बाँचे भेट, मरे त यत्तिकै…

समाधान संवाददाता २०८० पुष १९ गते ११:३२

पोखरा ।
नेपाली सेनाको जागिर छाडेर रुसी सेनामा भर्ती भएपछि स्याङ्जा वालिङ नगरपालिका १४ का २३ वर्षीय हरि अर्यालले आफ्नो फेस्बुकमा एउटा भिडिओ पोष्ट गर्दै लेखेका थिए—‘यस्तै छ जिन्दगी, बाँचे भेट, मरे त यत्तिकै ।’


सामाजिक सञ्जालमा निकै सक्रिय हरिले त्यस दिन रुसी सेनाको साथमा युक्रेनविरुद्ध युद्धका लागि हिँडेको संकेत गरेका थिए । युद्धमा प्रयोग हुने गाडीमाथि बसेर हरि युक्रेनविरुद्धको युद्धमा प्रतिकारमा होमिन हिँडेको प्रष्ट थियो । फेसबुकमा लेखिएको त्यो स्टाटस लेखिएको दुई महिना भयो । तर, यो अवधिमै हरि युद्धमा मारिएका छन् ।


उनको परिवारले कुशको शव बनाएर सतगत गरिसकेको छ । युद्धको चपेटामा हरिले ज्यान गुमाएको पराराष्ट्र मन्त्रालयले जनाएको हो । उनको परिवारले हरिको शव नेपाल ल्याइदिन सरकारसँग बिलौना गरेको छ । हरिको शव ल्याइदिन सरकारकै मात्र आशा बाँकी रहेको आफन्ती बद्री अर्यालले सुनाए । ‘लडाइँमा परेर मृत्यु भएको खबर आएपछि बुधबार नै कुशको प्रतिमा बनाएर दाहसंस्कार ग¥यौं । अब शव चाहन्छौं,’ बद्रीले भने ।

Advertisement


२३ वर्षीय अर्याल गएको कात्तिक ३ गते भिजिट भिसामा युएइ हुँदै रुस पुगेका थिए । ३ वर्षअघि नेपाली सेनामा भर्ती भएका उनी जागिर छाडेर रुस हान्निएका थिए । ‘ठूलो देशमा धेरै पैसा कमाउने आशमा त्यहाँ पुग्यो । तर, अहिले न आशा अनुसारको परिवारलाई सहयोग भयो, न सास नै बाँच्यो,’ बद्रीले भने । नेपाली सेनाको जागिरमा असन्तुष्ट बनेका उनले बहराइन, साउथ अफ्रिका, क्बुवामा जाने प्रयास नगरेका होइन ।


तर, त्यहाँ भिसा नआएपछि उनको गन्तव्य रुस बनेको थियो । ‘डेढ वर्ष उनी एजेन्टकहाँ धाउँदै रुमल्लिए । जहाँ राम्रो कमाइ हुन्छ, त्यही जाने योजनामा भन्दा भन्दै कताकता रुस पुगेछ,’ उनले भने ।

Advertisement


मासिक ५ लाखसम्म कमाइने आशा दिएर रुस पुर्‍याइएपछि हरि रुसी सेनामा भर्ती हुन पुगेका थिए । रुस सरकारले १ वर्ष सेनामा भर्ती भए, पिआर दिने भए प्रावधानका कारण सुनौलो भविव्य सम्झदै युद्धमा होमिने निर्णय हरिले गरेको गरेका बद्रीले बताए । ‘प्रोसेस गरेको १५ दिनमै भिसा आयो । तर, गएर एक रुपैयाँ घर पठाउन पाएन । २ महिना नपुग्दै सम्पर्क टुट्यो,’ बद्रीले भने ।


नेपालबाट रुस जान हरिले ७ लाख बुझाएका थिए । ‘जसले रिक्स लिन्छ, त्यो अगाडि बढ्छ’, हरिको फेसबुकमा पोस्ट छ । यो स्टाटसबाट उनी १ वर्ष दुख गरेर पिआर लिन चाहन्थे । बद्रीका अनुसार हरिमात्र होइन, उनीसँग अन्य ५ जना पनिसँग रुस पुगेका थिए । उनीहरु को थिए, बद्रीलाई थाहा छैन । योभन्दा पहिले स्याङ्जाकै पुतलीबजार नगरपालिका ५ का प्रितम कार्कीको पनि रुस–युक्रेनको युद्धमा मृत्यु भइसकेको छ । कार्कीले १६ वर्षे सेवापछि नेपाली सेनाबाट अवकाश लिएर रुसको बाटो रोजेका थिए ।

१० नेपालीको मृत्यु भएको पुष्टि
मंगलबार रुसी सेनामा कार्यरत थप ३ नेपाली नागरिकको मृत्यु भएको छ । रुस–युक्रेन युद्धमा थप ३ जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको हो । यसअघि रुसी सेनामा कार्यरत ७ जना नेपालीको ज्यान गइसकेको छ ।


मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले राहदानी नं १२२९९८९१ वाहक स्याङ्जाका हरिप्रसाद अर्याल, राहदानी नं ११०२७१७५ वाहक कैलालीका भरबहादुर शाह र राहदानी नं ०७५७३७३८ वाहक धादिङका राजकुमार गिरीको निधन भएको जानकारी प्राप्त भएको उल्लेख गरे ।


यसअघि रुसी सेनामा कार्यरत गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगंगा१ का रुपक कार्की, पोखराका देवान राई, पुतलीबजार ५ स्याङ्जाका पितम कार्की, मेलुङ ६ दोलखाका राजकुमार रोका, इलाम ५ इलामका गंगाराज मोक्तान र कुन्दन सिंह नागलको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया