पृथ्वीराजमार्गका बस टिकट अनलाइनमा

समाधान संवाददाता २०८० पुष १९ गते १२:१२

पोखरा ।
देशकै अग्रणी यातायात संस्था पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि पूर्ण अटोमेसनमा गएको छ । यातायात क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरीय सेवा दिनका लागि पृथ्वी यातायात पूर्ण अटोमेसनमा गएको हो ।


अब पृथ्वी यातायातका सवारी साधनबाट कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट काट्न सकिनेछ । पूर्ण रूपमा कम्प्युटराइज प्रणालीमा रूपान्तरण गरिएसँगै अबदेखि संस्थाको कार्यालय सञ्चालन, चलानी, अभिलेखन लगायतका सबै कार्य सफ्टवेयरमार्फत नियन्त्रण हुनेछन् ।


कम्पनीले नेपालको एकमात्र टिकटिङ सेवा प्रदान गर्दै आएको बससेवा डटकमसँगको सहकार्यमा संस्थालाई पूर्ण अटोमेसनमा लगेको हो । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पृथ्वी राजमार्गका अध्यक्ष योगेन्द्रबहादुर केसीले अबदेखि यात्रुले पृथ्वी यातायातका एसी, डिलक्स्, हायस लगायका सबै किसिमका गाडीको टिकट अनलाइनमार्फत काट्न सक्ने जनाए ।

Advertisement


यात्रुले पृथ्वी यातायातको पृथ्वी बस डटकम डट एनपी, पृथ्वी यातायातको मोबाइल एप्लीकेसन तथा बस सेवा डटकम, बस सेवाको मोबाइल एप्लिकेसनमार्फत सहजै टिकट काट्न सकिनेछ । ‘अहिले नेपालका धेरै क्षेत्रमा प्रविधिको प्रयोग भएको छ र सहजता पनि ल्याएको छ । हामी पनि समय र आम यात्रुको माग अनुसार प्रविधिको प्रयोग गरेर सेवा प्रदान गर्नुपर्छ भन्ने उदेश्यले प्रविधिको आत्मसाथ गरेका छौँ । हामीलाई विश्वास छ, यसले हाम्रो सेवालाई थप प्रभावकारी र विश्वसनिय बनाउनेछ,’ उनले भने, ‘राज्य सरकारले पनि प्रविधिको प्रयोगका लागि आवश्यक नीति नियम बनाइ प्रोत्साहन गर्न आग्रह गर्दछौँ ।’


कार्यक्रममा बससेवा डटकमका प्रमुख कार्यकारी पिआर खनालले यातायात क्षेत्रमा प्रविधिको प्रयोग गरेर यस क्षेत्रलाई थप व्यवस्थित बनाउँदै यात्रुहरुलाई सुविधा दिनुपर्ने जनाए । ५० वर्षदेखि सेवा दिँदै आएको पृथ्वी यातायातले नेपालका प्रमुख सहर काठमाडौं, बुटवल, हेटौंडादेखि पूर्वका काकडभित्तादेखि सुदुर पश्चिमका धनगढीसम्म ३० भन्दा बढी सहरमा सेवा दिँदै आएको छ ।

Advertisement


कम्पनीले ४ सय भन्दा धेरै रुटबाट करिब १ हजार ३ सय बसमार्फत सेवा दिँदै आएको छ । पृृथ्वी यातायातबाट दैनिक ८ हजारभन्दा बढी यात्रुले यात्रा गर्न सक्छन् । बस सेवा डटकमले नेपालका ६२ जिल्लामा सेवा दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया