सम्पादकीय: बिजुलीमा लापरबाही

२२ गतेदेखि पोखराका केही भागमा गएको बिजुली अर्काे दिनमात्रै आयो । पोखराको वडा नम्बर १०, १४ र १५ लगायतका बासिन्दा २४ घन्टाभन्दा बेसी समय बिजुलीविहीन भए । सहरबजारको जीवनमा बिजुलीबिनाको जीवन कल्पनाभन्दा बाहिर भइसक्यो । सबैभन्दा पहिला त उज्यालै भएन । उज्यालो नहुँदा मैनबत्तीको सहाराले पनि काम चल्ला । तर त्योभन्दा जटिल के भने सबैजसोको घरमा मोटरबाट घरको धुरीको टंकमा पानी चढाइन्छ ।
बिजुली नभएपछि कसैले पनि पानी तान्न पाएनन् । न भान्छामा पानी न चर्पीमा । अनि कति कष्टकर होला जीवन ? व्यावसायिक र व्यापारिक नोक्सानीको हिसाब त झन् बेग्लै छ । पोखरा १० शिवचोकमा रहेको विद्युत प्राधिकरणको १३२ केभी सबस्टेसन नजिकै भूमिगत तार खानेपानीको पाइपा बिच्छ्याउँदा टुटेको भन्ने प्राधिकरणको भनाइ छ । त्यसपछि त्यहीं नजिकै बिजुलीको खम्बा पनि ढलेको भनिएको छ । अर्काे फिडरबाट बिजुली पठाउँदा भार धान्न नसकेको पनि भनिएको छ ।
यी विद्युत प्राधिरणमा आइरहेका सामान्य र नियमित समस्यै हुन् । तर सोमबारदेखि मंगलबारसम्म पनि हजारौं नागरिक बिजुलीविहीन हुँदा पनि बेलामा मर्मत भएन । खानेपानीवालाले नै मर्मत गर्नुपर्छ भन्ने प्राधिकरणको भनाइ र खानेपानीचाहिँ गर्दिन भन्ने । दुवैको लडाइँको मार भने जनता । खासमा त्रुटि, गल्ती जसले गरे पनि आफ्नो सेवा तुरुन्तै सुचारु गर्नुपर्ने पहिलो दायित्व विद्युत प्राधिरणकै हो । खानेपानीका तर्फबाट गल्ती भएको भए त्यसपछि प्रक्रिया सुरु गरी ऊसँग क्षतिपूर्ति भुर्ताल गर्न सकिन्थ्यो ।
विद्युत त अत्यावश्यक सेवा हो । बालबच्चादेखि वृद्ध र बिरामीसम्मको जीवनमै प्रभाव पार्ने गरी सेवा टुटाउनु हुँदैन । बिजुली गएपछि फ्रिज सर्वसाधारणको घरका त चलेनन् नै व्यापारिक हिसाबले फ्रिजमा राखिएका वस्तुको ठूलो नोक्सानी व्यवसायीले व्यहोर्नुप¥यो । बिजुलीको लाइन काटिएपछि स्वयं प्राधिकरणकै बिजुली खपत भएन र नोक्सानी भयो । आम्दानीमा असर गर्यो । विकसित देशमा हुन्थ्यो भने बिजुली गएको समयावधि अनुसार जोजसलाई जे जति नोक्सानी भएको छ, त्यसको एकएक पैसा गणना गरी विद्युत सेवा प्रदायक संस्थाले क्षतिपूर्ति दिन्थ्यो । नेपाल भनेर यतिसारो लापरवाही हुनुचाहिँ बिडम्वना हो ।
बिजुली जहिल्यै आउनेजाने भइरहनु पनि नियमित आकस्मिकता बनेको छ । यो भनेको विद्युत प्राधिकरणका क्षमता नभएका ट्रान्सफर्मर, पुराना तार र खम्बा अनि जोखिमपूर्ण वितरण प्रणाली प्रमुख रुपमा दोषी छ, बिजुली गइरहनुमा । नेपालमा अब विद्युत उत्पादन कम छैन । तर संरचना भने अति पुरानो । प्राधिकरणको खपत बढाउने र नियमित सेवा प्रदान गर्ने हो भने वितरण प्रणालीकै पुनसंरचना जरुरी छ । पोखरामा सोम र मंगलबार भएजस्तो कमजोरी दोहोरिनु हुँदैन ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया