केेवलकारमा १ महिनामा डेढ लाख यात्रु

समाधान संवाददाता २०७६ असार ५ गते १३:४०

मोहसिन अली मियाँ
गोरखा

जेठ महिनामा झण्डै डेढ लाख पर्यटकले मनकामना केवलकारमा यात्रा गरेका छन् । जेठ महिनामा १ लाख ३५ हजार २ सय ७२ जना आन्तरिक तथा बाह्य पर्यटकले केबलकार चढेका हुन् । एकै महिनामा यति धेरै यात्री भएको केबलकारको २ दशकको इतिहासमा पहिलो भएको नायब महाप्रवन्धक डिएन कायस्थले बताए । ‘यो महिनामा पर्यटकको अत्यधिक चाप भयो’, उनले भने, ‘२० वर्षे इतिहासमा एकै महिनामा यतिको संख्यामा केवलकार चढेको यो पहिलो पटक हो ।’

चितवनको चेरेशदेखि गोरखाको मनकामना मन्दिरसम्मको केबलकारमा पछिल्लो समय झनै तीर्थालु र पर्यटकको रोजाइमा पर्ने गरेको छ । काठमाडौं र केवलकार स्टेसनबाट विक्री भएको टिकटको तथ्यांकको आधारमा अहिलेसम्मकै सबैभन्दा बढी यात्रुले यात्रा गरेको कायस्थको दावी छ । ‘मनकामना मन्दिर पुनर्निर्माण भएपछि पछिल्लो समय तीर्थालु पनि बढेका छन्’, उनले भने, ‘स्टेसन र बिभिन्न स्थानबाट बिक्री भएका टिकटका आधारमा तथ्यांक निकालेका हौं ।’

Advertisement

केबलकार यात्रा गर्ने २२ प्रतिशत भारतीय छन् भने १ प्रतिशत तेस्रो मुलुकका छन् । बाँकी ७७ प्रतिशत यात्रु भने नेपाली नै रहेको केबलकार स्टेसन प्रशासनले जनाएको छ । अहिले भारतीय क्षेत्रमा अत्यधिक गर्मी भएका कारण पनि भारतीय पर्यटक नेपालको तीर्थ यात्रामा आउने र पशुपति दर्शनपश्चात भारत फर्कदा मनकामनाको दर्शन गर्ने गर्छन् ।

२०५५ साल मंसिर ८ बाट सञ्चालनमा आएको केबलकारले यात्रुको संख्या बढेको भन्दै ०७५ साल भदौ महिनामा ३ वटा गोन्डोला (डिब्बा) थप गरेको थियो । यो आर्थिक वर्षमा मनकामना केवलकारले १२ लाख यात्रुलाई सेवा दिने लक्ष्य राखेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया