धारोमा ताला !

समाधान संवाददाता २०७६ असार ९ गते १५:१६

समाधान संवाददाता
दमौली

पर्याप्त मात्रामा धारामा खानेपानी नआउने भएपछि तनहुँको रिसिङ गाउँपालिका २ ग्वास्लुङमा धारामा ताल्चा लगाउने गरिएको छ । खानेपानीको समस्याबाट पीडित यहाँका स्थानीयले खानेपानी चोरी हुने डरले धारामा ताल्चा लगाउने गरेका हुन् ।

खानेपानीको मूल सुक्न थालेको र भएको पानी दुरुपयोग हुन थालेपछि धारामा ताल्चा लगाउने गरिएको स्थानीयवासी सीता मल्लले बताइन् । मल्लले भनिन्, ‘खानेपानी दुरुपयोग हुन नदिनबाट जोगाउन यो उपाय अपनाएका हौं ।’ उनका अनुसार २ वटा धारामा ताल्चा लगाइन्छ । साँझ ६ बजेदेखि ९ बजेसम्म पानी भर्नका लागि ताल्चा फुकालिन्छ । ‘अरु समयमा सँधै ताल्चा लगाएर नै राख्ने गरिएको छ,’ स्थानीय तेजकुमारी वंशीले भनिन्, ‘खानेपानीको दुःखले गर्दा यस्तो गरिएको छ ।’ रित्तो गाग्री समयमै धारामा लगेर राख्नुपर्ने बाध्यता छ । ग्वास्लुङका सयभन्दा बढी घरधुरी खानेपानी समस्याबाट पीडित छन् ।

Advertisement

खानेपानीको समस्याले गर्दा साँझ पर्न थालेसँगै धारामा स्थानीयको भीड हुने गरेको छ । ‘साँझ पर्न थालेपछि अरु काम गर्न भ्याइँदैन, गाग्री बोकेर धारातर्फ दौडनुपर्छ,’ स्थानीयवासी मीनकुमारी चन्दले भनिन् ।

Advertisement

तपाईको प्रतिक्रिया