सम्पादकीयः तस्करीको जालो

समाधान संवाददाता २०८० मंसिर २५ गते ११:५६

पछिल्लो ५ दिनमै २९ किलो सुन नेपाल भित्रिएको फेला पर्‍यो । कुनै बेला चाल्र्स शोभराजले नेपालको विमानस्थलबाट हात्ती पनि छिराइदिन्छु भनेका थिए । त्यही प्रवृत्तिको प्वाल विमानस्थलमा रहेको पछिल्लो सुन तस्करी प्रकरणले देखाउँछ । होइन भने केही अघिमात्रै अर्थात असारमा ६१ किलो सुन विमानस्थलबाट बाहिरिसकेपछि राजस्व अनुसन्धान विभागका कर्मचारीले नियन्त्रणमा लिएका थिए । ५ दिनमा २९ किलो सुन समातिँदा ५ महिनामा चाहिँ ९३ किलो नियन्त्रणमा आएको छ । सुन समातिँदा निकै ठूलो कोकोहोलो नै मच्चिन्छ । सडकमात्रै होइन सदन पनि तात्तिन्छ । सरकारदेखि प्रतिपक्ष दलका नेताहरु सुनको तस्करीप्रति चिन्ता प्रकट गर्छन् । तर त्रिभुवन विमानस्थलबाट सुनको तस्करी अझै उस्तै छ । भन्सार जाँच भएर अघि बढिसकेर समातिन्छ कहिले त कहिले विमानस्थल बाहिर पुगिसकेपछि त कहिले कहाँ, कहाँ कहाँ ।

Advertisement


सुन समातिएका उदाहरण त सार्वजनिक नै हुन्छन् । तर नसमातिएका घटना बाहिर आउने कुरै भएन । त्यसरी सजिलै सुन भित्रने र बाहिर जाने भएकैले नै यो क्रम नरोकिएको हुनुपर्छ । तस्करहरुको मनोबल उत्तिकै ऊँचो भइरहेको हुनुपर्छ । एकाध घटनामा मात्रै सुन समातिएको हुनसक्छ । होइन भने बारम्बार सुन समातिएको समाचार आइरहँदा पनि किन कोही सुन भिœयाउन यसरी कम्मर कसेर लागेको छ ? पक्कै पनि भन्सार, अध्यागमन, सुरक्षा र विमानस्थलमा ठूलै सेटिङ भएरै यो सम्भव भएको हो । होइन भने बारम्बार सुन समातिँदा पनि कोही किन फेरि त्यस्तै कर्म गर्न तम्सिन्छ ? सेटिङमा पनि मोलमोलाइ नमिलेपछि मात्रै घटना बाहिरिने गरेको शंका गर्न सकिन्छ । गएका १० वर्षमा मात्रै ७ क्विन्टल सुन समातिएको छ । यी घटनाहरुले नेपाल सुन तस्करीको अखडै बनेको देखाउँछ । यसले राष्ट्रको ठूलो बदनामी गरेको छ ।


सुन तस्करीको जालो तोड्न नसक्नु भनेको राजनीतिक नेतृत्वको ठूलो अकर्मण्यता हो । सरकार यतिसम्म लाचार हुनुको फाइदा नै तस्करहरुले उठाइरहेका हुन् । नेपालमा आवश्यक नै नभएको मात्राको सुन सिधै भारत तस्करी गर्न नेपालको बाटो रोजिएको हुनुपर्छ । भन्सार छलेर नेपालबाट भारत सुन लैजाँदा हुने करोडौं नाफाकै कारण नेपाललाई तस्करीको ट्रान्जिट बनाइएको हुनुपर्छ । यस्तो अवैध धन्दाका लागि नेपाली भूमि प्रयोग गर्न रोकिनुपर्छ । कुनै पनि प्रकारको अवैध कर्मका लागि नेपाल प्रयोग हुनु हुँदैन ।

तपाईको प्रतिक्रिया