अर्गानिक खेतीलाई मात्र अनुदान, निशुल्क ढुवानी

समाधान संवाददाता २०७६ असार ८ गते १३:१०

अमृत सुवेदी
पोखरा

तीनै सहका सरकारले कृषिलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्छन् । संघ, प्रदेश र स्थानीय तहको ठूलो लगानी कृषि क्षेत्रमा भए पनि त्यसको सदुपयोग नै हुन नसकेका तथ्यहरु सार्वजनिक भइरहेका छन् । सरकारले दिने अनुदान लक्ष्य अनुसारभन्दा पनि वितरणमुखी भएको गुनासो आउने गरेका छन् ।

कास्कीको रुपा गाउँपालिकाले कृषि क्षेत्रमा नयाँ नीति ल्याएको छ । गाउँपालिकाले अर्गानिक खेती गर्ने किसानलाई मात्र अनुदान दिने र ठूलो मात्रामा उत्पादन हुने कृषि उपजको निशुल्क ढुवानी गरिदिने भएको छ । आगामी वर्षलाई कृषिको विषेश वर्षका रुपमा मनाउने गरी गाउँपालिकाले शनिबार नीति तथा कार्यक्रम ल्याएको हो ।

Advertisement

‘बढ्दो किटनाशक औषधी तथा बिषादी प्रयोगले जनताको स्वास्थ्यमा असर पर्ने भएकाले यस वर्ष अर्गानिक खेती गर्ने किसानलाई मात्र अनुदान दिने व्यवस्था मिलाइनेछ,’ गाउँपालिका अध्यक्ष नवराज ओझाले भने, ‘अर्गानिक कृषि उपजको माग पनि बढी हुन्छ । मूल्य पाउन पनि समस्या पर्दैन ।’

गाउँपालिकाभित्रका किसानले उत्पादन गरेको उपज बजारसम्म पु¥याउन समस्या नहोस् भनेर गाउँपालिकाका ३ ठाउँमा कोल्डस्टोर बनाइरहेको छ । ढुवानी भाडामा समस्या नपरोस् भनी गाउँपालिकाले उत्पादनमा आधारित कृषक समूह, सहकारी र फर्मले उत्पादन गरेका ठूलो परिणामका उपज निशुल्क बजारसम्म ढुवानी गरिदिने भएको छ ।

Advertisement

‘मासिक २ हजार केजीभन्दा माथि लाग्ने तरकारी तथा फलफूल र २ हजार ५ सय लिटरभन्दा बढी दूधको ढुवानी खर्च गाउँपालिकाले नै व्यहोर्ने व्यवस्था मिलाइनेछ,’ अध्यक्ष ओझाले भने । गाउँपालिकाले जग्गा चक्लाबन्दी गर्नका लागि ५० प्रतिशत अनुदान दिने भएको छ । चक्लाबन्दी गरेको जग्गामा अनिवार्य व्यावसायीक खेती गर्नुपर्ने र बाँझो जग्गालाई डबल कर लिने नीति गाउँपालिकाको छ ।

गाउँपालिकाभित्र व्यवसाय गर्न चाहने युवालाई बिनाधितो न्यून ब्याजदरमा सामूहिक ऋण दिने नीति रुपाले लिएको छ । पेशा अनुसारको तालिम तथा सीपको विकास गर्ने गरेर बिना धितो ऋण दिने कार्यक्रमले विदेसिएका युवालाई स्थानीय स्तरमा पेशा तथा व्यवसाय गर्न सहज हुने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आगामी वर्षदेखि नै माटो परीक्षण र वातावरण अनुकूल बाली विज्ञको सुझाव अनुसारको ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमलाई अगाडि बढाउने भएको छ । बिउ बिजन उन्नत जातको प्रयोग गरी एक वडा एक नर्सरी केन्द्र विकास गर्ने कार्यक्रम रुपाले ल्याएको छ । रुपा गाउँपालिकाले एउटा मोडेल बगैंचा बनाउने भएको छ । कम्तीमा ३ हजार बोटको फलफूल बगैंचा आगामी वर्ष नै निर्माण गरिने अध्यक्ष नवराज ओझाले बताए ।

१५ श्याको अस्पताल, अन्तर्राष्ट्रिय बिच भलिबल कोर्ट
रुपाले १५ शै्याको अस्पताल बनाउने भएको छ । आगामी वर्ष नै विशेषज्ञ सेवासहितको अस्पताल चलाउने गरी कार्यक्रम ल्याएइको हो । ‘आगामी वर्ष रुपाबासी अस्पतालको सेवा लिन बजार जान नपर्ने गरी विशेषज्ञसहितको सेवा वडा नं. ६ को रुपाकोट स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नती गरी दिने गाउँपालिकाको योजना छ । एक टोल विकास संस्था, एक स्टे«चर को व्यवस्था गर्ने नीति पनि लिइएको छ ।

गाउँपालिकाले एम्बुलेन्सको व्यवस्था गर्ने र गाउँपालिकाका स्वास्थ्य चौकीबाट गाउँपालिकाको अस्पतालसम्म पुर्‍याउनका लागि ५०% अनुदान दिने र गाउँपालिकाको अस्पतालमा उपचार हुन नसकेमा अस्पतालबाट पोखरासम्म सहज रुपले पुर्‍याउनका लागि निशुल्क एम्बुलेन्स सेवा दिइने भएको छ ।

रुपा गाउँपालिका सबै विद्यालयबाट उत्पादित शैक्षिक जनशक्ति विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता भएका बनाउन, समयानुकूल कम्प्यूटर शिक्षा दिनुका साथै सबै विद्यालयमा डेलिकेटेड इन्टरनेट सेवा जोडिने भएको छ । ३ स्थानमा बहुउद्देश्यीय ज्येष्ठ नागरिक दिवा मनोरञ्जन घर निर्माण गर्ने गाउँपालिकाले जनाएको छ ।

खेलकुदका सबै क्षेत्रलाई समेट्ने गरी विभिन्न विधाका खेलका पूर्वाधार निर्माण गरिने र वडा नं १ मा अन्तर्राष्ट्रिय स्तरको बिच भलिबल कोर्ट निर्माण गर्ने गाउँपालिका अध्यक्ष ओझाले बताए ।

सडकका नयाँ ट्रयाक नखोलिने
रुपाभित्र आगामी वर्ष नयाँ सडक नखन्ने र भइरहेको सडककै स्तरोन्नतिमा ध्यान दिइने भएको छ । गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रममा नयाँ सडक नखन्ने तर भएकालाई ग्राभेल, पिच गर्दै लैजाने योजना छ ।

‘यस वर्ष नयाँ ट्रयाक नखोल्ने र भएकालाई स्तरोन्नति गर्ने नीति लिएका हौं । त्यसो गर्दा लगानी पनि दीगो विकासमा केन्द्रित हुन्छ,’ गाउँपालिका अध्यक्ष ओझाले भने । कालोपत्रे नै नपुगेको रुपा गाउँपालिकामा रणनीतिक महत्वको मुख्य सडक शिशुवा पोल्याङटार सडक खण्डमा अहिले पिच भइरहेको छ भने रुपाकोट थुम्की सडक खण्ड पिच भइसकेको छ । भइरहेका अन्य मुख्य सडक पक्की बनाउने र सहायक सडकलाई पनि प्राथमिकताका आधारमा स्तरोन्नति गर्नेतिरै गाउँपालिकाको ध्यान केन्द्रित हुने अध्यक्ष ओझाले बताए । गाउँपालिकाले यसै वर्ष काठेपोल मुक्त गाउँपालिका बनाउने नीति लिएको छ ।

तपाईको प्रतिक्रिया