लगाव र मेहनतले सफल मञ्जु

बाल्यकालदेखि नै लोकगीत तथा दोहोरीमा रुचि राख्ने मञ्जु विकले ९ वर्षको हुँदा लमजुङको सुन्दर बजार महोत्सवमा भएको लोक दोहोरी प्रतियोगितामा भाग लिएकी थिइन् । विस २०५९ मा भएको प्रतियोगितामा पाएको उपाधिले उनीलाई व्यवसायिक तथा सफल कलाकार बन्न हौसला दियो । उनी सो प्रतियोगितालाई कला क्षेत्रको खुड्किलो ठान्छिन् ।
लमजुङको बेसीशहर ५ कोकलडाँडामा बुबा सुब्ब र आमा लीलामाया विकको पहिलो सन्तानको रुपमा जन्मिएकी विकको पारिवारिक अवस्था सामान्य थियो । उनको लक्ष्य थियो सफल गायिका बन्ने । प्रतियोगितामा भाग लिन ठाउँमा जानुपर्ने उनको खल्तीमा पैसा नहुँदा पनि हरेस खाइनन् ।
हरेक प्रतियोगितामा पाएको पुरस्कारबाटै सबै खर्चपर्चको व्यवस्था गर्दै कला क्षेत्रलाई यात्राअघि बढाइन् । सुन्दर बजार महोत्सवमा भएको प्रतियोगितामा विजेता भएर पुरस्कार स्वरुप पाएको १ वर्षको छात्रवृत्ति उनले अहिलेपनि झलझली सम्झन्छिन् । ‘मैले गाएको गीत नेपाल टेलिभिजनको लोकलहरी कार्यक्रमले प्रशारण गर्यो । बाल कलाकारको रुपमा मेरो प्रस्तुति कोपिला, सुनगाभा लगायतका बाल पत्रिकामा उचित स्थान पाए,’ उनी भन्छिन्, ‘लोक लहरी कार्यक्रमले गरेको प्रशारण तथा बाल पत्रिकामार्फत देशव्यापी रुपमा चिनिने अवसर पाएँ ।’
उनले स्कुल पढ्ने क्रममा कापी, कलम किन्नु नपरेको तथा प्रतियोगिताबाट पुरस्कारबाट काम चलाएको जानकारी दिइन् । उनले विद्यालय पढ्ने क्रममा पोखराको फेवा महोत्सव, राष्ट्रिय औद्योगिक व्यापार मेला, लेखनाथ महोत्सव, वालिङ महोत्सव, स्याङ्जा महोत्सवमा भएको दोहोरी गीत प्रतियोगितामा भाग लिएर पुरस्कार जितेकी थिइन् । २०६४ सालमा भएको गोरखा महोत्सवमा प्रथम भएकी विकले लमजुङ दोहोरी तारा–२०६६ को उपाधिसमेत जितिन् ।
प्रवेशिका परिक्षा सकेपछि पोखरा झरेकी मञ्जुलाई सुरुवातको अवस्थामा सांगीतिक यात्रा अगाडी बढाउन सहज थिएन । फेवा दोहोरी साँझमा काम थालेकी मञ्जुले मेला महोत्सव, स्टेज कार्यक्रममा प्रस्तुति राख्दै कला क्षेत्रमा स्थापित बन्दै गइन् । उनी रहरले मात्र नभएर बाल्यकालदेखि दुख गरेर कला क्षेत्रमा निखारपन ल्याएको बताउँछिन् ।
विस २०६३ सालमा ‘एक्काइसौ शताब्दीका हामी नेपाली’ बोलको गीतमा आवाज भरेर नेपाली साँगीतिक फाँटमा मञ्जुको डेब्यु भएको हो । विस २०७० मा ‘बगले चरी’ बोलको तीजको गीतमा आवाज भरिन् । त्यसपछाडि गगन गुरुङ र उनको संयुक्त एलबम ‘चढेको जवानी’ लाई दर्शक, स्रोताले राम्रो साथ दिए ।
विस २०७२ मा निस्केको ‘भन्दिनँ म धोका खा को छुँ’ गीतमा उनको आवाज छ । गायक प्रकाश सपुतको एल्बम ‘मीठो बोलीले’ भन्ने गीतमा उनले स्वर भरेकी छन् । प्रकाश सपुतसँग संयुक्त रुपमा ‘नौरंगी सपना’ गीत गाएकी मञ्जुले एकल गीत ‘रुदाक्षको माला गनेर’ निकालिन् । पशुपति शर्मासँगको ‘भविश्यवाणी’ र रामजी खाँडसँगको ‘सुपारी चाम्रो’ उनका चलेका गीत हुन् ।
अहिलेको तिहार आसपासमा टेकमान तामाङ (गल्थेन)सँग मिलेर ‘मायालाई सलाम’ गीति एल्बम निकालेकी मञ्जु बिबी अनुरागीसँग मिलेर जाडो मौसमलाई लक्षित गरी ‘तातो तातो चिया’ दोहोरी गीत निकाल्ने तयारीमा छिन् । राजु परियार सुमन परियारसँग संयुक्त रुपमा पञ्चेबाजा, कुलेन्द्र विकसँग मिलेर ‘तिम्रो मनमा’, रोशन कुतालसँग ‘लामपाते सुरती’, गीति निकाल्ने उनको योजना छ ।
राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान गण्डकी उपाध्यक्ष रहेकी मञ्जु प्रतिष्ठान लमजुङमा आवद्ध थिइन् । संगीतकार भरत सुनारसँग वैवाहिक जिवनमा बाधिएकी मञ्जु साँस्कृतिक प्रस्तुतिका लागि बेलायत दक्षिण कोरिया, भारत, दुबई, कतार पुगेकी छन् ।
पछिल्लो पुस्तामा लमजुङको ठाडो भाका गाउने मञ्जुले भेडीखर्के साइला (दीर्घराज अधिकारी)सँग स्टेज कार्यक्रममा सो भाका गाएकी थिइन् । धनबहादुर गुरुङ, देवी गुरुङसँग ठाडो भाका गाउन सिकेकी मञ्जुलाई काशीदेवी गुरुङ र गौमाया गुरुङको साथ थियो । उनले टेलिभिजन कार्यक्रम ईन्द्रेणी तथा राजु परियारसँग धेरै पटक ठाडो भाका गाएकी छन् ।
‘राजु परियार तथा मञ्जु पछिको पुस्ताले ठाडो भाका सिक्न पर्छ,’ उनले भनिन्, ‘नयाँ पुस्तामा ठाडो भाकाप्रति चासो र रुचि बढाउने काम गर्नु पर्छ । ठाडो भाको प्रतियोगिता गरेर महत्व बढाउनुपर्छ ।’ पहिलो पुस्ताले जस्तो मौलिक रुपमा ठाडो भाका गाउन नसकेको उनको भोगाइ छ । ठाडो भाकाको जोगाउन तथा जस्ताको तस्तै नयाँ पुस्तालाई हस्तान्तरण कठिनाई भएको उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया