राष्ट्रियसभा उम्मेदवारी दर्ता आज: गठबन्धनको पल्ला भारी

समाधान संवाददाता २०८० पुष २३ गते १०:३१

पोखरा ।
राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ११ गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता सोमबार हुँदै छ । कतिपय दले उम्मेदवार सिफारिस गरिसकेका छन् भने केहीको सोमबारमात्रै सार्वजनिक हुने छाँटकाँट छ ।

Advertisement


गण्डकी प्रदेशमा ३ सिटमा निर्वाचन हुँदै छ । अन्य, महिला र अपांगता/अल्पसंख्यकमा १/१ गरी ३ पद माघ २० गते रिक्त हुँदै छन् । राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिनासहित राष्ट्रियसभा सदस्यहरु दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल सकिन लागेको हो । अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट तथा पन्थ कांग्रेसबाट निर्वाचित भएका थिए ।


आसन्न राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेश सभा सदस्यहरु र यो प्रदेशका महानगरपालिका, नगरपालिका र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष उक्त निर्वाचनको मतदाता हुन्छ । प्रदेशमा कुल मतभार ६ हजार ४ सय १० छ ।


गण्डकी प्रदेशसभा ६० सदस्यीय हो । यो प्रदेशमा ८५ पालिका छन् । पालिकाहरुबाट १ सय ७० मतदाता छन् । प्रदेशसभातर्फ ३ हजार १ सय ८० र स्थानीय तहतर्फ ३ हजार २ सय ३० मतभार छ । प्रदेश सभा सदस्यको ५३ र स्थानीय तह प्रमुख÷उपप्रमुखको मतभार १९ हुन्छ । प्रदेशम कुल मतभार ६ हजार ४ सय १० छ ।


गण्डकीमा दलहरु एक्ला एक्लै चुनाव लड्ने हो भने कांग्रेस सबैभन्दा बलियो छ । प्रदेश सभामा कांग्रेसका २७ सदस्य छन् । स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरी ६७ जना छन् । यसरी कांग्रेसको मतभार २ हजार ७ सय ४ छ । नेकपा एमालेका २२ प्रदेश सभा सदस्य, पालिका प्रमुख ३५ र उपप्रमुख ३३ जना छन् । एमालेको मतभार २ हजार ४ सय ५८ हुन आउँछ । तीमध्ये ढोरपाटन नगरपालिकाका प्रमुख देवबहादुर नेपाली सरकारी ठगी आरोपमा पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन छन् ।

Advertisement

१४३१ प्रदेशमा माओवादीसँग ८ प्रदेशसभा सदस्य, पालिका प्रमुख ११ र उपप्रमुख १९ जना छन् । माओवादी केन्द्रसँग ९ सय ९४ मतभार देखिन्छ । प्रदेशमा एकीकृत समाजवादीका एक प्रदेशसभा सदस्य र १ नगर प्रमुख छन् । यहाँ समाजवादीसँग ७२ मतभार छ । प्रदेशसभामा प्रतिनिधित्व नरहेको राष्ट्रिय जनमोर्चाका पालिका प्रमुख २ र उपप्रमुख १ हुँदा मतभार ५७ छ । २ प्रदेशसभा सदस्य रहेको राप्रपाको १ सय ६ मतभार छ । मनाङको निस्याङ गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङले स्वतन्त्रबाट जितेका हुन् ।


अहिले सत्ता गठबन्धनमा रहेका दलहरु कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा मिल्दा गठबन्धनको मत ३ हजार आठ सय २७ हुन्छ । यसरी गठबन्धनकै साझा उम्मेदवार मैदानमा आएमा उनीहरु सबै विजयी हुने अंकगणित देखिन्छ ।


सत्ता गठबन्धनमा संयुक्त, एमालेको एकल उम्मेदवारी
राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सत्तारुढ गठबन्धनले सिट बाँडफाँट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोबार बसेको सत्तारुढ गठबन्धनको बैठकले संयुक्तरुपमा उम्मेदवारी दिने निर्णय गरेको बैठकमा सहभागी नेपाली कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।


प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले भने सातै प्रदेशका १९ वटै पदमा एकल उम्मेदवारी दिने निर्णय गरेको छ । एमालेले सबै पदका उम्मेदवारहरु छनोटसमेत गरिसकेको छ ।


सत्ता गठबन्धनमा नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र)ले ६, नेकपा (एकीकृत समाजवादी)ले २ र जनता समाजवादी पार्टी नेपालले १ सिटमा उम्मेदवारी दिने गरी सहमति भएको छ । बाँकी रहेको १ सिटमा भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ ।


एमाले र माओवादीले छाने उम्मेद्वार
गण्डकीमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले उम्मेद्वार छनोट गरेका छन् । एमालेले प्रदेशका ३ वटै पदमा एकल उम्मेद्ववारी दिने भएको छ । एमाले प्रदेश अध्यक्ष नवराज शर्माले अन्य क्लस्टरबाट चक्रबहादुर पराजुली, महिलाबाट सम्झना देवकोटा र अपांग अल्पसंख्यक क्लस्टरबाट हेमन्त शेरचनलाई उम्मेद्वार बनाउने निर्णय भएको जनाए ।


एमाले गण्डकी प्रदेश कमिटीले सबै क्लस्टरमा ३ जनाको दरले ९ जनाको नाम सिफारिस गरेको थियो । माओवादीबाट महिला क्लस्टरमा उम्मेद्वार बनेकी मनरुपा शर्मा पर्वतको कुस्मा नगरपालिका वडा नम्बर १० की बासिन्दा हुन् । सहिद परिवारकी सदस्य उनी माओवादी केन्द्र पर्वत संयोजक छिन् । उनका श्रीमान् विजय सुवेदीको माओवादी विद्रोहका क्रममा २०५९ मा स्याङ्जाको सिर्सेकोटको निधन भएको थियो । माओवादी प्रदेश कमिटी सदस्य उनी ०६४ मा संविधान सभा सदस्य उम्मेदवारसमेत बनेकी थिइन् ।


सत्ता गठबन्धनमा गण्डकीका बाँकी दुई स्थानमा नेपाली कांग्रेसले उम्मेदवारी दिने तय भएको छ । कांग्रेसले अन्य र अल्पसंख्यक तथा अपांग कोटाबाट उम्मेदवारी दिँदै छ । कांग्रेसबाट उम्मेदवार तय हुन बाँकी छ ।


कांग्रेस गण्डकीले पुस १० गते नै १ सय ७८ जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो । कांग्रेस गण्डकी प्रवक्ता माधव बास्तोला ‘मधु’ले अपाङ्गमा २८, अन्यमा १ सय ७ र महिलामा ४३ जनाको नाम सिफारिस भएको जानकारी दिए । पटक पटक अवसर पाएकालाई भन्दा अवसरै नपाएका र योग्यलाई उम्मेवार बनाउन अनुरोध गरिएको उनको भनाइ छ ।


सत्ता गठबन्धनसँग मिलेर उम्मेदवारी दिने प्रयास गरेको राप्रपाले त्यसो हुन नसकेपछि एकल उम्मेदवारी दिने भएको छ । राप्रपाले गण्डकीमा अन्यबाट रोमबहादुर भण्डारी र महिला क्लस्टरबाट गौमाया श्रेष्ठलाई उठाउने भएको छ । अल्पसंख्यक तथा अपांग कोटाका उम्मेदवार तय हुन बाँकी छ । प्रदेशसभामा राप्रपाका २ समानुपातिक सांसद छन् । सत्ता गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीले गण्डकीमा भाग पाएन ।

तपाईको प्रतिक्रिया