कास्की कांग्रेसमा गुटबन्दी चरम
कोरम नपुगेपछि पटक पटक बैठक स्थगित

पोखरा ।
नेपाली कांग्रेस कास्कीको पछिल्ला बैठकमा गणपुरक संख्यानै नपुगेपछि पटकपटक स्थगित हुँदै आएको छ । करिब ३ महिनापछि आइतबार बोलाइएको विशेष बैठकमा गणपुरक संख्या नै नपुगेपछि स्थगित भएको हो । नेपाली कांग्रेसको विधानमै जिल्ला कार्यसमितिको बैठक प्रत्यक महिनाको एक पटक बस्नै पर्ने प्रावधान छ । साही प्रावधान अनुसार नेपाली कांग्रेस कास्कीको बैठक प्रत्यक महिनाको ५ गते बैठक बस्नुपर्छ । तर, आन्तरिक गुटबन्दी झ्यागिँदै जाँदा पछिल्ला २/३ महिनादेखि कांग्रेस कास्कीको बैठक बस्न नसकेको कांग्रेस कार्यसमित सदस्यहरुले बताउँदै आएका छन् ।
‘कांग्रेसको आन्तरिक लोकतन्त्र सकियो । पार्टीमा गटबन्दी हाबी भयो । व्यक्तिगत स्वार्थले पार्टी सञ्चालन हुँदैन । पार्टी सभापतिले बोलाएको बैठकमा अहिले कोही पनि नजाने अवस्था छ । यसरी पार्टी चल्छ ?’ ती कार्यसमिति सदस्यको प्रश्न थियो ।
४२ जना जिल्ला कार्यसमितिमध्ये बैठकमा ८ जना सदस्यमात्रै उपस्थित भएपछि बैठक बस्दै नबसी स्थगित भएको हो । पार्टी सभापति किशोरदत्त बरालको कार्यशैलीप्रति विरोध जनाउँदै पदाधिकारीहरुले आइतबारको बैठक बहिस्कार गरेको कांग्रेस स्रोतले जनाएको छ । तर, संस्थापन पक्ष भने यो स्वीकार्न तयार छैन । उक्त दिन जिल्ला सभापतिले कोरम नपुगेर नभई अन्यन्त्र कार्यक्रम परेकाले बैठक स्थिगित संस्थापन पक्षहरु बताउँछन् ।
तर, वास्तविकता ठिक विपरित छ । मंसिर ४ गते भएको प्रदेश र संघ निर्वाचनपछि सभापति बराल कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएपछि कास्की कांग्रेसमा थप गुटबन्दी भ्याङथिएको छ । निर्वाचनपछि सभापति बराल पक्षले आफूहरुलाई कृष्ण केसी पक्षले निर्वाचनमा असहयोग गरेको गरेको भन्दै असन्तुष्ट छन् । भने, कृष्ण केसी पक्षले सभापति बरालले अनावश्यक आक्षेप लगाएको आरोप लगाउँदै आएको छ । कृष्ण केसी पक्षले सभापति बरालको कार्यक्षमता माथि प्रश्न गर्दै कार्यसमिति बैठक नै बहिस्कार गर्दै आएको कांग्रेस स्रोत बताउँछ ।
‘एउटा नेताले अर्को नेताको मुख नै नहेर्ने गरी नेताहरु बिच दूरी बढेको छ । निर्वाचन परिणामपछि सभापति ज्यू र कृष्ण केसी दाइ बिच दूरी बढेको सत्य हो । यसपछि बैठक बसेपनि महत्वपूर्ण निर्णयमा कास्की कांग्रेस एक जुट छैन,’ कांग्रेस स्रोतले भन्यो, ‘सभापतिले जुन सुकै निर्णय गर्दा पनि एकलैटी गर्न थालेपछि अहिले शुक्रराज शर्मा लगायतका नेता पनि सभापति बरालसँग असुन्तुष्ट हुनुहुन्छ । यसकारण एउटा तहका नेता कास्की कांग्रेसको संस्थापन पक्षसँग रुष्ट छ ।’
सभापति बरालले जिल्ला भ्रातृसंस्था प्रमुख सिफारिस गर्दा बैठकमा छलफल नगरी एकलौटी सिफारिस गरेको, जिल्लामा रहेका विभागहरु विनाकारण विघटन गरेको, दुई महिनासम्म नियमित बैठक नबोलाएको लगायतका विषयमा पार्टी सदस्यहरु असन्तुष्ट रहेको एक जिल्ला सदस्यले बताए ।
स्रोतका अनुसार पार्टी सभापति बरालले विधान विपरीत पदाधिकारी बैठकद्वारा पार्टी सञ्चालन गर्ने प्रयास गरेको, भातृ सांस्थाको विवाद समाधान तथा रिक्त संगठानिक संरचना परिपूर्ति सम्बन्धि बैठकमा एजेण्डा नल्याएको, जिल्ला कार्यसम्पादन हालसम्म गठन नगरेको, निरन्तर जिल्ला कार्यसमिति र सदस्यहरूलाई उपेक्षा गरेको लगायत आरोप लगाउँदै आइतबारको बैठक बहिष्कार गरेको जनाएको छ ।
कांग्रेस विधानले ३ पटकसम्म नियमित बैठक नहुँदा करिब सम्बन्धित समितिको उपयोगिता तथा औचित्य माथिनै प्रश्न उठेको केन्द्रीय सहमहामन्त्रीको भनाइ छ । उनले भने, ‘हाम्रो विधान लोकतान्त्रिक छ हरेक एजेन्डा विषय वा आर्थिक पाटोमा समितिले बहुमतले पास वा अनुमोदन गर्नुपर्छ, ‘एक्लै या कसैको लहडले संगठन चल्दैन झन् जिल्ला समितिको कडा विधान छ ।’
अर्का एक केन्द्रीय सदस्यले भने ‘संगठन मजबुत हार्दिकता वा संस्थागत गर्न नसके यसको कारण खोजेर जो कोही भए पनि मर्यादा मा ल्याउनुपर्छ पार्टी धरासयी बनाउने अधिकार कसैलाई छैन ।’ सदस्यहरुले सभापति बरालले पार्टीमा एकलौटी निर्णय गर्दा पार्टीमा गुटबन्दी र आन्तरिक किचलो चुलिएको बताउँदै आएका छन् ।
चुनावमा गठबन्धन गर्दा कार्यकर्ताबिच दूरी बढ्यो: सचिव भानुढकाल
पार्टी सञ्चालन गर्न आन्तरिक बैठक त बसिरहेको हुन्छ । बुधबार पनि पदाधिकारी बैठक बसेको थियो । पूर्ण बैठक बसेको छैन । केही दिन अघि डाकिएको बैठक सभापति ज्यूले अन्यन्त्रै काम परेकाले सार्नुभएको हो । पार्टीका अन्य गतिविधिमा सहभागी हुँदा र हरेक महिना विभिन्न कार्यक्रमले गर्दा भदौ ५ र असोज ५ को बैठक बस्न नसकेको सत्य हो । केन्द्रीय पार्टी कार्यालयको बैठक नै लामो समय बसेन । अस्तिभर्खर मात्र बस्यो । सबै कुरालाई समेटेर लैजादा बैठक बस्न नसक्नु सामान्य कुरा हो ।
तथापि, कांग्रेस भित्र व्यक्तिगत चरित्र हाबि भएको पनि सत्य हो । जब स्थानीय चुनावदेखि नै केन्द्रबाट गठबन्धन भयो । पार्टीमा एक किसिमको अनुशासन हिनता बढेर गयो । पार्टीले सबै ठाउँमा कांग्रेसकै उम्मेदवार उठान नसक्दा कांग्रेसमा आस्था राख्नेप्रति घात भयो । यसपछि त्यो समस्या देखिँदै थाल्यो । अहिले पनि म भन्छु गठबन्धले गर्दा नै कार्यकर्ता बिचमा अनुशासन बिग्रिएको हो ।
कांग्रेसले जबजस्ती कलम र हसिया हथौडामा भोट हाल्न लगाउँदाको परिस्थिति राम्रो भएन, कार्यकर्ता बिच दूरा बढ्यो । यहाँ कोही व्यक्तिलाई दोष दिनुभन्दा पनि चुनावमा गठबन्धन गर्नु नै गलत थियो भन्ने हो । बरु कांग्रेसले पराजय बेहोर्न तयार हुन्नुपर्छ । निर्वाचनमा एक्लै चुनावमा जानुपर्छ ।
तपाईको प्रतिक्रिया