छुट तथा पुन जाँच सर्वेक्षण सुस्त

समाधान संवाददाता २०७६ असार १२ गते १२:३७

कृष्ण न्यौपाने
दमौली

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सञ्चालन गरेको भूकम्प पीडितका लगत छुट तथा पुन जाँच सर्वेक्षण भानु नगरपालिकामा सुस्त देखिएको छ । निजी आवास पुनर्निर्माण लाभग्राहीमा सूचीकृत हुन छुटेका सर्वसाधारणको गुनासोका आधारमा सञ्चालन गरिएको छुट तथा पुन जाँच सर्वेक्षण भानुमा सुस्त देखिएको हो ।

नगरपालिकामा सिफारिस भई आएको २ हजार ८ सय २९ र नयाँ दर्ता भएको ९ सय ६३ गरी ३ हजार ७ सय ९४ गुनासामध्ये १ हजार २ सय १० घरधुरीको मात्रै छुट तथा पुन जाँच सर्वेक्षण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) तनहुँका प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए ।

Advertisement

उनका अनुसार नगरपालिकामा छुट तथा पुन जाँच सर्वेक्षणका लागि १६ जना प्राविधिक परिचालन गरे पनि काम तीव्र गतिमा हुन नसकेको बताए । गुप्ताले भने, ‘असार मसान्तभित्र छुट तथा पुन जाँच सर्वेक्षण सक्नुपर्ने भए पनि प्रगति न्यून देखिएको छ ।’ छुट तथा पुन जाँच सर्वेक्षण सकिएपछि लाभग्राहीमा सूचीकृत हुने लाभग्राहीले असार महिनामै सम्झौता गरिसक्नुपर्ने भए पनि कामले गति नलिएको उनले बताए ।

निजी आवास पुनर्निर्माणको जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण भइसकेकोले भूकम्प पीडितलाई पहिलो प्राथमिकतामा राखेर जनप्रतिनिधिले काम गरिदिनुपर्ने गुप्ताले बताए । उनले भने, ‘जनप्रतिनिधिले यो कार्यमा सकारात्मक भएर सहयोग गरिदिए समयमै काम सम्पन्न गर्न सहयोग पुग्छ ।’ उनका अनुसार तनहुँका ५ वटा स्थानीय तहमा छुट तथा पुन जाँच सर्वेक्षण सकिएको छ ।

Advertisement

भानु नगरपालिकाको वडा नं १, २, ५ र ७ मा अहिलेसम्म पनि छुट तथा पुनः जाँच सर्वेक्षणको काम शुरु हुन सकेको छैन । भानु नगरपालिका–१ का वडाध्यक्ष प्रेमबहादुर लामाले प्राविधिक नआइदिएकोले सर्वेक्षणको काम शुरु गर्न नसकिएको बताए । उनका अनुसार वडामा २ सय ३९ घरधुरीको गुनासो दर्ता भएको छ ।

भानु नगरपालिका–३ का वडाध्यक्ष दलनारायण श्रेष्ठले २ सय २८ मध्ये १ सय ५० घरधुरीको सर्वेक्षण भइसकेको जानकारी दिए । भानु नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बानियाँले एक दिनमा ८ भन्दा बढि घरधुरीको सर्वेक्षण गरेपछि भत्ता पाउने व्यवस्था रहेकोले उनीहरुले एक दिनमा उक्त सङ्ख्या भन्दा बढि घरधुरीको सर्वेक्षण नगर्ने गरेको गुनासो गरे । उनले भने, “प्राविधिकहरुले एक दिनमा ८ वटा भन्दा बढि घरधुरीको सर्भे गर्न मान्दैनन्, त्यही कारणले पनि सर्वेक्षण कार्य सुस्त भइरहेको छ ।”

भानु नगरपालिका–११ मा ४ सय २० गुनासो दर्ता भएपनि अहिलेसम्म १ सय ५० घरधुरीको मात्रै छुट तथा पुनः जाँच सर्भे सकिएको वडाध्यक्ष तारानरेश पौडेलले जानकारी दिए । एउटा घर सर्भे गर्दा एक घण्टा भन्दा बढि लाग्ने गरेको र दिनमा ८ वटा भन्दा बढि घरधुरीको सर्भे गर्न प्राविधिक नमान्ने गरेको उनको गुनासो छ ।

छुट तथा पुनः जाँच सर्वेक्षणमा वडाको तर्फबाट पूर्ण सहयोग रहेपनि काममा ढिलाई भइरहेको भानु नगरपालिका–९ का वडाध्यक्ष निलमसञ्जिवा श्रेष्ठले बताए । सर्वे कार्यका लागि वडा सदस्यलाई प्राविधिकसँग खटाइएको र २ सय २९ गुनासो दर्ता भएकोमा ७७ घरधुरीको सर्भे सकिएको उनले जानकारी दिए ।

छुट तथा पुन जाँच सर्वेक्षणका लागि स्थानीय तहको पूर्ण सहयोग रहने तर प्राविधिककै ढिलासुस्तीले काममा ढिलाइ भए त्यसको मार जनतालाई पार्न नहुने भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले बताए । उनले भने, ‘१ दिनमा ८ वटा घरधुरीको सर्भे गरेर तोकिएकैै समयमा काम सम्पन्न गर्न गाह्रो छ । त्यस्तो भए त्यसको मार भूकम्प पीडितलाई दिन पाइँदैन ।’

छुटेकालाई प्राथमिकतामा राखेर छुट तथा पुन सर्वेक्षण गर्नुपर्ने र असार मसान्तभित्रै सक्नुपर्ने भएकाले चुनौती रहेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । असार मसान्तभित्र सर्वेक्षण गरी पहिलो किस्ता दिनुपर्ने भएकाले वडाध्यक्षले सक्रियता देखाइदिए निश्चित अवधिमा यो काम सकिने जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको भनाइ छ ।

तपाईको प्रतिक्रिया