टेनिस खेल्न सयभन्दा बढी खेलाडी पोखरामा

पोखरा ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा शनिबारदेखि आइटिएफ वल्र्ड टेनिस टुर जे ३० पोखरा हुने भएको छ । २ सातासम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ क्वालिफाइङ र मेन ड्र गरी ६४ खेलाडीको सहभागिता रहनेछ ।
महिलातर्फ विभिन्न राष्ट्रका ४७ खेलाडीको सहभागिता रहने आयोजक संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पुरुषतर्फ भारतबाट ४४, रसियाबाट १, अमेरिकाबाट २, जापानबाट ४, नेपालबाट १०, क्यानडाबाट १, चाइनाबाट १ र श्रीलंकाबाट १ जना खेलाडीले भाग लिनेछन् । महिलातर्फ जापानबाट १, थाइल्यान्डबाट १ जना, अमेरिकाबाट १ जना, भारतबाट ३० जना, नर्वेवाट १ जना, काजकिस्तानबाट १ जना र नेपालबाट ७ जना खेलाडीले प्रतियोगितामा भाग लिने सो अवसरमा जानकारी दिइयो ।
विजेता खेलाडीले ३० अंक, उपविजेताले १८, सेमिफाइनलिस्टले ९, क्वाटरफाइनलिस्टले ५ र राउन्ट अफ सिक्टिनमा पुग्नेले आइटीएफको २ अंक पाउने टेक्निकल डाइरेक्टर अजय विष्टले बताए । आयोजक कास्कीले यसअघि आइटीएफका विभिन्न प्रतियोगिता आयोजना गर्दै पोखराको खेल पर्यटन विकासमा महत्पूर्ण योगदान पु¥याएको संघ कास्की अध्यक्ष लोक गुरुङले बताए । खेलाडी, प्रशिक्षक तथा अभिभावक सहित झण्डै ३ सय पाहुना २ साता पोखरा बस्ने गुरुङले जनाए ।
एउटै प्रतियोगिता गर्न झण्डै २० लाख खर्च लाग्ने गरेको संघ कास्की अध्यक्ष अनुजकुमार बाँस्तोलाको भनाइ छ । यसपटकको प्रतियोगिता गर्न पनि झण्डै २५ लाख खर्च हुने अनुमान छ । नेपाल पर्यटन बोर्ड, प्रदेश सरकार, पोखरा महानगर लगायत विभिन्न सहयोगीबाट सहयोगको अपेक्षा राखिएको बाँस्तोलाले पत्रकार सम्मेलनमा सुनाए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दिननाथ बरालले प्रतियोगिता सफलताको कामना गरे ।
तपाईको प्रतिक्रिया