सम्पादकीयः थप हवाई रुट आवश्यक

समाधान संवाददाता २०८० पुष २० गते ११:४९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारतको नयाँ दिल्ली भ्रमणमा नेपाललाई थप हवाई मार्ग (रुट)उपलब्ध गराउने विषयमा छलफल भएको थियो । सो क्रममा दुई पक्षीय उडानहरूका लागि थप हवाई रुट उपलब्ध गराउन भारतले राखेको प्रस्तावमा प्रधामन्त्री प्रचण्डले स्वागत समेत गरेका थिए । सो भ्रमणको समीक्षासहितका विषयमा छलफल गर्न भारतीय विदेशमन्त्री एस जयशंकर नेपालको भ्रमणमा आएका छन् । विगतमा दुई पक्षीय छलफलले ठोस परिणाम निकाल्न नसकेको अवस्थामा उनको भ्रमण नेपालको लागि फलदायी हुने नहुने भन्नेमा एकिन छैन ।

Advertisement


भारतीय विदेशमन्त्री जयशंकर नेपाल भ्रमणमा आउनु साता दिनअघि मात्रै हिमालय एअरलाइन्सले काठमाडौबाट ल्हासामा नियमित उडान थालेको छ । ल्हासामा नियमित उडान गर्न अनुमति पाएको पहिलो गैर चिनियाँ विमान सेवा कम्पनी हो । सो एयरलाइन्सले पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न इच्छा देखाएको छ । त्यस विषयमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, विमान कम्पनीका अध्यक्ष झाओ एनयोङ र पोखराका पर्यटन व्यवसायी बीच सकारात्मक छलफल समेत भएको छ ।


नेपालका क्षेत्रीय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि समेत सहजीकरण गरिदिन नेपालले बारम्बार अनुरोध गर्दै आएको छ । नेपालको अनुरोधको जवाफमा भारतले दुई देशका नागरिक उड्डयन निकायहरूको बैठक गरेर निर्णय लिनुपर्ने प्रस्ताव गरेको थियो । त्यो कार्यान्वयनका लागि पर्यटन मन्त्रालय हुँदै प्राधिकरणमा आयो । भारतीय पक्षलाई नेपालले चिठ्ठी लेख्दा जवाफ समेत आएको छैन । नेपाल भारत सम्बन्धका समग्र पक्षहरूबारे छलफल हुने नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन भारतीय विदेशमन्त्री जयशंकर नेपालमा आइपुग्न लाग्दा थप हवाई रुटको विषय खासै चर्चामा छैन ।


सन २०११मा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईदेखि नेपाली प्रधानमन्त्री सुशील कोइरालाले पनि थप हवाई रुट भारतले उपलब्ध गराउनुपर्ने माग राख्दै आएको पाइन्छ । नेपाली आकाशमाथिको भारतको नियन्त्रण खुकुलो नहुँदा नेपाल ‘भूपरिवेष्टित’ मात्रै नभएर आकाशमा पनि नियन्त्रण खेपिरहेको ‘स्काइलक्ड’ मुलुक पनि भएको छ ।


सन् २०११ यताको अवधिमा नेपालले चिनियाँ ऋण सहयोगमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको छ । चिनियाँ एक्जिम बंैकबाट २८ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएर विमानस्थल निर्माण गरिएको हो । त्यसको ब्याज तिर्ने समय सुरु हुन लागिरहँदा एकाध चार्टर बाहेक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पोखरा विमानस्थलमा भारतबाट वा भारततर्फको उडान सुरु हुन सकेको छैन । तर हालैका वर्षमा नेपालसँग उड्डयन क्षेत्रमा सहकार्य बढाउने नीति चीनले लिएको देखिन्छ ।

Advertisement


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत वर्ष जनवरी १ (पुस १७ )गते प्रधानमन्त्री दाहालले उद्घाटन गरेको विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि सम्बन्धित मन्त्री र प्रधानमन्त्रीले कूटनीतिक प्रयास गर्नुपर्ने हुन्छ । नेपाली नेतृत्वले थप हवाई रुटको विषयमा भारतसँग गम्भीर छलफल गर्नु पर्छ ।

तपाईको प्रतिक्रिया