पोखरा महानगरपालिकाका जनप्रतिनिधिहरुले सोचुन् !

प्रत्येक राजनीतिक पद्धतिमा स्थानीय निकायहरु हुन्छन् । स्थानिय तहको समस्या स्थानिय स्तरबाटै समाधान होस् भन्ने हेतुले प्रत्येक शासन पद्धतिमा स्थानिय निकायलाई निश्चित अधिकारहरू सुम्पिइएको हुन्छ । धेर थोर समान अधिकार प्राप्त गरेका स्थानिय निकायहरुले कतै चौतर्फी विकास गरेका हुन्छन् भने कतै तलब, भत्ता र सत्ता मात्र ओगटेर बसेका हुन्छन् । हाम्रो देशको कुरा गर्दा गाउँपालिका र नगरपालिकाहरु स्थानिय निकाय अन्तर्गत पर्छन् । सयौँको संख्यामा रहेका गाउँपालिका र नगरपालिकाहरूमध्ये हामीहरु प्रायले काठमाडौँ महानगरपालिका र त्यहाँका मेयर बालेन शाहको नाम सुनेका छौँ ।
इन्जिनियर बालेन शाह स्वतन्त्र व्यक्ति वा र्याप गायक भएको कारणले मात्र चर्चामा आएका होइनन् । अरू अध्यक्ष वा मेयरहरूले बोल्ने र सुविधा मात्र उपभोग गर्ने तर मेयर बालेन शाह आम जनताले प्रत्यक्ष अनुभूति हुने गरी योजनाबद्ध ढंगमा विना ढिलासुस्ती विकास र निर्माणका कार्यहरूमा जुध्ने भएकाले उनको लोकप्रियता चौतर्फी रूपले चुलिएको हो । आज कतिपय काठमाडौँवासीले राष्ट्रपति, उपराष्ट्रपति, अर्थमन्त्रि वा सभामुख आदिको नाम सुनेका हुँदैनन् तर मेयर बालेनको नाम उनीहरुको मुख मुखमा झुण्डिएको पाइन्छ ।
देशका धेरै पालिकाहरुमध्ये पोखरा महानगरपालिका क्षेत्रफलको दृष्टिकोणले सबैभन्दा ठूलो र प्राकृतिक सौन्दर्यको दृष्टिले विश्वभर चिनिएको एउटा सुन्दर नगरी हो । विकास र निर्माणको दृष्टिकोणले सचेत नागरिकहरु बसेको र भौगोलिक दृष्टिकोणले पनि सहज र प्रचुर सम्भाव्यताहरु बोकेको क्षेत्र हो पोखरा । यति हुँदाहुदै पनि पोखरा महानगरपालिकाले अपेक्षित मात्रामा विकासको फड्को चाल्न सकेको छैन ।
विकास र निर्माण भन्ने विषय एकै रात उपलब्ध हुने विषय पक्कै होइन । नेतृत्वलाई कुर्चीमा राखेको र बजेट पनि प्रशस्त दिएको आधारमा मात्र विकास भन्ने चिज सम्भव हुँदो रहेनछ । जसरी एउटा बलियो भोटे ताल्चालाई सानो कुचीले खोल्छ त्यसरी नै विकास र निर्माण भन्ने वस्तु निश्चित मोडेल (रणनीति) द्वारा मात्र सम्भव हुँदो रहेछ । विकासका मोडेलहरु अनेकौँ हुन सक्छन् । तर तीमध्ये मुख्यतः दुइटा मोडेललाई उल्लेख गर्न सकिन्छः एउटा होः बृहत् मोडेल र अर्को होः टुक्रे मोडेल । पूर्व निर्धारित योजना अनुसार साधन र स्रोतको हिसाबले दुवै मोडेललाई एकै स्थानमा वा पृथक पृथक पनि राख्न सकिन्छ । बृहत् मोडेलमा बजेटको उचित विनियोजनसहित योजना अनुसार कार्यान्वयनमा लगिन्छ भने टुक्रे मोडेललाई कुशल नेतृत्वमात्र प्रदान गर्न सकियो भने पनि सानो बजेटमा विकासका थुप्रै कार्यहरू सहजै सम्पादन गर्न सकिन्छ ।
जसरी एउटा बलियो भोटे ताल्चालाई सानो कुचीले खोल्छ त्यसरी नै विकास र निर्माण भन्ने वस्तु निश्चित मोडेल (रणनीति) द्वारा मात्र सम्भव हुँदो रहेछ
अब हामी पोखरा महानगरको चर्चा गरौँ । पोखरा महानगरपालिकाले आजसम्म कुनै पनि मोडेललाई पछ्याएको पाइँदैन । हाम्रा मेयर, उप–मेयर र वडा अध्यक्षहरु कर्मचारी सरह प्रायः कार्यालयमा आउने जाने मात्र गर्छन् । यिनीहरुले आफू निर्वाचित जनप्रतिनिधिहरु भएको र आफ्नो दायित्व दैनिक कार्य सम्पादनका अतिरिक्त आम जनसरोकारका विषयहरु एवं नगरको प्रतिष्ठासँग पनि जोडिएको हुन्छ भन्ने तथ्य प्रायः बिर्सिदिन्छन् । उनीहरु योजनाको निर्माण एवं सो योजना कार्यान्वयनका लागि संयन्त्रको परिचालन भन्दा बाहिर रहेर जतिखेर जे परी आउँछ त्यही गर्ने भन्ने परम्परागत शैलीबाट प्रेरित भएका देखिन्छन् । यसले गर्दा आमजनताले प्रत्यक्ष अनुभूति गर्ने खालको विकासका कार्यहरू उपेक्षित र ओझेलमा परेको पाइन्छ ।
जनप्रतिनिधिहरुमा स्पष्ट सोच, विशिष्ट एवं पुनर्ताजकीकरणका तालिमहरुको अभावका कारण पनि यस्तो भएको हुन सक्छ ।
पोखरा महानगरपालिकाले बृहत् योजना अन्तर्गत माछापुच्छ्रेको फेदीसम्म केवलकार निर्माण गर्न सक्छ, काहुँडाँडामा नमुना सडक निर्माणको अतिरिक्त विविध रंगीन जातका बिरुवाहरु वृक्षरोपण गरेर सिंगो डाँडोलाई रमणीय तुल्याउनुको साथै यहाँका ताल तलैयाहरुलाई पनि मनमोहक तुल्याउन र रामघाटलाई पनि कृत्रिम तालमा रुपान्तरण गर्न सक्छ ।
पोखराका सडक गल्लिहरुलाई सौर्य बत्तीहरुद्वारा झिलिमिली बनाउन र यी यस्तै अन्य कैयौं बृहत् कार्यहरू सञ्चालन गर्न सक्दछ । सडक र गल्लिको दायँ बायाँ फोहोर फाल्न नदिने, फोहोर फाल्ने वा आफ्नो घर/पसल/व्यवसाय अगाडिको फोहोर हेरेर बस्नेलाई दण्डित गर्ने, सडक गल्लिहरुको किनारालाई सुन्दर तुल्याउने, ट्राफिक व्यवस्थापनलाई अत्यन्त प्रभावकारी बनाउने, सम्भव भएसम्म सडकको दायाँबायाँ वृक्षरोपण गर्ने वा त्यसको नियमित संरक्षण गर्ने जस्ता कार्यहरूलाई टुक्रे योजना अन्तर्गत पार्न सकिन्छ ।
माझीले खोलामा माछा मार्न जाल हानेजस्तै एउटा वडा कार्यालयले आफ्नो वडाभित्र ठाउँठाउँमा विकासका जालहरु फैलाउन सक्छ । जाल फैलाउनु नै टुक्रे योजना हो । टुक्रे योजनामा विकासका सञ्जाल भित्र पर्ने सरकारी वा गैह्रसरकारी कार्यालय, संघसंस्था, समाजसेवी, मिडियाकर्मी एवं स्थानीय बासिन्दाहरुलाई सहजै परिचालन गर्न सकिन्छ । यसो गरियो भने न्यूनतम खर्चमा सिंगो पोखरा महानगरपालिकालाई छोटो समयमै सभ्य, सुन्दर र विकसित तुल्याउन सकिन्छ ।
पोखरा महानगरपालिकाका मेयर, उपमेयर र वडा अध्यक्षहरु कुन कुन स्तरका र कति सक्षम छन् भनेर अध्ययन अनुसन्धान गर्नु आवश्यक पर्दैन । पोखरा महानगरको विविध व्यवस्थापनको पाटोमा एक नजर मात्र लगाए उनीहरुको स्तर र क्षमता बुझ्न पर्याप्त हुन्छ । पोखरा घुम्न आएका पर्यटकहरुले पनि एकपटक आँखा घुमाए भने यहाँका जनप्रतिनिधिहरुको सहजै मूल्यांकन गर्न सक्छन् । यत्तिमात्र होइन, पोखरा महानगरको व्यवस्थापनलाई हेरेर यस नगरीमा बस्ने बासिन्दाहरुको पनि सहजै मूल्यांकन भएको हुन्छ ।
यस अर्थमा पोखरामहानगरका जनप्रतिनिधिहरुलाई पोखरेलीहरुको इज्जत जोगाउन र पोखराको शान राख्न गाडीमा सवार वा पैदल यात्रा गर्दा आकाशतिर भन्दा भुइँतिर हेरेर यात्रा गर्न र जनप्रतिनिधि बनेको हैसियतले कुशल एवं सक्रिय नेतृत्व प्रदान गरिदिनुहुन यो पंक्तिकार विनम्र अनुरोध गर्दछ । ‘ढिलो न्याय दिनु अन्याय गर्नु हो’ भने जस्तै मतदाताहरुलाई अनेकौँ अश्वासन दिएर निर्वाचनमा विजय भएपछि तलब/भत्ता मात्र खाएर बस्नु मतदाताहरुको निन्दा बटोल्नु हो र जिउँदै नरक जानु हो भन्ने तथ्य कसैले नबिर्साैँ ।
केसी स्वतन्त्र विचारक हुन् ।
तपाईको प्रतिक्रिया