कास्की आइपुग्यो एमालेको संकल्प यात्रा

पोखरा ।
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको ‘झुलाघाट चिवाभन्ज्याङः समृद्धिका लागि संकल्प यात्रा’को टोली बिहीबार कास्की आइपुगेको छ ।
नेकपा (एमाले) जिल्ला कमिटी कास्कीले मध्यपहाडी (पुष्पलाल) राजमार्ग अन्तर्गत बागलुङ पर्वत हुँदै आएको टोलीलाई कास्कीको नयाँ पुलमा औपचारिक रुपमा स्वागत गरेको छ । पार्टीका स्थायी समितिका सदस्य थममाया थापा, जिल्ला कमिटी कास्कीका अध्यक्ष मनबहादुर गुरुङ, प्रतिनिधि सभाका सदस्य दामोदर बैरागी लगायतका नेता तथा कार्यकर्ताले टोलीलाई नौमती बाजा गाजासहित स्वागत गरेका हुन् ।
अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा टोलीलाई भव्य रुपमा स्वागत गरिएको छ । पार्टी अध्यक्ष ओलीले ‘अन्नपूर्ण प्रवाह’ पुस्तकको विमोचन गरेका छन् । सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय अभियान अन्तर्गत पोखरा २५ हेमजाको मिलनचोकमा सभा भएको छ । सभालाई पार्टी अध्यक्ष ओलीले सम्बोधन गरेका छन् । टोली बिहीबार पोखरामा बास बसेको छ । पोखरा बसाईको क्रममा अध्यक्ष ओलीले विभिन्न क्षेत्रका व्यक्तिसँग भेटघाट र छलफल गर्ने कार्यक्रमसमेत बनेको छ ।
अभियान अन्तर्गत मंसिर २२ गते शुक्रबार बिहान साढे ७ बजे पोखराको नुवारथोकमा रहेको पुष्पलालको शालिकमा अध्यक्ष ओलीसहितको टोलीले माल्यापर्ण गरी जिरोकिमी हुँदै टोली अगाडि बढ्ने कार्यक्रम तय भएको छ । टोलीलाई पोखराको अमरसिंहचोकमा स्वागत गरी बिहान ९ बजे लेखनाथको तालचोक पुगेर पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
रुपा गाउँपालिकाले तालबेसीमा स्वागत गरेपश्चात टोलीलाई रुपाको पिप्लेबजारबाट बिदाइ गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि टोली लमजुङतर्फ लाग्नेछ ।
कास्कीको नयाँपुलदेखि लुम्ले, ढिकुरपोखरी, हेमजा, याम्दी, बाटुलेचौर, अर्मला, भलाम, मादी,मेलबोट थुम्सीकोटहँुदै लमजुङको सिमानामा पर्ने रुदी दोभानसम्म पुष्पलाल मध्यपहाडी लोकमार्ग पर्छ ।
लोकमार्ग अन्तर्गत कास्कीको याम्दीदेखि बाटुलेचौर हुँदै अर्मलासम्मको बाटो छिचोलिएको छैन । सो क्षेत्रमा अहिले समस्या समाधान भएपछि बाटो निर्माणको काम अगाडी बढेको छैन । मादी गाउँपालिकाको भैंसेबाट मुंग्रेबेसी हुँदै लमजुङ जानेबाटोमा मादी नदी भएका कारण केही समस्या छ ।
एमाले कास्कीका उपसचिव एवं प्रचार विभाग प्रमुख दर्शन लामाका अनुसार जिल्ला कमिटी कास्कीको तर्फबाट अन्नपूर्णको नयाँपुल नाऊडाँडाको कार्यक्रमको संयोजन पार्टीका केन्द्रीय सदस्य राजीव पहारीले गरेका छन् । हेमजा मिलनचोकको संयोजन पार्टीका केन्द्रीय सदस्य कृष्ण थापाले गरेको जानकारी दिँदै उनले अमरसिंहचोक र तालचोकको संयोजन क्रमशः केन्द्रीय सदस्यहरु मिनाकुमारी गुरुङ र मञ्जुदेवी गुरुङले गर्ने बताए । कार्यक्रमलाई व्यवस्थित गर्न खाना, खाजा तथा बासको संयोजकमा पार्टी अध्यक्ष मनबहादुर गुरुङलाई तोकिएको छ । प्रचारप्रसार समितिको संयोजक उपसचिव दर्शन लामा, खेलकुद, युवा विद्यार्थी तथा स्वयं सेवकको संयोजकको जिम्मेवारी उपसचिव नवराज ओझालाई दिइएको छ ।
एमालेले पार्टी स्थापनाको ७५ औँ वर्ष समारोहमा संस्थापक महासचिवको स्मृतिमा निर्मित मध्य पहाडी लोकमार्ग केन्द्रीत अभियान गरेको हो । नेकपा (एमाले)ले सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय योजनासहित आगामी मंसिर १४ देखि पुस २ सम्मको ३ हप्ता लामो समृद्धिका लागि संकल्प यात्राको कार्यक्रम तय गरेको छ ।
तपाईको प्रतिक्रिया