लेखनाथमा फल्न छाड्यो अनदी

लेखनाथ ।
केही वर्ष पहिला हरेक किसानको खेतमा हुने अनदी धान अहिले रोप्न छाडिएको छ । अरू धानभन्दा झन्डै आधा कम फल्ने भएकाले अनदीको खेती कम हुँदै गएको कृषि ज्ञान केन्द्र कास्कीले जनाएको छ ।
पोखरा ९ नयाँबजार निवासी सुनिता सिग्देलले पुस १५ मा अनदीको लट्टे (चाम्रे) खाने चामल किन्नका लागि बजारका एक दर्जन पसल डुल्नु परेको बताइन् । ‘हाम्रो समाजमा पुस १५ गतेदेखि दिन लामो हुँदै जान्छ भन्ने पहिलेदेखिको मान्यता छ । पुस १५ लामो रात हुने भएकाले रातमा भोक नलागोस् भनेर बेलुका अनदीको लट्टेमा घीउ र खुदो हालेर खाने प्रचलन रहिआएको छ,’ उनी भन्छिन् ।
विशेषगरी पुस १५ मा लट्टे खानका लागि प्रायः किसानले आफ्नै खेतमा अनदीको खेती गर्दै आए पनि पछिल्ला वर्ष यस्तो धान लगाउनेको सङ्ख्या कम हुँदै गएको केन्द्रका प्रमुख किरण सिग्देलले बताए । केही वर्षदेखि अनदीको उत्पादन घटेसँगै अन्य चामलको तुलनामा यसको मूल्य ३ गुणा बढी रकम तिर्न उपभोक्ता बाध्य छन् । पोखरेली बजारमा अनदीको चामल प्रतिकेजी ३ सयसम्म बिक्री हुने गरेको छ ।
अरू धानभन्दा झन्डै आधा कम फल्ने भएकाले अनदीधानको उत्पादन घट्दै गएको सिग्देलले बताए । यस कारण किसान अनदी खेतीप्रति आकर्षित नभएका उनको भनाइ छ ।
‘चाडपर्वमा मात्र बिक्री हुने भएकाले यहाँका किसानले नगन्य मात्रामा धान रोप्ने गरेका छन्’, प्रमुख सिग्देलले भने, ‘व्यावसायिक रूपमा केही मात्रामा बेगनास, रुपा र मादीबेँसी फाँटमा यो धान लगाइने गरिएको छ ।’
जिल्लामा अनदी धान कति मात्रामा उत्पादन हुन्छ भन्ने तथ्यांक भने कुनै पनि सरकारी तथा गैरसरकारी कार्यालयसँग छैन
जिल्लामा अनदी धान कति मात्रामा उत्पादन हुन्छ भन्ने तथ्यांक भने कुनै पनि सरकारी तथा गैरसरकारी कार्यालयसँग छैन । बेगनास, रुपा, मादी, अन्नपूर्ण गाउँपालिकामा बढी मात्रामा रातो अनदी लगाइने केन्द्रको भनाइ छ ।
रुपा गाउँपालिकाका किसान विश्वनाथ ढकालका अनुसार रुपा र मादी गाउँपालिकाको किमबेँसी, तालबेँसी, मकैखोला, मादीबेँसी, माझठाना, बेगनासफाँट र आर्वाफाँटमा यो धान उत्पादन हुने गरेको छ । अनदीलाई मल धेरै हाल्न नपर्ने, धेरै पानी र रासायनिक मल आवश्यक नपर्ने उनी बताउँछन् ।
खेती गर्न सहज भए पनि चाडपर्वबाहेक अन्य समयमा माग कम हुने भएकाले यसखेतीप्रति आकर्षण घटेको ढकालले जनाए । उत्पादन कम भएसँगै हरेक वर्ष चामलको अभाव हुँदै गएको उनको भनाइ छ ।
‘अनदीको धान लगाउने क्रम बर्सेनी घट्दै गएको छ । उन्नत जातको धान प्रतिहेक्टर ६ टनसम्म फल्ने भए पनि अनदी मुस्किलले दुई टनमात्रै फल्ने भएकाले व्यावसायिक प्रयोजनका लागि यो धान लगाउन छाडेका छन्’, ढकालले भने । पोखरामा लट्टेका लागि रातो अनदी बढी प्रयोग हुने छ ।
अनदी एक प्रकारको मोटो चामल हो । नेपालमा रातो र सेतो अनदीको चामल प्रयोग हुन्छ । गुलियो भात, चाम्रे अथवा लट्टे, दूधमा बनाएको खीर, भुटेको खट्टे, पुवा, सेल रोटी बनाउन अनदी चामलको प्रयोग हुने कृषि क्षेत्रमा काम गर्दै आएको संस्था लीवर्ड पोखराका वरिष्ठ कृषि प्राविधिक बुद्धि थापाले बताए ।
‘अनदी चामलमा थोरै एमाइलोज धेरै एमाइलो–पेक्टिन भएकाले यसको भात टाँसिने वा च्यापच्याप लाग्ने हुन्छ । पहेँलो वा सेतो भनिने अनदी चामल झुसिलो मिठो र शरीर जोसिलो बनाउने प्रकृतिको हुन्छ । यसको मुख्य गुण यसले शरीरको आन्तरिक अंगहरूलाई तन्दुरुस्त राख्न चाहिने चिल्लो पदार्थ भरपूर मात्रामा हुन्छ,’ उनी भन्छन् ।
अनदीको चामलबाट बनेका परिकारले कब्जियत पैदा गर्ने सम्भावना बढी हुने भएकाले घीउ वा खुदो राखेर सेवन गर्न थापाले सुझाव दिए । ‘अनदी स्थानीय बाली भएकाले हावापानी अनुकूल हुनाका साथै सुक्खा, खडेरी, अनावृष्टि तथा अतिवृष्टि, रोगकिराको संक्रमण पनि सहन सक्ने हुन्छ’, उनले भने ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया