कांग्रेसको कारवाहीः सिरोज पार्टीबाट निस्काशित हुँदा नरेश जोगिएका हुन त !

समाधान संवाददाता २०७६ असार ४ गते १८:०४

समाधान संवाददाता

कांग्रेसको अनुशासन समितिले पार्टीका हित विरुद्ध काम गरेको अभियोग लागेका कांग्रेसका कार्यकर्ता र नेताहरुलाई पार्टीबाट निस्काशन गरेको छ । मंगलबार बसेको बैठकले २५ जिल्लाका एक सय ७६ जनालाई कारवाही गरेको हो ।

मुलुकमा सम्पन्न स्थानीय, प्रदेश र संघीय निर्बाचनमा पार्टीका आधिकारिक उम्मेद्वार विरुद्ध वागी उमेद्वार र उनका प्रस्तावक समर्थक माथि अनुशासन समितिले डण्डा चलाएको हो ।

Advertisement

यस्तो कारवाहीमा कास्कीका तीन कार्यकर्ताको मात्र नाम छ । स्थानीय निकायको निर्बाचनमा पोखरा महानगर पालिकाको उपमेयरमा स्वतन्त्र उमेद्वारी दिएका सिरोज कोइराला, उनका प्रस्तावक विष्णुहरि पौडेल र समर्थक किशोर ओझा पार्टीबाट निस्काशित भएका छन् ।

कारवाहीको लिष्टमा प्रदेश सभा निर्बाचनमा बागी उम्मेद्वार बनेका नरेशशंखर पालिखे र उनका प्रस्तावक समर्थकको नाम नदेख्दा कास्की कांग्रेसका कार्यकर्ताले आश्चर्य मानेका छन् । के कांग्रेसले नरेश र उनका प्रस्तावक समर्थकलाई कारवाही नगरेकै हो त ? यो बुझ्न समाधानन्यूजले कांग्रेस कास्की कांग्रेसका सभापति कृष्ण केसीसंग छोटो टेलिफोन वार्ता गरेको छ ।

Advertisement

समाधान– बिजी हुनुहुन्छ की थोरै कुरा गर्न मिल्छ ?
केसी– मोटरसाइकलमा छु, छोटो कुरा गर्न मिल्ला ।
समाधान–अनुशासन समितिले त कास्कीका जम्मा तीन जनालाई कारवाही गरेछ नी है ?
केसी–ए, जसका विरुद्ध सस्थागत उजुरी परेको थियो, उनीहरु माथि छानविन गरेर कारवाही गरेको होला जस्तो लाग्छ । अहिले पार्टीका आधिकारिक उमेद्वार विरुद्ध उठेका र तिनका प्रस्तावक समर्थकलाई मात्र कारवाही गरेको छ ।
समाधान– यसको मतलब सिरोज कोइराला, बिष्णुहरि पौडेल र किशोर ओझा विरुद्ध मात्र सस्थागत उजुरी परेको रहेछ ।
केसी– हो हो ।
समाधान–त्यसो भए नरेशशंखर पालिखे र उहाँको टिम जोगिएछ, हैन त ?
केसी– उहाँहरु विरुद्ध सस्थागत उजुरी परेन ।
समाधान– भनेपछि उहाँहरु अब जोगिनु भयो ।
केसी– होइन होइन, उहाँहरु (पालिखे टिम)लाई उति बेलै तत्कालै कारवाही गरिएको हो नी । साधारण सदस्य पनि नरहनेगरी पार्टीबाट निस्काशन गरिएको थियो । त्यतिबेलै कारवाही गरिएकाले उजुरी नपरेको हो ।
समाधान–धन्यवाद ।

पोखरा महानगर पालिकाको उपमेयरमा कांग्रेसका आधिकारिक उमेद्वार सरस्वति गुरुङ थिइन भने प्रदेश सभाको कास्की निर्बाचन क्षेत्र नम्बर दुई ख मा कांग्रेसका आधिकारिक उमेद्वार विन्दु थापा थिए । थापा विजयी बने पनि गुरुङ पराजित भएकी थिइन ।

तपाईको प्रतिक्रिया