माउन्टेन बाइक रेस सुरु

समाधान संवाददाता २०८० मंसिर ८ गते ११:३९

पोखरा ।
पोखरामा एड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामा बिहीबारदेखि सुरु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ आवर्पा डाँडामा हुने प्रतियोगितामा ११ देशका ५६ जना प्रतियोगी सहभागी छन् ।

Advertisement


माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा बिहीबारदेखि ९ गतेसम्म पोखरा १३ को आर्बा–विजय डाँडामा खेल हुनेछ । ७ विधामा हुने प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ–बाइकमा प्रतिस्पर्धा हुनेछन् । इ–बाइक रेस नेपालमै पहिलो पटक हुन लागेको आयोजकले जनाएको छ । इलिट पुरुषतर्फका प्रथम हुनेले नगद ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।


यस्तै, इलिट महिलातर्फ प्रथम, दोस्रो र तेस्रो क्रमशः ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ पाउने र अन्य विधामा भने गिफ्ट ह्यापर प्रदान गरिने आयोजकले जनाएको छ । महिलातर्फ सोही इभेन्टमा विजेतालाई ३५ हजार, उपविजेतालाई २५ हजार र तेस्रो स्थान हासिल गर्ने प्रतियोगितालाई भने १५ हजार दिइनेछ । खेलकुद र पर्यटनलाई टेवा पुराउनका लागि प्रतियोगिता आयोजना गरिएको डन टिल डस्कका प्रबन्ध निर्देशक छिमी उक्रेन गुरुङले बताए ।


प्रतियोगिताका रेस डाइरेक्टर सुनीलचन्द्र शर्माले ४ वर्षदेखि नै कार्यक्रमको तयारी गरेकोमा अहिले आएर सफल भएको सुनाए । यसअघि संरचना बनाउन ७० लाख रुपैयाँ लगानी भइसकेको छ । प्रतियोगिता हुने आर्बा डाँडाको उचाई समुन्द्री सतहबाट १ एक ३ सय ६० मिटर छ । पोखरा महानगरपालिका, कास्की जिल्ला साइक्लिङ संघ, पोखरा खेलकुद विकास समिति तथा पोखरा १३ को वडा कार्यालयको समन्वयमा प्रतियोगिता भएको हो ।


बिहीबार प्रतियोगिताको मेयर धनराज आचार्यले उद्घाटन गरे । आचार्यले खेल क्षेत्रको विकासको लागि महानगर सदैव तयार रहेको बताए । पोखरालाई खेल पर्यटनको हब बनाउनका लागि प्रशस्त सम्भाव्यता रहेका कारण अन्तर्राष्ट्रिय स्तरका खेल पोखरामा ल्याउन सबैले पहल गर्नुपर्ने उनले बताए । प्रतियोगितामा ६ ट्रयाक छन् ।

Advertisement


पोखरा १३ का वडाध्यक्ष किरण बरालले आर्बालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा सुनाए ।

तपाईको प्रतिक्रिया