लेखनाथमा बेकरी उद्योग

लेखनाथ ।
स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने उच्च मनोवलका साथ युवा व्यवसायी निरन्जन तिमिल्सेनाले पोखरा –२६ को अर्घाैंचोकमा आधुनिक खालको बेकरी उद्योग सञ्चालनमा ल्याएका छन् ।
फुड एण्ड टेक्नोलोजीमा मास्टरसम्मको अध्ययन पूरा गरेका तिमिल्सेनाले रोजगारीका लागि विदेशिनु भन्दा आफनै जन्मभूमिमा केही गरौं भन्दै करिब ७० लाखको लागतमा अल्पाइन फुड एन्ड बेभरेज इन्डस्ट्रिज सञ्चालनमा ल्याएका हुन् ।
आफूले अध्ययन गरेको विषयलाई प्रयोगमा ल्याएर स्वदेशमा नै केही गरौं भन्ने भावनाले नयाँ प्रविधिको प्रयोग गर्दै गुणस्तरीय र स्वाथ्यवद्र्धक उत्पादनलाई प्रथामिकतामा दिँदै बुधबारदेखि उद्योग सञ्चालनमा ल्याएका हुन् ।
उद्योगको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाअध्यक्ष नरेन्द्र थापाले उच्च शिक्षाका नाममा युवा पुस्ता बाहिरिरहेको अवस्थामा स्वदेशमा नै केही गरौं भन्ने भावनाले अगाडि बढेका युवाहरुलाई स्थानीय सरकारबाट सहयोग र साथ रहिरहने विश्वास दिलाए।
सोही अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले विदेशिने युवालाई स्वदेशमा नै कसरी रोक्न सकिन्छ भन्ने बारेमा संघ चिन्तनशील भएको सुनाए ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष सुमनमोहन भट्टराईले ब्रान्ड र गुणस्तरलाई पहिलो प्रथामिकतामा राख्न सुझाव दिए । उद्योग सञ्चालक निरन्जन तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगका संरक्षक तथा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष छत्रधर आत्रेय र सञ्चालक नवराज तिवारी लगायतले उद्योगमा नयाँ प्रविधिको प्रयोग गरी कम जनशक्तिमा गुणस्तरीय सामग्री उत्पादन गर्न सकिने बताएका थिए । उद्योगबाट बेकरी, विभिन्न किसिमका केक, पप तथा कुकिज लगायत खाद्यवस्तुहरु उत्पादन गर्ने तिमिल्सिनाले जनाए ।
तपाईको प्रतिक्रिया