डिजिटाइजेसन बुझ्न बागमतीका यातायात मन्त्री पोखरामा

समाधान संवाददाता २०८० पुष १९ गते १३:०१

पोखरा ।
यातायात व्यवस्था कार्यालय कास्कीमा सवारी साधनको विद्युतीय अभिलेखीकरण गरिएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सेवा प्रवाह सुधारका लागि यातायात कार्यालयलाई फाइल र ढड्डामुक्त बनाउने लक्ष्यसहित यसको सुरुआत गरेको हो ।

Advertisement


यातायात कार्यालयमा सफ्टवेयरको विकास गरेर सुरुआतमा परीक्षणका रुपमा विद्युतीय अभिलेखीकरण गरिएको हो । अभिलेखीकरणपछि फाइल र ढड्डा खोज्दा समयको बचत, जनशक्तिलाई कामको भार कम र कार्यालय व्यवस्थित बनेको छ । गण्डकीमा यातायात मन्त्रालयले सुरु गरेको अन्य सुधारका कार्यका बारेमा मंगलबार बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयको टोलीले पोखरामा जानकारी लिएको छ ।


बागमतीका यातायातमन्त्री लक्ष्मण लम्साल, मन्त्रालयका सचिव बलराम निरौला, यातायात महाशाखा तथा यातायात कार्यालयका प्रमुखसहितको टोलीले गण्डकीमा यातायात क्षेत्रको सुधारका लागि चालिएका कदमका बारेमा जानकारी लिएको हो ।

गण्डकीको यातायात मन्त्रालयले यातायात कार्यालयका सेवालाई सवारी कर अनलाइनबाटनै भुक्तानीको व्यवस्था, यातायात कार्यालय बिहान आठ बजेदेखि सञ्चालन तथा पोखरा उपत्यकामा मिटरमा ट्याक्सीलाई अनिवार्य गर्ने लगायतका सुधारका काम थालेको छ ।


मन्त्रालयमा भएको छलफलमा गण्डकीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले यातायात कार्यालयको सेवा प्रवाह सुधारका लागि गरिएका कामका बारेमा जानकारी गराए । उनले प्रदेशमा परीक्षणका रुपमा यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा रहेका पुराना सबै फाइल र ढड्डालाई विस्थापित गरी विद्युुतीय अभिलेखीकरण गरिएको र यसबाट सेवाग्राहीले झन्झटरहित रुपमा छिटो सेवा पाएको सुनाए ।

Advertisement
सवारी साधनको विवरणलाई विद्युतीय अभिलेख राख्ने कार्यलाई प्रदेशका अन्य जिल्लामा विस्तारको योजना रहेको मन्त्री जुग्जालीले जानकारी दिएका थिए । ‘ठूलो संख्यामा रहेका ढड्डा र फाइलका कारण चाहिएको बेलामा फेला पार्न नसकिने, च्यातिने तथा हराउने समस्या थियो । अहिले सबै फाइललाई स्क्यानिङ गरी कम्प्युटरमा राख्ने काम कास्कीको यातायात कार्यालयबाट थालनी गरेका छौँ’, उनी भन्छन्, ‘यसबाट कार्यालयको सेवा छिटो र चुस्त भएको छ । सेवाग्राहीको समय बचत भएको छ ।’

छलफलमा यातायात क्षेत्रको सुधारका लागि २ प्रदेशले संयुक्त रुपमा गर्न सकिने कामका बारेमा समेत छलफल भएको थियो । बागमतीका यातायातमन्त्री लम्सालले यातायातका फाइल ‘डिजिट लाइज’ गर्ने कार्यलाई बागमतीले प्राथमिकतामा राखेको उल्लेख गरे । गण्डकीको अनुभव र यसका लागि गरिएका प्रक्रियालाई अनुशरण गरी आफ्नो प्रदेशमा कार्यान्वयन गर्ने योजना रहेको उनले सुनाए ।  

बागमतीको टोलीले कास्कीको यातायात व्यवस्था कार्यालय सवारी र सवारी चालक अनुमतिपत्र दुवै कार्यालय, ट्रायल सेन्टर लगायतको अवलोकन गरी जानकारी लिएको थियो । सो अवसरमा यातायात व्यवस्था कार्यालय कास्कीका प्रमुख डिल्ली रिजालले यातायातका फाइल विद्युतीय अभिलेखीकरण प्रक्रियाका बारेमा जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया