केपी ओली कप टि २० क्रिकेट: एपिएफविरुद्ध गण्डकीको रोमाञ्चक जित

समाधान संवाददाता २०८० मंसिर ९ गते १०:४५

पोखरा ।
प्रथम केपी ओली कप राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा गण्डकीले एपिइफ विरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भएको उक्त प्रतियोगितामा गण्डकी विभागीय टोली शसस्त्र प्रहरीबलको एपिएफ क्लबलाई ४ विकेटले जितेको हो ।

Advertisement


गण्डकीले अन्तिम २ बल बाँकी हुँदै १ सय २ रनको लक्ष्य भेट्टाएको हो । गण्डकीले १९.४ ओभरमा ६ विकेट गुमाउँदै १ सय ४ रन बनायो । टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो । गण्डकीका बलरहरुले आफ्नो होम ग्राउन्डमा उत्कृष्ट बलिङको नमुना पेश गर्दै एपिएफलाई दबाबमा राखेका थिए ।


एपिएफका कप्तान प्रदीप ऐरीले २३ बलमा २० रन जोडे । उनले आफ्नो पारीमा २ चौका र १ छक्का प्रहार गरे । उनी कमल परियारको बलमा एलबिडब्लु धरापमा परे । एलविडब्लु डिसिजनमा आउट भएका अर्का ओपनर आशिफ शेखले १२ रन जोडे । उनलाई विपिन खत्रीले आउट गरे । भुवन कार्की र सुमित महर्जनले एपिएफका लागि समान १४ रन बनाउँदा लोकेश वमले १२ रन जोडे ।


गण्डकीका लागि म्यान अफ दि म्याचसमेत बनेका अमृत गुरुङ, विपिन खत्री, चन्द्र पौडेल, र कमल परियारले समान २ विकेट हात पार्दा दिनेश वुढामगर र सुदीप अर्यालले १–१ विकेट लिए ।


अन्तिम ओभरको खेल चलिरहँदा लगातार २ विकेट गुमाउँदै लर्खराएको गण्डकीलाई अमृत गुरुङले छक्का प्रहार गर्दै जित दर्ता गराएका थिए । जवाफी ब्याटिङका लागि उत्रिएको गण्डकीले स्कोर बोर्डमा २६ रन जोड्दा पहिलो विकेट गुमाउन पुग्यो । ओपनर किरण पौडेल ७ रनमा अमर रौतेलको बलमा पेभिलिएन फर्किदा अर्का ओपनर गौरव विकले ११ रनको व्यक्तिगत स्कोरमा इरशाद अहमदको बलमा सन्दीप जोराको हातबाट क्याच आउट हुन पुगे ।

Advertisement


गण्डकीका लागि मुस्कान थापाले सर्वाधिक २६ रन जोडे । उनलाई अभिनाश बोहरा बोल्ड गरे । अभिनाशकै बलमा आउट भएका दिनेश बुढामगरले २४ रन बनाए भने अभिशेक थापा ११ रन बनाउँदै नटआउट रहे ।


पोखरा रंगशालामा शनिबार २ खेल सञ्चालन हुनेछन् । प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद सहति मेडल र ट्रफि प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट व्याटर र बलरले जनही नगद २०–२० हजार तथा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिता १५ गतेसम्म सञ्चालन हुनेछ ।
बागमती सेमीफाइनलमा


शुक्रबारको दोस्रो खेलबाट बागमती प्रदेश सेमिफाइनल पुगेको छ । प्रतियोगितामा दोस्रो जित दर्ता गर्दै बागमती सेमीफाइनल पुगेको हो । कर्णाली प्रदेशलाई ९० रनले पराजित गरेको बागमती टस जितेर ब्याटिङमा उत्रिएको थियो । बागमतीले ६ विकेटको क्षतिमा १ सय ८९ रनको विशाल स्कोर खडा गरेको थियो ।


बागमतीका लागि रित गौतम र इशान पाण्डेले व्यक्तिगत अर्धशतकीय पारी खेले । खेलमा इशान म्यान अफ दि म्याच घोषित भए । बागमतीका लागि रित र इशानले १ सय ४३ रनको साझेदारी गरे । रितले १० चौका र २ छक्का प्रहार गर्दै ५९ बलमा व्यक्तिगत ८२ रनका योगदान दिंदा इशानले ४ चौका र ६ छक्काकोे मद्दतले ३८ बलमा ७० रन बनाए ।


प्रतिश जिसी भने १२ रनमा नटआउट रहँदा टिम कप्तानसमेत रहेका सन्दीप लामिछाने भने शून्य रनमा पेभिलियन फर्किन पुगे । उनी दिनेश अधिकारीको बलमा बोल्ड भए । कर्णालीका लागि दिनेश अधिकारीले ३ विकेट लिए । जवाफी ब्याटिङ गरेको कर्णाली भने १७.३ ओभर खेल्दै ९९ रनमा अलआउट हुन पुग्यो । सन्दीप लामिछानेले ९ रन दिँदै ४ विकेट हात पार्दा कर्णाली धराशायी बन्यो ।


कर्णालीका कप्तान रवीन्द्र शाहीले १९ बल खेल्दै ३ चौकासहित २० रन बनाए । यस्तै अर्जुन घर्तीले २३ बल खेल्दै ३ चोका र १ छक्का हान्दै २४ रनमा बनाए । विपिन शाहीले २१, दीपेन्द्र रावतले १२ रन जोडे । अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन् । बागमतीका लागि दिपेश श्रेष्ठले २ विकेट लिए । प्रतिश जिशी, रिजन ढकाल, सुवास खत्री र इशान पाण्डेले समान १ विकेट हात पारे ।

तपाईको प्रतिक्रिया