नेपाललाई विकसित देशले सघाउनुपर्छः गुटेरेस

समाधान संवाददाता २०८० कार्तिक १५ गते १३:१८

पोखरा ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाललाई विकसित राष्ट्रहरुले सहयोग र समर्थन गर्नु आवश्यक रहेको बताएका छन् । जलवायु परिवर्तनको असर नेपालका हिमालहरुमा स्पष्ट देखिएको भन्दै प्रकृतिविरुद्धको युद्ध रोक्न विकसित राष्ट्रले सहयोग गर्न अपिल गरेका हुन् ।

Advertisement


मंगलबार बिहान अन्नपूर्ण आधार शिविर पुगेर फर्किएपछि पोखराको पुरानो विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘यो भ्रमण विश्वलाई प्रकृतिविरुद्धको युद्ध रोक्न हो । एउटा यो सन्देश पनि हो, हामीले अद्भूत हिमाल र हिमनदीहरू जोगाउनु पर्छ,’ उनले भने । विकसित देशले जलवायु परिवर्तनलाई रोक्न सहयोग नगर्ने हो भने भविव्यमा यसका असर झनै गम्भीर हुने उनको भनाइ छ ।


नेपालमा भएका हिमाल हिमनदी पग्लिएर यहाँका समुदायले समस्या भागिरहेकाले विश्व समुदायसँग यो समस्या समाधान गर्न उनले अपिल गरे । ‘पीडित समुदायका लागि अनुकूलनमा सहयोग पुर्‍याउन थुप्रै कोष छन् । म जहाँ पुगेँ, त्यस्तो स्थानका समुदायका लागि जलवायु परिवर्तनबाट हुने हानी नोक्सानी न्यूनीकरण गर्न त्यस्तो कोषबाट फाइदा लिन सक्छन्,’ उनले भने ।


अन्नपूर्णका स्थानीयले सुनाए समस्या
मंगलबार हेलिकोप्टरमार्फन कास्कीको अन्नपूर्ण गाउँपलिकाको एबिसी पुगेर गुटेरेसले त्यहाँका स्थानीयसँग जलवायु परिवर्तनका असरबारे सोधेका थिए । जलवायु परिवर्तनको असरबारे प्रत्यक्ष अनुभव गर्न र स्थानीयसँग कुरा गर्नका लागि उनी बेस क्याम्प पुगेका हुन् । एकाबिहानै बेस क्याम्पमा पुगेका उनले स्थानीयसँग जलवायु परिवर्तनको असरबारे अनुभव सोधे ।

यो भ्रमण विश्वलाई प्रकृतिविरुद्धको युद्ध रोक्न हो । एउटा यो सन्देश पनि हो, हामीले अद्भूत हिमाल र हिमनदीहरू जोगाउनु पर्छ

Advertisement


स्थानीयले आफूहरूले भोगेका समस्या गुटेरेसलाई सुनाएका थिए । गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जलवायु परिवर्तनका समग्र असरबारे जानकारी गराएका थिए । अन्नपूर्ण ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले सानोमा खर्कमा पशु चराउन जाँदाको अनुभव सुनाएका थिए । गुरुङले जलवायु परिवर्तनकै असर स्वरूप दक्षिण अन्नपूर्ण हिमनदी तीव्र रूपमा पग्लिएको, भू–क्षय र कटानले आधार शिविर नै जोखिममा परेको, हिमआँधी, हिमपहिरो लगायत विपत् भोग्नु परिरहेको सुनाए ।


महासचिव गुटेरेसले विश्वव्यापी तापक्रम वृद्धिमा विकसित र धनी राष्ट्र नै जिम्मेवार रहेको बताए । ‘नेपाल जलवायु परिवर्तनमा जिम्मेवार छैन । अरु धनी राष्ट्रले गर्दा जलवायु परवर्तन भइरहेको छ तर नेपालले त्यसको नतिजा भोगिरहेको छ,’ उनले भने । विकसित देशले प्रविधि र औद्योगिकरणमा वैकल्पिक उपाय खोज्ने सेन्देश विकसित र औद्योगिक राष्ट्रलाई दिन नेपाल आएको उनले बताए । ‘म आह्वान गर्छु, धनी राष्ट्रहरूले नेपाल जस्तो देशलाई जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनमा सहायता गर्नुपर्छ ।


