सम्पादकीयः प्रसाईंको प्रदर्शनको अर्थ

समाधान संवाददाता २०८० मंसिर ७ गते ११:५९

काठमाडौंमा मंसिर ७ गते ठूलै घटना हुने भय अहिले देखिएको छ । कतिपयले आज ठूलो रक्तपात हुने गफ दिने गरेका छन् । नेपालको राजनीतिमा आफूलाई जबरजस्ती स्थापित गराउन विभिन्न स्टन्टबाजी गर्दै आएका मेडिकल माफियाको उपमा पाएका दुर्गा प्रसाईंले राजधानी केन्द्रित आन्दोलन गर्ने र राजतन्त्र एवं हिन्दू धर्म कायम गर्ने भन्दै देशभरका युवालाई उराल्न सामाजिक सञ्जालको प्रयोग गर्दै आएका छन् । प्रसाईंले राजनीतिको उपयोग गरी शक्ति आर्जन गरेको र त्यसको दुरुपयोग गरेको आरोपसमेत लाग्ने गरेको छ ।

Advertisement

उनलाई मुलुक बनाउनेभन्दा पनि मुलुकलाई डामाडोल पार्ने अभियानमा सक्रिय हुँदै आएको आरोपसमेत लाग्ने गरेको छ । उनको अस्थिर चरित्रका कारण कुनै पनि दलको प्यारो बन्न नसकेपछि फेरि राजतन्त्र स्थापनाको नारा लिएर उनी सडकमा उत्रिएका छन् । बैंक तथा वित्तीय संस्थालाई ऋण नतिर्ने घोषणा गरेर जथाभावी भाषण दिँदै आएका प्रसाईं अहिले नेपालमा सदियौंदेखि व्यापार व्यवसायमा संलग्न रहेका माडवारी समुदायलाई मुलुकबाट खेद्नुपर्ने अभियानसमेत चलाएर मुलुकमाथि नै आक्रमण गर्ने योजना बनाएको टिप्पणी भएको छ । ऋण नतिर्न उक्साएर अर्थतन्त्रलाई संकटमा पार्न खोज्ने प्रसाईंको विगत विवादस्पद देखिन्छ ।


कहिले माओवादी, कहिले एमाले, कहिले नेपाली कांग्रेससँग नजिक भएको देखिने प्रसाईं अहिले राजावादी बनेर आफ्नो स्वार्थ सिद्धि गर्ने दिशामा उद्दत भएको देखिन्छ । राजतन्त्रका मर्यादा, इतिहास, शासन प्रणालीका कमजोरीपन, लोकतन्त्रका सबल पक्ष आदिबारे विचार, विवेचना भन्दा अराजक भाषण गरी भीडलाई अराजक मोडतिर लैजान उनको अभियान केन्द्रित भएको देखिन्छ । प्रसाईंको विगतको कालो पाटोलाई नबुझेका केही समूह उनलाई मानक मानेर हिँडेका छन् ।

दलीय व्यवस्थामाथि प्रहार गर्ने समूह सक्रिय भएर लाग्दा पनि दलहरु भने मौन देखिन्छ । उनीहरुको मौनताको फाइदा उठाएर प्रसाईंहरुले मुलुकमा थप अराजकता र अस्थिरता निम्त्याउन खोजिरहेको बेला नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको नाममा काठमाडौंमा आउँदो बिहीबार प्रसाईंलाई टक्कर दिने नाममा हुन लागेको भेलाले मुलुकमा दुई अतिवादले प्रश्रय पाउने हो कि भन्ने आशंका उत्पन्न भएको छ । प्रसाईं र एमालेको भातृ संगठनबीच प्रतिस्पर्धाको दृश्य देखिनु अस्वभाविक हो । यी दुवै शक्तिको तुलना हुनै सक्दैन ।


आफ्नो स्वार्थका लागि मुलुकलाई तहसनहस बनाउने काम कसैले गर्नु हुँदैन । मुलुक कुनै अमुक व्यक्तिको फाइदाको रुपमा प्रयोग गर्न पाइँदैन । त्यसको सबैले जुटेर सामना गर्न सक्नुपर्दछ । अहिले केही शक्ति नेपालमा अस्थिरता ल्याएर आफ्नो स्वार्थ पूरा गर्ने दाउमा लागिरहेकै बेला प्रसाईं र युवा संघको नाममा हुन लागेको गतिविधि मुलुकको हितमा छैन । मुलुकलाई क्रीडास्थल बनाएर व्यक्तिगत स्वार्थ सिद्ध गर्ने कुरा लक्ष्य हुन सक्दैन ।

Advertisement

तपाईको प्रतिक्रिया