म्याग्देको केन्द्र नसार्न दबाब

कृष्ण न्यौपाने
दमौली
म्याग्दे गाउँपालिकाको केन्द्र सार्न लागिएको भन्दै स्थानीयवासीले मंगलबार गाउँपालिका घेराउ गरी नसार्न दबाब दिएका छन् । सोमबारदेखि सुरु भएको गाउँपालिकाको गाउँसभाले केन्द्र सार्ने निर्णय गर्न लागेको भन्दै स्थानीयवासीले २ घन्टा गाउँपालिका कार्यालय घेराउ गरेका हुन् ।
म्याग्दे गाउँपालिका ४ नारङ्गेमा गाउँपालिका केन्द्र सबैलाई पायक पर्ने भए पनि केही नेताको स्वार्थमा केन्द्र सार्न लागिएकाले आन्दोलनमा उत्रिनुपरेको स्थानीय हुतमणि अधिकारीले बताए । निर्वाचित जनप्रतिनिधिले जनभावनालाई विचार गरी जनताको सर्वोत्तम हित हुने गरी गाउँपालिकाको केन्द्र तोक्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘व्यक्तिविशेषका स्वार्थका निम्ति केन्द्र सार्ने चलखेल रोक्न स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् ।’
जनप्रतिनिधिले जनताको भावना विपरीत गाउँपालिकाको केन्द्र सार्न लागेकाले आफूहरुले खबरदारी गरेको स्थानीय राजेन्द्र वाग्लेले बताए । वाग्लेले भने, ‘जनताले जिताएर पठाएका जनप्रतिनिधिले जनभावना विपरीत केन्द्र सार्ने प्रयास गर्नु दुखद् हो, जनताको मतको दुरुपयोग गर्न पाइँदैन ।’ गाउँपालिका केन्द्र म्याग्दे ३ किरियाडाँडामा सार्ने तयारी गरेको स्थानीयको आरोप छ ।
तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार इकाइ समिति सभापति भीमलाल श्रेष्ठले सबैलाई केन्द्र पार्ने स्थान छोडेर फूलबारीमा राख्ने सुनेपछि स्थानीय आन्दोलित भएको बताउँदै आन्दोलले निर्णय फिर्ता लिन बाध्य बनाएको बताए । फूलबारीमा करिब ८० रोपनी सार्वजनिक जग्गा छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले भने गाउँपालिका केन्द्रबारे गाउँसभामा कार्यसूची नै पेस नभएको बताए । तिवारीले भने, ‘गाउँसभामा बजेट विनियोजन विधेयक र आर्थिक विधेयक मात्रै पेस गर्ने आजको कार्यसूची हो । केन्द्रको विषयमा कुनै कार्यसूची नै थिएन ।’ म्याग्दे ५ का अध्यक्ष शिवबहादुर आलेले केन्द्र फूलबारीमा सार्ने विषयमा कुनै छलफल नै नभएको बताए ।









कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया