सम्पादकीयः भागबन्डा होइन, योग्यता हेर

देशकै पहिलो त्रिभुवन विश्वविद्यालयमा फेरि राजनीतिक भागवण्डा सुरु भएको छ । सरकारमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र समाजवादी पार्टीले आफू अनुकूलका उपकुलपतिलगायत पदाधिकारी नियुक्ति गर्न चलखेल थालेका छन् । त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका व्यक्तिलाई उपकुलपति नियुक्ति गर्न जोडबल गरेका खबरहरु सार्वजनिक भइरहेका छन् । त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवं शिक्षामन्त्री अशोककुमार राईले जसपाको पनि पदाधिकारीमा भागवण्डा खोजेको सुनिएको छ ।
माओवादी केन्द्रले उपकुलपति लिए नेपाली कांग्रेसले रजिस्ट्रार लिने र कांग्रेसले उपकुलपति छाने माओवादी केन्द्रले रजिस्ट्रार लिने गरी तयारी भएको सार्वजनि भएको छ । बाँकी पदमा सरकार आबद्ध अन्य दलबीच सहमति गर्ने तयारी भएको छ । बर्सेनि विद्यार्थी घट्दै गएको, गुणस्तरी खस्किँदै गएकोप्रति कसैको चिन्ता छैन । कतिपय विभागहरु नै बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन् भने पछि आएका अरु विश्वविद्यालयहहरु पनि पुरानो त्रिविकै रोग सरेको छ ।
त्रिविमा रजिस्ट्रारको पदावधि पुस ९ गते सकिँदै छ । रजिस्ट्रारको पदावधि सकिएपछि यहाँ उपकुलपति, रेक्टर, रजिस्टार र त्रि.वि. सेवा आयोगको एक जना सदस्यको पद रिक्त हुन्छ । विश्वविद्यालयमा राजनीतिक भागवण्डा गर्न नहुने अहिले आवाज उठिरहेको छ । उपकुलपतिको पदावधि सकिएपछि तीन महिने उपकुलपतिको बागडोर सम्हालेका प्राडा शिवलाल भुसालले पनि उपकुलपतिमा इच्छा जाहेर गरेका छन् । माओवादी कोटाबाट रेक्टर भएका उपकुलपति प्राडा भुसाल आफू पूर्ण कार्यकालका लागि उपकुलपति हुनुपर्ने अडानमा छन् । फेरि भागवण्डाबाट पदाधिकारी नियुक्ति गर्दा झनै समस्या देखिने प्रायः निश्चित छ । यसअघिका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको कार्यकाल कात्तिक १८ मा सकिएको थियो ।
प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले कार्तिक १९ गते सर्च कमिटी गठन गरेका थिए । भागवण्डाको विषयमा कुरा नमिल्दा सर्च कमिटीको बैठक बस्न सकेको छैन । सहकुलपति एवं शिक्षामन्त्री राईको अध्यक्षतामा बनेको सर्च कमिटीमा शिक्षा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा चन्द्रकला सदस्य छन् । राजनीतिक भागवण्डामा उपकुलपतिसहितको पदाधिकारी नियुक्ति हुने भएपछि उपकुलपति र पदाधिकारीको दौडमा रहेका आकांक्षीहरु शक्ति केन्द्र धाउन थालेका छन् ।
त्रिवि सुधार गर्न कस्सिएका शिक्षाविद् र पूर्वउपकुलपतिसहितका पदाधिकारीले राजनीतिक भागवण्डाभन्दा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति हुनुपर्नेमा जोड दिएका छन् । त्यसो भएमा त्रिविको साख जोगिने देखिन्छ । कुलपतिले विवेक पुर्याउने हो भने खुला प्रतिस्पर्धाबाटै उपकुलपतिसहितका पदाधिकारी नियुक्ति गर्नु उचित हुन्छ । अन्यथा राजनीतिले गाँजेको त्रिविमा पुरानै पद्धतिबाट पदाधिकारी नियुक्ति गरे फेरि यहाँ राजनीति बोलवाला हुनेछ । भागबन्डाबाट आएका पदाधिकारी नियुक्ति गर्नेहरुको स्वार्थ र आफ्नो स्वार्थ पूरा गर्नमै तल्लीन हुनेछन् । त्रिविको सुधार, शैक्षिक क्यालेन्डर पालना र अरु समस्याको समाधान सधैं ओझेलमा पर्ने छ ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया