अर्थ वाणिज्य
चीनले राखिदियो कोरलानाकामा ‘प्रि—फाईप कन्टेनर घर’
उपल्लो मुस्ताङका ९८० जना नागरिकले सीमा प्रस्थान अनुमती पत्र लिईसकेका छन् ।

जोमसोम—लगातार ४ वर्षदेखि ठप्प रहेको उत्तरी कोरलानाकामा कार्तिक २७ गते सोमबारदेखि खोल्ने तयारी गरिएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्डको स्थानीय आवश्यकता र व्यापारिक कारोवार संञ्चालन गर्न मुस्ताङको कोरलानाका खोल्ने तयारी अघि बढेको हो ।
गतहप्ता चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्वासेनमा नेपाल पक्ष चीन पक्षबीच भएको छलफलमा कोरलानाका खोल्ने तिथिमिति तय गरिएको थियो । छलफलमा प्रशासन,प्रहरी र स्थानीय जनप्रतिनिधि सम्मिलित थिए ।कोभिड माहामारी तथा सुरक्षा संवेदनशीलताका कारण चीनले एक पक्षिय रुपमा बन्द गरेको मुस्ताङको कोरला प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को चीन भ्रमणपछि त्यो मार्ग प्रसस्त भएको हो । नाका खोल्ने सूचना पाएपछि उपल्लो मुस्ताङबासीमा खुसीको रौनक छाएको छ ।
सोमबारदेखि पूनः खोल्न लागिएको कोरलानाकाको दशगजा क्षेत्रमा नेपाल पक्षको कुनै आवश्यक भौतिक संरचना निर्माण भएको छैन । उता चीनतर्फ सबै पूर्वाधार तयारी अवस्थामा छ ।
कोरलानाकाबाट हुँने आर्थिक तथा व्यापारिक कारोवारका लागि सीमाक्षेत्रमा सुरक्षा प्रवन्ध आवश्यकता पर्छ । तर, भन्सारको कारोबार तथा चेकजाँच लोमान्थाङ—२ नेचुङबाट हुनेछ । नेपालतर्फको सुरक्षा सहजताको महशुस गर्दै चीन पक्षले कोरलानाकामा प्रि—फाईप ५ थान अस्थायी कन्टेनर घर बनाईदिएको छ । लोमान्थाङ गाउँपालिकाको समन्वयमा अस्थायी कन्टेनर चीनले दिएको हो ।
गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङ र लोमान्थाङका वडाध्यक्षहरुको रोहबरमा कोरलानाकामा व्यस्थापन गरिएको छ ।
चीनले झारेको उक्त कन्टेनरहरु कोभिड माहामारीको बेला चीन पक्षले प्रयोग गर्दैआईरहेको कन्टेनरहरु हुन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको समन्वयमा चीन पक्षले कन्टेनर दिएको हो । शनिबार लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बिओपी)को रोहबरमा चीन पक्षले दशगजा क्षेत्रको नेपाली भूमीमा पूर्वाधार बनाईदिएको हो ।
चीनले उपलब्ध गराएको कन्टेनरमा सुरक्षा निकायको टोली र कोरलानाका जाने पर्यटक प्रतिकुल मौसम हुँदा बस्न मिल्ने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । नाका खोलेपछि सुरक्षा संवेदनशीलताको कुराहरु पनि जोडिन्छन्,यसैले प्राप्त कन्टेनरले सुरक्षाकर्मीलाई सुरक्षित बस्न सहयोग पुग्ने अध्यक्ष बिष्टको भनाई छ । ‘कोरलानाकामा हावाहुरी र हिमपात हुने र त्यहाँ सुरक्षाकर्मी बस्न समेत मुश्किल पर्छ ,अध्यक्ष बिष्टले भने,‘ कन्टेनर भएपछि यसले सामान्य रुपमा रहन सघाउ पू¥याउँछ ।
चीनले उपलब्ध गराएको प्रि—फाईप कन्टेनर चीन पक्षले क्रेनको सहायताले नेपाली भूमीमा जडान गरेको हो । कन्टेनर विशेषगरी तत्काल बस्न मिल्ने अस्थायी टहरा हो । कोरलामा राखिएको कन्टेनर २० फुट लम्बाई र १० फुट चौडाई साईजका छन् । कन्टेनरमा ढोका र भ्यालको व्यवस्था छ । सामान्यतया एकै कन्टेनरमा ४ वटा खाँट अट्न सक्ने क्षमताको छ भने हावाहुरी चल्दा १० जना व्यक्ति अटाउन सक्छ । यसप्रकारका कन्टेनर सुरक्षा निकायहरुले कुनै खास मिसनमा प्रयोग गर्ने गर्छन ।
सोमबारदेखि खोल्न लागिएको कोरलानाकाको उद्घाटन तयारी पनि अघि बढिरहेको छ । नेपाल पक्ष र चीन पक्षका अधिकारीहरुको रोहबरमा कोरलानाकाको विधिवत उद्घाटन हुँदैछ । कुनै समय नेपाल पक्ष र चीन पक्षबीच आलोपालो संञ्चालन हुँदै आईरहेको दुई देशबीचका अल्पकालिन ब्यापार मेला पछिल्ला समयहरुमा चिनले आफ्नो तिब्बत भूमीमा दुई पटक संञ्चालन गर्ने गथ्र्यो । कोरलाको करिव ५ किमी तिब्बती भूमीमा लाग्ने अल्पकालिन व्यापार मेला बर्सेनि असार र भर्दौ हुन्थ्यो ।
यसपटक साविक जस्तो नभई उत्तरी कोरलानाका उपल्लो मुस्ताङका दुई पालिकाका बासिन्दाका लागि बाह्रै महिना खुल्न लागेको हो । नाका खोल्ने तयारी अघि बढेपछि उपल्लो मुस्ताङका ९८० जना नागरिकले सीमा प्रस्थान अनुमती पत्र लिईसकेका छन् । हिउँदयामको मौसम भएकाले धेरैजसो उपल्लो मुस्ताङी जाडो छल्न र घुम्ती व्यापारमा बेसी हिडिसकेकाले दुई तिहाईले प्रस्थान अनुमती बोर्डर पास बनाएका छैनन् ।
चीनको तिब्बती बजारबाट उपल्लो मुस्ताङीहरुले खाद्यान्न,लत्ताकपडा,कस्मेटिक सामान,ईलेक्ट्रोनिक सामान,निर्माण सामाग्री,कृषि उपकरणका साथै भेडा च्यांग्रा आयाति गरिने गरिन्छ । नेपालबाट पस्मिना, स्थानीय कृषि उत्पादन र यार्सा गुम्बाको निर्यात हुन्थ्यो ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया