धम्पुस–लाचोक सडक चाँडै कालोपत्र गर्छाैंः जुग्जाली

समाधान संवाददाता २०८० पुष ८ गते १२:१७

पोखरा ।
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित धम्पुस ल्वाङ लाहाचोक सडक कालोपत्र गर्न यसै वर्ष ठेक्का लगाउने तयारी भएको जनाएका छन् ।

Advertisement


नेकपा माओवादी केन्द्रको म्याग्दी–पोखरा सम्पर्क समितिले शनिबार कास्कीको धुम्पुसमा आयोजना गरेको कार्यक्रममा मन्त्री जुग्जालीले मध्य पहाडी लोकमार्गको हेम्जा फेदीदेखि धम्पुस ल्वाङ हुँदै माछापुच्छ्रे गाउँपालिकाको केन्द्र लाहाचोक जोड्ने १९ किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति गर्न लागिएको जानकारी दिए ।


‘भौतिक मन्त्रालय अन्र्तगतको आरसिआइपी परियोजनामार्फत धम्पुस लाचोक सडक कालोपत्र गर्न यसै आर्थिक वर्षभित्र ६१ करोड बराबरको ठेक्का लगाउछौं,’ उनले भने, ‘आयोजना कार्यान्वयनमा स्थानीय समुदाय र जनप्रतिनिधिबाट सहयोग तथा सहजीकरणको वातावरण हुनेछ ।’


नेकपा माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजकसमेत रहेका मन्त्री जुग्जालीले प्रदेश सरकारले पिछडिएका र दुर्गम क्षेत्रमा गुणस्तरीय यातायात सेवा उपलब्ध गराउन सडक र पुल निर्माणका आयोजनालाई प्राथमिकता दिएको सुनाए । यसअघि घाटामा चल्दै आएका सार्वजनिक संस्थानहरुले नाफा कमाउन थाल्नु अहिलेको सरकारको उपलब्धि भएको उनको भनाइ छ ।
पोखरामा रहेका म्याग्देलीहरुको दुःखमा जिल्लाबाट निर्वाचित जनप्रतिनिधिको हैसियतमा सधै सँगै रहने उनले जनाए ।


अन्नपूर्ण गाउँपालिका ७ का वडा अध्यक्षसमेत रहेका माओवादी केन्द्रका नेता बैकुण्ठ भण्डारीले फेदी धम्पुस ल्वाङ लाहाचोक सडक निर्माण कार्य छिटो अघि बढाउन मन्त्री जुग्जालीको ध्यानाकर्षण गराए । १९ किलोमिटरको यो सडक स्तरोन्नति भएमा स्थानीयका साथै पर्यटकलाई सहज हुने भण्डारीले उल्लेख गरे ।

Advertisement


नेकपा माओवादी केन्द्रको म्याग्दी पोखरा–सम्पर्क समिति अध्यक्ष लोकनाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सचिव बेलबहादुर परियार र उपाध्यक्ष ओमबहादुर पुनले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया