सरकार–जनता सँगसँगै छन्ः गुरुङ

पोखरा ।
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले अहिले सरकारले चालेका कदममा जनताको ऐक्यबद्धता रहेको दाबी गरेका छन् । नेपाली जनताका दशकैपिच्छेको विद्रोहपछि अब शान्ति, समृद्धि, राष्ट्रियता, स्वाधीनता र प्रगतिको पक्षमा रहेको जनाउँदै उनले अब पनि द्वन्द्वमा गए देशकै स्वाधीनता संकटमा पर्न सक्ने चेतावनी दिए ।
शनिबार पोखराका पत्रकारहरुसँग कुरा गर्दै महासचिव गुरुङले भने, ‘अहिले सरकारले गरेका काममा जनताको ऐक्यबद्धता देखिएको छ । अब पनि विद्रोहमा जाने हो भने राष्ट्रिय स्वाधीनतामाथि नै संकट आउन सक्छ ।’ केही शक्तिले खेल्न खोजेको दाबी गर्दै उनले अहिले सत्ता गठबन्धन सुरक्षित रहेको उल्लेख गरे ।
कोशी प्रदेशमा मध्यवधिको सम्भावना नभएको प्रष्ट पार्दै उनले कोशीको रोग अन्यत्र सल्किने सम्भावना नरहेको दाबी गरे । सत्य निरुपण तथा मेलमिलाप आयोग गठनसहित शान्ति प्रक्रियाका बाँकी काम चाडै सकिने अवस्था बनेको उनले जानकारी दिए । ‘यसअघि दुई पटक काम अड्केको थियो । अब कुनै गडबडी नभए दलहरुबीच मोटामोटी सहमति भएको छ,’ उनले भने ।
अब हुने हिउँदे अधिवेशनबाट विधेयक पारितसहित शान्ति प्रक्रियाका बाँकी काम सक्ने लागिपरेको जनाए । विभिन्न अनियमितता र भ्रष्टाचारका काण्डहरुको छानबिन जारी रहेको जनाउँदै उनले यो अभियान निरन्तर हुने जनाए । विद्यमान संयन्त्र र ऐनहरुमार्फत् सुशासनमा उल्खेनीय काम एकै पटक गर्न नसकिँदै दाबी गर्दै गुरुङले यो अभियानले कसैमाथि पक्षपात नगर्ने जिकिर गरे ।
‘सुशासनको अभियान महान् अभियान हो । यसमा कोही मान्छे, पार्टी भनेर पक्षपात गरिएको छैन । विपक्षी लगाएको पक्षपातको आरोप कामबाटै खण्डित भएको छ,’ उनी भन्छन् । सरकारको प्रभावकारी समन्वय र निर्देशनका कारण एकै दिनमा भूकम्पका पीडितको उद्धार सकिएको उनको भनाइ छ ।
माओवादीले चलाएको ‘जनतासँग माओवादी अभियान’ भूकम्प आएको क्षेत्रमा उद्धार र राहतमा केन्द्रीत हुने र अन्यत्र क्षेत्रमा सांगीतिक कार्यक्रमलाई रोकेर अरु कार्यक्रम हुने जनाए ।
तपाईको प्रतिक्रिया