बझाङ, बाजुरादेखि भेडाच्यांग्रा

एउटैको पर्छ ५० हजार रुपैयाँभन्दा बढी

समाधान संवाददाता २०८० असोज २९ गते १४:०१

पोखरा ।
दसैंमा पोखरा र आसपासमा खसीबोका भन्दा धेरै रुचाइने भनेको च्यांग्रा हो । च्यांग्रा मुस्ताङबाटै पोखरा झर्दै आएका छन् । पहिलापहिला तिब्बतदेखि पनि पोखरामा च्यांग्रा आइपुग्थे । महिनादिनसम्म हिँडाएर च्यांग्रा पोखरा ल्याउने र बेच्ने गरिन्थ्यो ।

Advertisement

अचेल भने तिब्बतीतिरको नाका बन्द छ । पछिल्लो समय भने पश्चिमका थुप्रै जिल्लाबाट पोखरामा च्यांग्रा भित्रन थालेका छन् ।
डोल्पाबाटसम्म च्यांग्रा पोखरा आइरहेको समाचार नौलो थिएन । यसपालि भने हिमाली जिल्ला बझाङ र बाजुराबाट पनि भेडाच्यांग्रा पोखरा भित्रिएका छन् । बझाङ र बाजुराबाट करिब २ हजारभन्दा धेरै भेडाच्यांग्रा पोखरा भित्रिएका हुन् । पोखरामा भेडाच्यांग्रा भित्रिएकासँगै दसैंको चहलपहल सुरु भएको छ ।


बाजुराका २८ वर्षीय सर्पलाल थापाले करिब १ महिना लगाएर भेडाच्यांग्रा पोखरा ल्याएको बताए । चीनको तिब्बतबाट खोजेर उनले भेडाच्यांग्रा पोखरा ल्याएका हुन् । ‘खोज्न जादा १० दिन लाग्यो । सबै एउटै ठाउँमा पाइएन । खोज्दाखोज्दा समय लाग्यो । २६÷२७ दिनमा बाजुरा ल्याएका थियौं,’ उनले भने, ‘त्यसपछि ३ दिन ३ रातमा गाडीमा पोखरा आयौं ।’


बाजुराका सर्पलालले अघिल्लो वर्ष पनि भेडाच्यांग्रा ल्याएर पोखरा आएका थिए । ७२ वटा भेडाच्यांग्रा लिएर शनिबार पोखरा आइपुगेका सर्पलालले आइतबार बिहानसम्म ५ वटा बेचिसकेका छन् ।


मनाङ, मुस्ताङ तथा म्याग्दीका व्यापारीले पनि पोखरामा भेडाच्यांग्रा ल्याउने गरेका छन् । उनीहरुको भेडाच्यांग्रा भने शनिबारसम्म पोखरा आइपुगेको छैन । यसपटक भेडाच्यांग्राको मूल्य व्यापारीले ३५ हजारदेखि ५७ हजार रुपैयाँसम्म तोकेका छन् । गत वर्ष पोखरामा भेडाच्यांग्राको मूल्य व्यापारीले ३२ हजारदेखि ४८ हजार रुपैयाँसम्ममा बिक्री भएको थियो ।

Advertisement


उनले एउटा च्यांग्राको मुल्य अधिकतम ५७ हजारसम्म रहेको बताउँछन् । ‘हामीले खरिद गर्दा नै ५३ हजार हाल्यौं । यता भेटेनरी बनाएको, गाडीमा ल्याउदा र बिचबिचमा पैसा तिर्दा धेरै नै खर्च भयो,’ उनले भने, ‘१ लाख २० हजार त गाडी भाडा नै लाग्छ ।’


बझाङका भीमबहादुर जेठाराले पनि १ सय ५ वटा भेडाच्यांग्रा लिएर पोखरा आएका छन् । हालसम्म १५ वटा भेडाच्यांग्रा बिक्री गरेको उनी बताउँछन् । ‘हामीले नै २८÷२९ हजारमा खरिद गरेका हौं । गाडी भाडा, अरु खर्च गर्दा हामीलाई पनि केही फाइदा हुनुप¥यो । २८ देखि ४० हजार मुल्य तोकेका छौं,’ उनले भने ।


मुस्ताङसम्म अचेल गाडी पुगेको छ । चेडा वा च्यांग्रा हिजोआज ट्रकमै हालेर व्यापारीले पोखरा ल्याउँछन् । अझ पोखराका अलावा बुटवल र चितवनसम्म पनि पुर्‍याइन्छ । मुस्ताङबाट गाडीमा ल्याइने च्यांग्रा पश्चिमी जिल्लाबाट भने अझै पनि हिँडाएरै ल्याउने गरिएको छ । कर्णाली प्रदेशको जुम्लाका कृषक भेडाच्यांग्रा बिक्री गर्न १७ दिन हिँडेर गण्डकी प्रदेश आएका छन् ।
जुम्लाको पातारासी गाउँपालिका–३ का तीर्थराज बोहराको टोली दुई सय ७० भेडाच्यांग्रा हिँडाएर १७ औँ दिनमा गत साता म्याग्दीको सदरमुकाम बेनी आइपुगेको थियो । ती च्यांग्रा पनि पोखरातिर ल्याइएको छ ।


जुम्लादेखि डोल्पा, रुकुमपश्चिम, ढोरपाटन हुँदै परम्परागत व्यापारिक मार्गको प्रयोग गरेर च्यांग्रा व्यापारी गण्डकी प्रदेश आएका हुन् । मुस्ताङी भेडाच्यांग्राले बजार लिन थालेपछि करिब १५ वर्षयता गण्डकीमा डोल्पा र जुम्लाबाट भेडाच्यांग्रा ल्याइएका थिएनन् । यसपालि जुम्लादेखि ल्याइएका च्यांग्राको व्यापारिक गन्तव्य पनि पोखरै हो । यसपालि पोखरामा नजिकको मुस्ताङबाट भन्दा पहिला नै पश्चिमका जिल्लाहरुबाट च्यांग्रा भित्रिएका छन् । प्रतिस्पर्धात्मक बजार भए पनि च्यांग्राको मूल्य भने अपेक्षाकृत सस्तो नभएको स्थानीयको अनुभव छ ।

तपाईको प्रतिक्रिया