सम्पादकीयः पोखराको पृथक पहिचान

समाधान संवाददाता २०८० पुष १२ गते १२:०७

पोखरा महानगर र गण्डकी प्रदेश सरकार पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारीमा छन् । त्यसका लागि विज्ञसहितको समितिले आवश्यक पूर्वाधार यकीन गर्दै घोषणाको प्रक्रियाबारे अध्ययन गरिरहेको छ । अंग्रेजी नयाँ वर्ष सुरु हुँदै छ, यही बेला क्रिसमस पनि पर्छ । लामो बिदा पाउने विदेशीहरु क्रिसमसमा हिमाली क्षेत्रमा जाने अवस्था हुँदैन, शीतलहर चल्ने तराई क्षेत्रले पनि पाहुना आकर्षित गर्न सक्दैन । त्यसको विकल्प बन्न सक्छन् सुन्दर पहाडी क्षेत्रहरु । पर्यटन क्षेत्रमा अफ सिजन मानिने यो समयमा पाहुना निम्त्याउने काइदा बनेको छ सडक महोत्सव । विदेशीका स्थानीय संस्कृतिमा रमाउने पाहुनाहरु नेपालमै आफूहरुको नयाँ वर्ष भव्य रुपमा मनाउन पाउँदा थप आकर्षित हुने गरेका छन् । सडक महोत्सवमा सहभागी हुन र नयाँ वर्ष मनाउनकै लागि समेत विदेशीहरु आउन थालेका छन् । अंग्रेजी नयाँ वर्ष मनाउने पोखरा आउने नेपालीका संख्यासमेत उल्लेख्य छ ।

Advertisement


रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान)ले पोखराको लेकसाइडमा आयोजना गर्ने यो महोत्सव यसपालि २५ औं संस्करणमा आईपुगेको छ । पर्यटन प्रवर्धन्का लागि कोशेढुंगा बनेको यो महोत्सव पुस १२ देखि १६ गतेसम्म हुँदै छ । महोत्सवलाई पृथक बनाउन यसपालि सरोकारवालाको सुझावसमेत महोत्सवमा समेटिँदै छ । ‘सडकमै खाउँ, सडकमै रमाऔं’ भन्ने नाराका साथ चल्दै आएको यो महोत्सवले पोखराको पृथक पहिचानसमेत निर्माण गरेको छ । महोत्सवले विभिन्न जातजातिका संस्कृति, कला संरक्षण एवं सम्वर्धनमा समेत टेवा पु¥याउँदै आएको छ । सँगसँगै पर्यटन क्षेत्रलाई सक्रिय बनाउन सडक नाटक, सेल्फी फोटो बुथ, झाँकी प्रदर्शन, रात्रीकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगितासमेत हुँदै छन् ।


महोत्सवमा बालबालिकाहरुका लागि चित्रकला र साहसिक खेलकुदहरुको वृत्तचित्र प्रर्दशनका गरिँदै छ । आयोजकले करिब पाँच लाखले अवलोकन गर्ने अनुमान गरेको छ । ५ लाख पर्यटक आउँदा पोखरा र आसपासको पर्यटन एक प्रकारले चलायनमान हुनेछ । यसले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, समग्र आर्थिक विकास र समुन्नतिमा समेत टेवा पुर्‍याउँछ । देशमा भएको सशस्त्र द्वन्द्व होस् कि कोभिडको कहर यो महोत्सवले निरन्तरता पाएको छ । यो वर्ष नेपालमा उल्लेख्य विदेशी पर्यटक आएका छन् । विश्वव्यापी आर्थिक संकट, कोभिड महामारीको असरका बाबजुद यस्तो अवस्था सिर्जना हुनुलाई सन्तोषजनक मान्नुपर्दछ ।


सडक महोत्सव गर्न थालिएको २५ वर्ष पूरा भएको छ । समयको हिसाबले लक्का जवान भएको महोत्सवको अवधिले अब यसलाई केवल निरन्तरतामात्र दिनु उचित हुँदैन । विगतमा भएका महोत्सवहरुको समीक्षा गर्दै नयाँ संस्करणहरु परिमार्जन गर्दै लैजानुपर्छ । यसै पनि पोखरा उत्सव एवं महोत्सवहरुको सहर हो । भर्खरै राष्ट्रिय औद्योगिक व्यापार मेला सकिएको छ, लेखनाथ महोत्सव चल्दै छ । पोखरा महोत्सव चाँडै हुँदै छ । सडकमा महोत्सव हुनुले मात्र यसको विशिष्टता स्थापित हुँदैन । नयाँ पाहुनाका लागि यो पृथक होला, बारम्बार पोखरा आइरहने पर्यटकका लागि के दिन सकिन्छ भन्ने सोच्नु जरुरी छ । अफ सिजनमा हुने यो महोत्सवले पोखरा सबै सिजनका लागि भन्ने मान्यता स्थापित गर्नसमेत योगदान गर्नुपर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया