सम्पादकीयः पोखराका मुद्दा र सर्वदलीय बैठक

समाधान संवाददाता २०८० पुष १६ गते ११:५१

पोखराका जल्दाबल्दा विषयमा महानगरपालिकाका मेयर धनराज आचार्यले यहाँ प्रमुख दलहरुसँग शनिबार बैठक गरे । महानगरपालिकाका संवेदनशील मुद्दाहरुमा सर्वदलीय राय, सुझाव लिएर अघि बढ्नु आफैमा स्वागतयोग्य काम हो । त्यसो त आचार्य निर्वाचित भएलगत्तैदेखि दलहरुको सुझाव लिएर पोखरालाई कसरी अघि बढाउने भनेर खाका नै तयार गरेको भए झन् राम्रो हुने थियो । पोखराका जल्दाबल्दा विषय धेरै छन्, हाला कि शनिबारको बैठकमा ६ वटा एजेन्डा रहे । पोखराको सहरीकरण र बढ्दै गएको अव्यवस्थितपन ठूलो विषय हो, जुन सर्वदलीय बैठकको विषय थिए । तात्कालिक र ताता विषयमा बैठक केन्द्रित भएको हुनुपर्छ । सहरीकरणको विषय दीर्घकालीन भएको हुँदा त्यसका लागि बृहत् छलफल र विज्ञहरुको राय आवश्यक हुन्छ ।

Advertisement


प्रमुख मुद्दाका रुपमा रहेको फेवाताल संरक्षण, मादण्ड कार्यान्वयन र सिमसार जोगाउने कुरामा सबै दलको एउटै धारणा भएको हुनुपर्छ । तर मापदण्ड कार्यान्वयन गर्न आवश्यक रकमको जोहोका लागि भने संघ सरकारले सघाउनुपर्छ । मापदण्ड कार्यान्वयनले कतिपयलाई पर्न जाने अप्ठेरो र अन्यायका विषयमा महानगरपालिकाले संवेदनशील तरिकाले व्यवहार गर्नुपर्छ । पुख्र्याैली सम्पतिका रुपमा रहेको जग्गा जमिन फेवातालको मापदण्डमा परेपछि हुने क्षतिको उचित मुआब्जा दिनुपर्छ, राहत पनि दिनुपर्छ । फेवातालकै जग्गा मिचेकाहरुको र दूषित दर्ता गरेकाहरुको खारेज हुनुपर्छ । सिमसार संरक्षण नगर्ने हो भने फेवाताल पनि संरक्षण हुँदैन तसर्थ सिमसारमा बढ्दै गएको आवासमाथि महानगरपालिकाले नियन्त्रण गर्नुपर्छ ।


फिर्केखोलाको खोलाघरको अध्ययन महानगरपालिकाले गरिसकेको छ । यसबिच अदालतमा परेको मुद्दाका कारण महानगरपालिका अघि बढ्न पाएको छैन । अदालतको फैसला वा अन्तिम आदेश छिटो आउनुपर्छ, त्यसतर्फ ढिलाइ नगर्ने दायित्व न्यायपालिकाको हो । र आइसकेपछि खोलाको अतिक्रमण हटाउन महानगरपालिकाले खुट्टा कमाउनु हुँदैन । सबै दलहरुले उसलाई साथ दिनुपर्छ । सडकका सालिकको प्रसंगमा नेपाली कांग्रेसको अरुको भन्दा फरक मत सर्वदलीय बैठकमा देखियो, जुन पोखराको सहरी यातायात प्रणालीका लागि सकारात्मक कुरा होइन । हो, संसारका धेरै देशका सडकमा पनि सालिक छन्, तर ती फराकिलो सडकमा छन् ।

हाम्रो पोखरा सानो सहर हो, जहाँ साँघुरा सडक र चोक छन् । त्यहाँ सालिकको राजनीति गरेर यातायात प्रणालीलाई कमजोर बनाउनु हुँदैन । बिना भेदभाव सबै सालिकहरु सालिक पार्कमा लगेर व्यवस्थापन गर्ने र सबैलाई उचित सम्मान दिने काम गर्नु नै बुद्धिमत्ता निर्णय हुन्छ । मेरो समुदायको, मेरो पार्टीको वा मेरो आस्थाको भन्ने नाममा सालिक सडकमै राखिनुपर्छ र हटाउनु हुन्न भन्ने गर्दा सडक यातायात प्रभावित हुन्छ भन्ने सबैले विचार गर्नुपर्छ । एउटाको हटाएर अर्काे राख्ने जस्तो पूर्वाग्रही काम पनि हुनु हुँदैन । पोखराका समसामयिक विषयमा सबै दलको मतो मिल्यो भने नै सहरीकरण व्यवस्थित हुँदै जान्छ । यस विषयमा कसैले पनि भोटको राजनीति गर्नु हुँदैन ।

Advertisement

तपाईको प्रतिक्रिया