एन्टोनियो गुटरेसको यो दोस्रो पोखरा भ्रमण हो । उनले आफू विद्यार्थी कालमा नेपाल आउँदा पोखरा आएको सुनाएका थिए । सोमबार दिउँसो दोस्रो पोखरा ओर्लिका उनी पोखरा २२ पुम्दीभुम्दी पुगेका थिए । गुटेरेसले सोमबार दिउँसो पुम्दीकोटबाट पोखरा उपत्यका, हिमाल र फेवाताल नियाले ।


यसलगत्तै फेवातालमा बोटिङमा गए । बोटिङ सकेर उहाँ फिस्टेल लजमै बसे । मंगलबार भने माछापुच्छे« गाउँपालिका पुगेर त्यहाँको जलवायु परिवर्तनको असरका बारेमा बुझन पुगेका थिए । मंगलबार पत्रकारसँग कुरा गर्दै उनले पोखराले आफूलाई मोहित परेको र निकै सुन्दर अनुभव गरेको सुनाएका थिए ।


‘संक्रमणकालीन न्याय जटिल र नाजुक’
संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले संसद्को संयुक्त सदनलाई सम्बोधन गरेका छन् । गुटेरेसले सङ्क्रमणकालीन न्याय जटिल प्रक्रिया भए पनि यसले दिगो शान्ति कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाए । उनले भने, ‘तपाईँहरू आफ्नो शान्ति प्रक्रियाको अन्तिम चरणमा हुनुहुन्छ, सङ्क्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्दै हुनुहुन्छ, सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । तर यो सजिलो भने छैन । स्वभावतः यो एक नाजुक र जटिल प्रक्रिया हो ।’


नेपालको चारदिने औपचारिक भ्रमणबाट आफू ज्यादै खुसी भएको उल्लेख गर्दै महासचिव गुटेरेसले नेपाल विश्वको मित्र भएको पनि उल्लेख गरे । उनको सम्बोधनले विश्व समुदायमाझ नेपालको गौरव बढाउने बहुआयामिक सन्देश दिएको प्रतिक्रिया पूर्वसभामुखहरुले दिएका छन् ।


महासचिव गुटेरेसको सम्बोधनपछि पूर्वसभामुख अग्निप्रसाद सापकोटाले नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउन, विश्वशान्ति कायम गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि खेलेको भूमिका र सहयोगको महासचिवबाट भएको सरहानाले बहुआयामिक सन्देश प्रवाह गरेको बताए । सगरमाथा र अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेर जलवायु परिवर्तनबाट परेको असरबारे स्थानीयसँग जानकारी लिने र अवलोकन गर्ने कार्य हाम्रा लागि निकै महत्वपूर्ण विषय भएको पूर्वसभामुख सापकोटाले टिप्पणी गरे ।


अर्का पूर्वसभामुख दमननाथ ढुंगानाले शान्ति प्रक्रिया आफैं पूरा गर्न नेपाललाई सुझाव दिँदै आवश्यक परेको खण्डमा सहयोग गर्छाैं भनी देखाएको उदारता र दृष्टिकोण सराहनीय रहेको सुनाए । उनी भन्छन्, ‘महासचिवको मन्तव्यमा जलवायु परिवर्तनलाई निकै महत्व दिइएको छ, नेपालको विविधतालाई उहाँले राम्रोसँग बुझ्न र हेर्नु भएकाले हाम्रो नेतृत्वले राष्ट्रिय जलवायु कार्यसम्बन्धी अधिकार सम्पन्न संस्था बनाएर विश्वसंस्थासँग काम गरेमा परेका बाधा न्यून गर्न सहयोग पुग्छ ।’

तपाईको प्रतिक्रिया