वेदव्यासकाे मूर्ति बनाउन ६३ करोड

समाधान संवाददाता २०७६ असार ४ गते १५:२८

कृष्ण न्यौपाने
दमौली

तनहुँको दमौलीस्थित शिव पञ्चायन मन्दिर क्षेत्रमा निर्माण गर्न लागिएको १ सय ८ फिटको वेदव्यासको मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सार्वजनिक गरिएको छ । व्यासको मूर्तिसहित अन्य संरचनाको गुरुयोजना बनाउने जिम्मा पाएको अर्थक्वेक सेफ्टी सोलुसन्सले मंगलबार दमौलीमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सार्वजनिक गरेको हो ।

प्रतिवेदन सार्वजनिक गर्दै सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत देवकुमार महर्जनले १ सय ८ फिटको व्यासमूर्तिसहित सबै संरचना निर्माणका लागि ६२ करोड ८५ लाख ५ हजार २ सय ११ बजेट अनुमान गरिएको जानकारी दिए । उनका अनुसार मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै ३४ करोड १६ लाख ७६ हजार ९ सय ९३ लाग्ने अनुमान गरिएको छ भने अन्य संरचना निर्माणका लागि २८ करोड ६८ लाख २८ हजार २ सय १७ लाग्ने अनुमान छ ।

Advertisement

निर्माण सुरु भएको ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको र पहिलो वर्ष ७ करोड खर्च हुने अनुमान छ । व्यासको मूर्ति अड्याउनका लागि ३ तल्लाको पेडेस्टल (स्तम्भ) निर्माण गरिनेछ । पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै डेढ वर्ष लाग्ने अनुमान गरिएको महर्जनले जानकारी दिए । व्यास मूर्ति निर्माणका ३० हजार किलो तामा आवश्यक पर्ने अनुमान छ । पेडेस्टल (स्तम्भ) भित्र संग्रहालय र पुस्तकालय हल प्रस्ताव गरिएको छ ।

गुरुयोजना अनुसार व्यासको मूर्तिका अलवा प्रवेशद्वार, पार्किङ, टिकट काउन्टर, गार्ड घर, कोशेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन हल, योग हल, समितिको सचिवालय, बैठक कक्ष, संग्रहालय, वृत्तचित्र हल, व्यास पुस्तकालय, शौचालय, बगैंचाको साथ विश्राम घर, तलाउसहितको मत्स्यगन्धा पार्क, चमेनागृह, पूजारी घर, २७ वटा साना व्यासका मूर्ति, व्यासका अनुयायीका ५ साना प्रतिमा र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ । यी सबै संरचना निर्माणका लागि ६० रोपनी क्षेत्रफल जग्गा चाहिन्छ ।

Advertisement

गुरुयोजनामा १०८ फिटको अग्लो व्यासको मूर्तिलाई पश्चिम फर्काइएको छ । महर्जनले भने, ‘धार्मिक परम्परा अनुसार पूर्वमा बसेर पश्चिम फर्केर पूजा गर्ने विश्वास छ । त्यही भएर हामीले व्यासको मूर्तिलाई पश्चिम फर्काएर राख्ने गरी गुरुयोजनामा समावेश गरेका छौं ।’ व्यासको मूर्तिको खुट्टासम्म पुगेर सर्वसाधारणले फोटो खिच्न सक्नेछन् । त्यहाँ पुग्नका लागि भ¥याङको व्यवस्था गरिनेछ ।

व्यास क्षेत्र शिव पञ्चायन विकास कोष अध्यक्ष अशोककुमार श्रेष्ठले व्यासको मूर्तिको स्वरुपबारे प्रश्न उठेकाले विद्वत भेला राखेर अन्तिम रुप दिइने बताए । उनले भने, ‘अग्ला–अग्ला मूर्ति भएका संसारका विभिन्न ठाउँका विज्ञसँग छलफल गरेर व्यासको मूर्तिसहितका संरचना निर्माणका लागि डिपिआर तयार गरिएको छ । व्यास मूर्तिको स्वरुपबारे भने एक पटक पुन छलफल गर्छौं ।’ व्यासको १०८ फिटको मूर्ति तनहुँको प्रतिष्ठाको रुपमा रहने भएकाले यसलाई सम्पन्न गर्न सबै तनहुँवासीको साथ र सहयोग आवश्यक पर्ने श्रेष्ठले बताए ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले व्यास मूर्ति निर्माणका लागि सबै क्षेत्रको सहयोग आवश्यक पर्ने भएकाले सबैको मन जित्ने गरी निर्माणका कामलाई अगाडि बढाउनुपर्ने बताए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले मूर्ति निर्माणका लागि जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदसँग बजेट माग गर्न सकिने बताए ।

कोषले अर्थक्वेक सेफ्टी सोलुसन्सलाई गुरुयोजना निर्माणका लागि ५० लाखमा जिम्मेवारी दिएको थियो । महर्षि वेदव्यासको जीवनकथालाई प्रतिबिम्बित गर्ने गरी गुरुयोजना तयार गरिएको कोषका महासचिव विष्णुभक्त सिग्देलले जानकारी दिए । महर्षि व्यासको जन्म कहानी प्रतिबिम्बित गर्ने सेतीमादी दोभानको अवधारणा, अमर व्यासको चित्रण र गुरुपूर्णिमाको महत्व झल्काउने अखण्ड बत्ती, व्यासले प्रदान गरेका शिक्षा, सिकाई झल्काउने वेदव्यास पार्क, राती सत्यवतीको महत्व झल्काउने मत्स्यगन्धा पार्क लगायतलाई आधार मानेर गुरुयोजना तयार गरिएको छ ।

तपाईको प्रतिक्रिया