फराकिला सडकमै धेरै दुर्घटना

समाधान संवाददाता २०८० पुष २२ गते १०:३९
क्याप्सनः पोखरा बागलुङ रागमार्गको पोखरा ४ र ५ जोड्ने फिर्केखोलाको पुल । यहाँ सडक ४ लेनको छ भने पुल २ लेनको मात्र छ ।

पोखरा ।
सडक फराकिला र व्यवस्थित भए दुर्घटना कम हुन्छन्, क्षति पनि कम हुन्छ । तर कास्कीमा भने फराकिला र व्यवस्थित सडकमै ठूला दुर्घटना बढेका छन् । गण्डकी प्रदेशको राजधानीसमेत रहेको कास्कीलाई नेपालका चार राजमार्गले छोएका छन् । ठूला र राम्रा राजमार्गमै दुर्घटना बढ्दै गएपछि सरोकारवाला चिन्तित छन् ।

Advertisement


पुस पहिलो साता पोखरा महानगरमा सडक दुर्घटनामा चार जनाको ज्यान गयो । पोखरा ५ मा पर्ने पोखरा बागलुङ राजमार्गमा अघिल्लो सोमबार भएको दुर्घटनामा दुई जनाको ज्यान गयो । त्यसको केही दिनअघि पोखरा–२६, लेखनाथमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको थियो ।


पोखरा–बागलुङ राजमार्गको जिरो किमीदेखि हरिचोक खण्डमा मात्र साउनयता भएका सवारी दुर्घटनामा ६ जनाको ज्यान गएको छ । कास्कीमा २०७८/७९ मा ९८ ठूला दुर्घटना भएकोमा २०७९/८० मा १ सय १७ ठूला दुर्घटना भएको तथ्यांक छ । साना दुर्घटनाको सङ्ख्या निकै ठूलो छ ।


पोखरा महानगर र राजमार्ग क्षेत्रमा बढी दुर्घटना हुने गरेको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठक बताउँछन् । चालकको लापरवाही, उच्च गति, सडकको अवस्था जस्ता कारणले दुर्घटना बढी हुने गरेका छन् । ‘दुर्घटनाको मुख्य कारण तीव्र गति हो, चालकले मादक पदार्थ सेवन गर्दा पनि सवारी दुर्घटना बढेका छन्,’ उनले भने ।
राति बत्तिको उचित व्यवस्था नहुनु, यान्त्रिक गडबडी, सडकमै पार्किङ जस्ता कारणले समेत दुर्घटना बढाएका छन् । ठाउँ ठाउँमा अव्यवस्थित तवरले भएका सडक विस्तार, खानेपानी विस्तार पनि दुर्घटनाका कारक बनेका छन् ।

उच्च गति, मापसे, बाटोको अवस्था जस्ता कारणले दुर्घटना बढिरहँदा कास्की ट्राफिकमा जनशक्ति र उपकरणको कमी छ

Advertisement


पोखराका केही सडक चौडा छन् भने ती सडकमा रहेका केही पुल साँघुरा । पृथ्वीचोकमा छ लेनको सडक छ भने पुल दुई लेनको छ । पृथ्वी रागमार्ग र सिद्धार्थ राजमार्गको मिलन बिन्दु पृथ्वीचोकमै आकासे पुल छैन । ट्राफिक लाइट नभएको २ दशकपछि अहिले परीक्षणका क्रममा छ । पोखरा बागलुङ राजमार्गको जिरोकिमी हेमजा खण्ड ४ लेनको छ, फिर्केको पुल भने २ लेनको छ ।


ट्राफिक प्रहरीको संख्या निकै कम हुँदा पनि व्यवस्थापनमा समस्या भएको छ । कास्कीमा ट्राफिकको दरबन्दी २८ जना भए पनि काजमा ल्याएर करिब सय जना कार्यरत छन् । प्रदेश राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराका प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार शर्मा कास्कीका दरबन्दी थप गर्नैपर्ने अवस्था रहेको बताउँछन् ।


‘नेपाल प्रहरी आफैँले ओएनएम सर्भे गरेको छ । हामीले कास्कीमा प्रहरी नायब उपरीक्षकको कमान्डमा ट्राफिक दरबन्दी थप गर्न प्रहरी मुख्यालयलाई पत्रचार गरिसकेका छौं,’ उनले भने । देशकै ठूलो महानगरसमेत रहेको कास्कीमा ट्राफिक प्रहरीको कमान्ड प्रहरी निरीक्षकले गरिरहेका छन् । जिल्ला ट्राफिक कार्यालयलाई स्तरोन्नति गर्न कार्यालयले समेत माथिल्ला तहमा पत्राचार गरिसकेको छ । कास्कीको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन कमसेकम २ सयको दरबन्दी हुनुपर्ने पत्रमा उल्लेख छ ।


ट्राफिकबारे जनचेतनासहित पूर्वाधार र जनशक्ति बढाउनु जरुरी भएको ट्राफिक अभियन्ता शिवराज बस्ताकोटी उल्लेख गर्छन् । स्रोत, साधन र पूर्वाधार सम्पन्न बनाएर कास्कीलाई कमसेकम ३ सय ट्राफिक दरबन्दी चाहिने उनी बताउँछन् । ट्राफिक प्रहरीले उपकरण अभावसमेत झेलिरहेको छ । मापसे जाँचका लागि ‘फू गर्नाेस्’ भन्नुपर्ने वाध्यता छँदै छ । प्रदेशका ९२ ट्राफिकका युनिटमध्ये २ वटाको मात्र आफ्नै भवन छ । बस्ताकोटी भन्छन्, ‘मापसे गरी उच्च गतिमा चलाए पनि जाँच गर्ने जनशक्ति र उपकरण कम छन् । गल्ती गर्दा सजाय भोग्ने होइन कि उन्मुक्ति पाए ठूलो मान्छे भइन्छ भन्ने मानसिकता पनि छँदै छ ।’

तपाईको प्रतिक्रिया