गाेरखामा प्रधानमन्त्री स्वराेजगार कार्यक्रम सुरुः १५ दिन काम, १० हजार ज्याला

समाधान संवाददाता २०७६ असार ९ गते १५:१९

मोहसिन अली मियाँ
गोरखा

निर्माणका कामलाई प्राथमकिता दिदै गोरखा नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरु गरेको छ । आइतबार वडा नम्बर ८ मा कामदारलाई साबेल र गैची हस्तान्तरण गर्दै नगर प्रमुख राजनराज पन्तले कार्यक्रम सुरुआत गरेका हुन् । गोरखा नगरपालिकामा बेरोजगार फाराम भरेका १ हजार ६ सय ८ मध्ये २ सय ५२ जनालाई छनोट गरी कार्यक्रम सञ्चालन गरिएको हो ।

‘हामीले चैत र वैशाखमा बेरोजगारको तथ्यांक संकलनका लागि वडाबाट फारम खुलाएका थियौं,’ गोरखा नगरपालिकाका रोजगार संयोजक गीता बस्नेतले भनिन्, ‘नाम टिपाएकाबाट वडाले नै छनोट गरी पठाएकालाई स्वरोजगार कार्यक्रममा समावेश गरेका छौं ।’ कार्यक्रममा फारम भर्नेमध्ये आर्थिक अवस्था कमजोर रहेकालाई प्राथमिकतामा राखिएको छ ।

Advertisement

गोरखा नगरपालिकाले कार्यक्रममा निर्माणका कामलाई विशेष प्राथमिकता दिएको छ । नगर क्षेत्रमा नाली निर्माण तथा ब्यवस्थापन, गोरेटो, सिढी बाटो निर्माण, कच्ची बाटो मर्मत सम्भार, विद्यालयका कम्पाउन्ड निर्माण, चौतारा निर्माण लगायतमा कामदार परिचालन गर्ने गरी कार्ययोजना निर्माण गरिएको संयोजक बस्नेतले बताइन् । ‘गोरखामा निर्माणको कामलाई पहिलो प्राथमिकतामा राखिएको छ,’ देवकोटाले थपिन्, ‘यो वर्ष बजेट अन्तिममा आएकाले ठूला योजना सम्पन्न गर्न नसकिने भएकाले साना योजनामात्रै अघि सारेका छौं ।’

यस वर्ष सो कार्यक्रम सञ्चालन गर्न गोरखा नगरपालिकामा ४९ लाख बजेट आएको थियो । कार्यक्रममा सहभागी कामदारले दैनिक ७ सय रुपैयाँ ज्याला पाउने बस्नेतको भनाइ छ । उनीहरुले १५ दिन रोजगारी पाउनेछन् । ‘यो कार्यक्रममा सहभागी भएकाले १५ दिनमा १० हजार ५ सय रुपैया पाउनेछन्,’ उनले भनिन्, ‘उहाँहरुलाई हामी काम सम्पन्न गरेपछि बैंक खातामार्फत भुक्तानी दिन्छौं ।’

Advertisement

गोरखा नगरका प्रमुख राजनराज पन्तले नगरको विकासमा कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । विपन्न र वेरोजगारका लागि राम्रो अवसर भएकाले पनि कार्यक्रम प्रभावकारी हुने उनको भनाइ छ । कार्यक्रमको लक्ष्य अनुसार काम गर्न निर्देशन दिदै नगर प्रमुख पन्तले कामको मूल्यांकन र अनुगमनका लागि वडाध्यक्ष र पत्रकारलाई आग्रह गरेका छन् । यस वर्ष समय कम भएकाले साना योजना गर्नुपर्ने बाध्यता रहेको र आगामी वर्ष प्रभावकारी योजनाका साथ कार्यक्रम सञ्चालन गर्ने कार्यालयको योजना छ ।

तपाईको प्रतिक्रिया