जुलोजिकल पार्कलाई मयूर उपहार

समाधान संवाददाता २०७६ असार ६ गते १३:००

समाधान संवाददाता
पोखरा

पोखरा १० बुद्धचोकका दीपकबहादुर थापाले जन्मदिनमा उपहार पाएको मयूर पोखरा जुलोजिकल पार्कलाई प्रदान गरेका छन् । १० वर्ष अघि बुद्धचोकका सरोज कार्कीले थापाको जन्मदिनमा उक्त कालु नामको मयूर प्रदान गरेका थिए । थापाले मयूरलाई १० वर्षसम्म स्कुलमै पाले । अहिले जुलोजिकल पार्क निर्माण भई सञ्चालनमा आउन लागेपछि पार्कका अध्यक्ष हिमालय बख्रेलसँंग समन्वय गरी मयूर पार्कलाई हस्तान्तरण गरेका हुन् ।

मयुर हस्तान्तरण गर्दै थापाले आफूले प्रदान गरेको मयूरको संरक्षणसँगै पार्कमा थप आकर्षण बढ्ने बताए । युनाइटेड क्लबले नयाँ पर्यटकीय गन्तव्य चिडियाखाना निर्माणको पहलकदमी गर्दै आएको र आगामी साउन महिनादेखि खुला हुन लागेको पोखरा जुलोजिकल पार्कका लागि मयूर प्रदान गरी केही हदसम्म सहयोग पुग्ने विश्वास थापाले व्यक्त गरे । थापा पोखरा १० का वडा सदस्य तथा सोसल पब्लिक स्कुलका संस्थापक निर्देशक हुन् ।

Advertisement

पार्कका अध्यक्ष हिमालय बख्रेलले पोखरा जुलोजिकल पार्कको २०७२ सालको साउन १५ देखि हालसम्म आइपुग्दा गण्डकी प्रदेशभित्र घाइते तथा अलपत्र अवस्थामा फेला परेका जीवजन्तु तथा पन्छीको संरक्षण गर्दै आइरहेको बताए । बख्रेलले अन्य व्यक्तिसँग पनि जंगली जीवजन्तु तथा पंछीहरु घरमा पालेर राख्नुभन्दा जुलोजिकल पार्कमा ल्याइदिन आग्रह गरे । पार्कमा हाल १९ प्रजातिका ५० भन्दा बढी वन्यजन्तु तथा पंछी रहेकोमा केहीलाई खुला र केहीलाई इनक्लोजरभित्र राखी संरक्षण गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया