प्रतिभाले जित्यो हिसान मिट उपाधि

पोखरा ।
हिसान कास्कीको आयोजनामा भई आइतबार सकिएको १६ औं हिसान कास्की स्पोर्टस मिटको उपाधि प्रतिभा माविले उचालेको छ । पोखरा रंगशालामा भएको खेलमा सर्वाधिक २२ अंक बटुल्दै प्रतिभाले उपाधि जितेको हो ।
अघिल्लो संस्करणकोसमेत विजेता प्रतिभाले छात्र–छात्र बास्केटबलमा प्रथम, टेबुल टेनिसमा ७ पदक तथा ब्याडमिन्टनमा एक पदकका साथ २२ अंक बनाउँदै रनिङ सिल्ड राख्न सफल भएको हो । करुणानिधि मावि १६ अंकका साथ दोस्रो हुँदा न्यू ग्यालेक्सी १० अंकका साथ तेस्रो बने ।
बास्केटबल
प्लस टु छात्र बास्केटबल फाइनलमा न्यू ग्यालेक्सीलाई प्रतिभाले ७२–४८ को स्कोरले पराजित गरी उपाधि जित्न सफल भयो भने कास्की मोर्डनाइजले हिल पोइन्टलाई ३७–२० ले पराजित गरी तेस्रो स्थान प्राप्त गरेको छ । छात्रातर्फ प्रतिभा प्रथम, न्यू ग्यालेक्सी दोस्रो,m ग्लोबल तेस्रो र त्रिवेणी पब्लिकलाई चौथो बने ।
विश्वविद्यालय छात्र बास्केटबलमा लिंकनले पिसिएमलाई ४७–२८ ले पराजित गरी पहिलो बन्यो । लेकसिटी कलेज तेस्रो बन्यो । छात्रातर्फ लिंकन, पिसिएम र इन्फरमेटिक्स कलेज क्रमशः पहिलो, दोस्रो र तेस्रो बने ।
छात्र–छात्र बास्केटबल प्रथम, टेबुलटेनिसमा ७ पदक र ब्याडमिन्टनमा १ पदकका साथ कुल २२ अंक बनाउँदै प्रतिभा च्याम्पियन
भलिबल
प्लस टु छात्र भलिबलमा माउन्ट अन्नपूर्ण माविले करुणानिधिलाई २५–१९, २१–२५, २७–२५ र २५–१८ ले पछि पार्दै उपाधि जितेको हो । सिर्जना मावि तेस्रो र टप्स मावि चौथो भएका छन् । प्लस टु छात्रातर्फ पश्चिमाञ्चल माविले उपाधि जितेको छ । गुरुकुललाई २५–२१, २५–१४ र २५–१२ ले पश्चिमाञ्चलले पराजित गरेको हो । केफा मावि तेस्रो र कास्की मोर्डनाइज चौथो बने ।
टेबुलटेनिस फाइनल
टेबुल टेनिस प्लस टु छात्र सिंगल्समा स्टेप वाइ स्टेपका सुलभ केसी पहिलो, सिर्जनाका मिलन खडका दोस्रो, ग्लोबलका प्रज्वल थापा र प्रतिभाका मनिष भुजेल तेस्रो भएका छन् । छात्रातर्फ करुणानिधिका समृद्धि अधिकारी पहिलो, प्रतिभका योगिता गुरुङ दोस्रो, ग्लोबलका रोजिना गुरुङ र साइनिङ स्टारका सजिना राई तेस्रो बने ।
डबल्सतर्फ ग्लोबलका प्रज्वल थापा र जेनिथ गुरुङको जोडी पहिलो, सिर्जनाका समीर लिम्बु र मिलन गुरुङ दोस्रो तथा सगरमाथामा नितेश पञ्डित र जेनिथ ठकुरीको जोडी र प्रतिभाका मनिष भुजेल र अमन थापाको जोडीले तेस्रो स्थान पाए ।
प्लस टु छात्रातर्फ करुणनिधिका समृद्धि अधिकारी र सभ्यता अधिकारीको जोडी पहिलो हुँदा प्रतिभका योगिता गुरुङ र करुणा तिमिल्सिनाको जोडी दोस्रो बन्यो । सगरमाथाका सरुण गुरुङ र दिलिशा सापकोटाको जोडी तथा पोखरा आदर्शका प्रियकां अधिकारी र रोधा तामाङको जोडीले तेस्रो स्थान प्राप्त गरे ।
विश्वद्यिालय अन्तर्गत भएको टेबुल टेनिसमा पोखरा लिंकनका अनिष ढकाल प्रथम, इन्फरमेटिक्सका विशाल श्रेष्ठ दोस्रो, पिसिएमका निभर्य लिगल र पेकका सूवर्ण रुम्बाले तेस्रो स्थान प्राप्त गरे । छात्रातर्फ पेकका खेलाडीद्वय सिम्रन ढकाल र अनुस्का थेवे पहिलो र दोस्रो हुँदा पोखरा लिंकनका खेलाडीद्वय अमिषा गुरुङ र अशिम खत्री तेस्रो बने ।
छात्र डबल्समा पोखरा लिंकनका अमिश ढकाल र आभश थापाको जोडी पहिलो, इन्फरमेटिक्सका विशाल थापा र क्षितिज पन्त दोस्रो, पेकका सूवर्ण रुम्बा र रोशन घर्ती मगरको जोडी तथा लेकसिटी कलेजका सम्राट शाही र राजन कार्कीको जोडीले तेस्रो स्थान प्राप्त गरेका छन् ।
मंसिर १४ बाट पोखरा रंगशालामा सुरु भएको १६ औं हिसान स्पोर्टस मिटमा संस्थामा आवद्ध ७२ मध्ये ६२ शिक्षण संस्थाले भाग लिएको स्पोर्टस मिट संयोजक डा.रामजी शर्माले बताए । ४ हजारभन्दा बढी विद्यार्थी सहभागी प्रतियोगिता २५ हजारभन्दा बढीले अवलोकन गरेको प्रचारप्रसार उपसमिति संयोजक डिल्लीराम अर्यालले जनाए ।
स्पोर्टस मिटका विजेता खेलाडी तथा विद्यालयलाई गण्डकीकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडा, राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव तथा हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवाल, केन्द्रीय उपाध्यक्ष बावुराम पन्त, प्रदेश खेलकुद परिषद उपाध्यक्ष धोजकुमार गुरुङ, प्रदेश खेलकुदका सदस्य सचिव श्रीधर शर्मा, हिसान केन्द्रीय सल्लाहकार सूर्यबहादुर जिसी लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका छन् ।
कार्यक्रममा मन्त्री शिम्खडाले खेलकुदमा व्यापारीकरणलाई प्रश्रय दिन नहुने बताउँदै व्यावसायिक खेलाडी उत्पादन अहिलेको प्रमुख विषय रहेको जनाइन् । हिसान कास्की अध्यक्ष यामबहादुर रोक्काले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे ।
तपाईको प्रतिक्रिया