एन्ड्युरो उपाधि इन्डोनेसियाका रामालाई

समाधान संवाददाता २०८० मंसिर १० गते १०:१४

पोखरा ।
अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसमा पोखरा एन्ड्युरोको उपाधि इन्डोनेसियाका रामा तेगुअदि प्रतामाले हात पारेका छन् । उनले ५ स्टेज (ट्रयाक) को ११.९२० किमी ९ मिनट ५९ सेकेण्ड ५२ मिलिसेकेन्डमा पार गरे ।

Advertisement


प्रतियोगितामा ११ देशका खेलाडीको सहभागिता थियो । इलिट पुरुष तर्फको उक्त विधामा उपाधि हात पार्दै रामाले नगद ५० हजारसहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर पाए । सोही विधामा बेलायतका क्रिस्टोफर किलिङ दोस्रो र नेपालका प्रचित थापामगरले तेस्रो बने । किलिङले १० मिनट १६ सेकेण्ड ९७ मिलिसेकेण्डमा र प्रचितले १० मिनट ३६ सेकेण्ड १३ मिलिसेकेण्डमा दूरी पूरा गरे ।


किलिङले नगद ३० हजार र प्रचितले नगद २० हजारसहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर पाएका छन् । महिलातर्फ नेपालका लक्ष्मी मगर प्रथम, मिंगमा याङ्जी शेर्पा दोस्रो र सिंगापुरकी इभोना सिया तेस्रो बने । उनीहरुले १० किमी ५ सय मिटरको दूरी क्रमशः ९ मिनट ५३ सेकेण्ड ४८ मिलिसेकेण्ड, ११ मिनट २५ सेकेण्ड ३१ मिलिसेकेण्ड र १५ मिनट ३५ सेकेण्ड ३६ मिलिसेकेण्डमा पार गरे ।


उनीहरुले क्रमशः नगद ३५ हजार, २५ हजार र १५ हजारसहित प्रमाणपत्र, मेडर र गिफ्ट ह्याम्पर हात पारेका छन् । १८ वर्षसम्मका पुरुष जुनियरतर्फ नेपालका विपुल थापा प्रथम हुँदा अमेरिकाका एलिजा स्टेवार्ड दोस्रो र नेपालका दिपेश थापा तेस्रो ठहरिए ।


३० देखि ३९ वर्ष समूहका लागि मास्टर्स ‘क’ विधामा राजन भण्डारी प्रथम, मंगल लामा दोस्रो र कुंगा वोसेर तेस्रो बने । अर्को विधा ४० देखि ४९ वर्षसम्मका लागि मास्टर्स ‘ख’ विधामा सुरज पाण्डेले प्रथम, रवि कार्कीले दोस्रो र नारायण मानन्धरले तेस्रो स्थान बनाउन सफल बने ।

Advertisement


५० वर्षभन्दा माथिको समूहका लागि भेट्रान विधातर्फ लाल आले, सुलोचन राजभण्डारी र सैशव प्रधान क्रमशः प्रथम, दोस्रो र तेस्रो बने । नेपालमै पहिलो पटक आयोजना भएको ‘इ–बाइक’ विधामा प्रशन्न गौतम प्रथम र विश्वास मोदी दोस्रो भए ।
माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा ३ दिनसम्म पोखरा महानगरपालिका वडा नं. १३ को आर्वा–बिजय डाँडा (महाप्रभु धाम)मा प्रतियोगिता भएको हो । प्रतियोगितालाई निरन्तरता दिइने आयोजकले जनाएको छ ।


स्पर्धामा नेपालसहित ११ देशका ५६ खेलाडीले सहभागिता जनाएको प्रतियोगिताका रेस डाइरेक्टर सुनीलचन्द्र शर्माले बताए । प्रतियोगितालाई पोखरा महानगरपालिका, कास्की जिल्ला साइक्लिङ संघ, पोखरा खेलकुद विकास समिति तथा पोखरा १३ वडा कार्यालयले सघाएका थिए ।

तपाईको प्रतिक्रिया