गाउँपालिकाले दियो बेरोजगारलाई काम

समाधान संवाददाता २०७६ असार ४ गते १६:१६

समाधान संवाददाता
पोखरा

जिल्लाको माछापुच्छ्रे गाउँपालिका २ सार्दीखोलाकी वर्ष ४४ की सोममाया तामाङको आम्दानीको भरपर्दो उपाय छैन । खोलामा बालुवा चालेर परिवार पाल्दै आएकी उनमा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएर दैनिक काम पाएसँगै खुसीको सीमा छैन ।

नदीमा काम गर्दा नियमित काम नपाइने, वर्खा लागेसँगै काम ठप्प हुने र खेतीपाती गर्ने जमिन पनि नहुँदा घरमै फुर्सदिला दिन काट्दै सँधै परिवार पाल्ने चिन्तामा रहने उनी असार लागेसँगै रोजगारमा आवद्ध भएकी छिन् । उनी भन्छिन्, ‘म जस्तो काम नभएको मान्छेलाई काम पाउँदा औधी खुसी लागेको छ । नियमित कमाई हुने यस्ता कार्यक्रम पहिल्यै आएका भए कस्तो सहज हुन्थ्यो ।’

Advertisement

तामाङ जस्तै प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध माछापुच्छ्रेका ३६ जना बेरोजगार अहिले न्यूनतम रोजगार कार्यक्रममा आवद्ध हुन पाउँदा खुसी छन् । उनीहरुले सरकारले ल्याएका कार्यक्रमलाई वर्षभरी नै सञ्चालन गर्नुपर्ने सुझाव दिए । यही असार १ गतेदेखी रोजगार कार्यक्रम अन्तर्गत कामदारलाई काममा लगाइएको भए पनि मंगलबार औपचारिक रुपमा कार्यक्रम शुभारम्भ गरिएको हो ।

गाउँपालिका प्रमुख कर्ण गुरुङले सडक मर्मत तथा सुरक्षाका सामग्री कामदारलाई हस्तान्तरण गरी कार्यक्रम सुरुआत गरे । बेरोजगारलाई रोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले ल्याइएको कार्यक्रम अन्तर्गत पहिलो चरणमा ३६ जनालाई काममा लगाइएको रोजगार सेवा केन्द्रका संयोजक अनिल कार्कीले बताए ।

Advertisement

गाउँपालिकाका ९ वडाबाट गरी ६ सय ७६ जनाले न्यूनतम रोजगारमा आवद्ध हुन निर्धारित समयभित्र निवेदन दर्ता गराएका थिए । संयोजक कार्कीका अनुसार गाउँपालिका भित्रका सडकको नाली सरसफाइ तथा मर्मत सम्भारको कार्यको योजना छनोट गरी उनीहरुलाई काममा लगाइएको छ । चालु वर्षमा ३० दिनको रोजगार दिइनेछ ।

श्रमिकले दैनिक ८ घण्टाका दरले काम गर्दा दैनिक ज्याला ५ सय १७ पाउनेछन् । १ जना श्रमिकले ३० दिनको १५ हजार ५ सय १० प्राप्त गर्ने प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बताए । रोजगार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा गाउँपालिकालाई ८ लाख बजेट प्राप्त भएकोमा रोजगार कार्यविधिमा बजेटको ७० प्रतिशत श्रमिकलाई दिनुपर्ने प्रावधान छ ।

देशको समृद्धि र विकाससँग जोडिएको कार्यक्रमलाई सफल बनाउन गाउँपालिकाले आगामी वर्षमा सञ्चालन गर्ने योजनामा पनि रोजगारमा संलग्न हुन सूचीकृत भएका बेरोजगारलाई सहभागी गराइने प्रमुख गुरुङले स्पष्ट पारे । उपप्रमुख कृष्ण दवाडीले सडक मर्मत गर्दा सुरक्षामा ध्यान पु¥याउन आग्रह गरिन् ।

तपाईको प्रतिक्रिया