकी प्रदेशका ४ वटै संसदीय समितिले पूर्णता पाएका छन् । नयाँ प्रदेश सदस्य निर्वाचित भएर आएको ९ महिनापछि संसदीय समिति अर्थात् ‘मिनी संसद’ले आइतबार पूर्णता पाएको हो ।
४ वटै संसदीय समितिका सभापतिलाई आइतबार सभामुख कृष्णप्रसाद धितालले सपथ ग्रहण गराएका हन् । शनिबार भएको मनोनयनमा हरेक समितिका लागि एक/एक जनाको मात्र उम्मेदवारी परेको थियो । अर्थ तथा विकास समितिको सभापतिमा कांग्रेसका भोजराज अर्याल, सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका सुधीरकुमार पौडेल, प्रदेश मामिला तथा कानुन समितिको सभापतिमा कांग्रेसकै चम्पादेवी खड्का र सामाजिक विकास तथा कृषि समितिको सभापतिमा माओवादीका फणीन्द्र देवकोटालाई सभामुख धितालले सपथ ग्रहण गराएका हुन् ।
यसअघि नै प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरुबिच कुन समितिको नेतृत्व कसले लिने भन्ने बारेमा भागबन्डा भएको थियो । सोही सहमति अनुसार कांग्रेसले २, माओवादी र एमालेले एक/एक समितिको नेतृत्व समालेका छन् । प्रदेश सभामा रहने ४ वटा समितिको सदस्य साउन ३० गते नै टुंगो लागे पनि सभापति चयन हुन सकेको थिएन ।
४ वटा समितिमध्ये ३ वटामा १५/१५ जना सदस्य छन् । एउटा समितिमा १३ जना सांसद छन् । प्रदेश सभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र एकीकृत समाजवादीका १ जना सांसद गरी ६० सदस्य छन् ।
तपाईको प्रतिक्रिया