सम्पादकीयः चौडा सडकका दुर्घटना

बागलुङलाई मात्रै नभई साविक धौलागिरी क्षेत्रका जिल्लाहरुलाई पोखरासँग जोड्ने राजमार्ग पूर्वाधार र गुणस्तर तथा सुविधाका हिसाबले आकर्षक छ । पोखराको शून्य किलोमिटरदेखि हरिचोकसम्म ६ लेन फराकिलो यो सडकको हेमजा खण्ड पनि उत्तिकै चौडा छ । राजमार्ग हुनु स्तरीय पिच र चौडा हुनु हो । त्यो हिसाबले यहाँ निर्वाध र निश्चित गतिमा गाडी गुडाउन सजिलो छ । तर चौडा सडकको दुर्भाग्य के भने यही फराकिलो खण्डमा सर्वाधिक दुर्घटना भइरहेको छ ।
मानिसहरुले दुर्घटनामा ज्यान गुमाइरहेका छन् । झन् यो राजमार्गको पस्र्याङनजिकै फिर्केमा अत्यधिक दुर्घटना हुन्छ । किन पनि भने त्यहाँ पुल २ लेनको छ र बाटो भने ६ लेनको । फराकिलो सडकमा हुइँकिएर आउने गाडी २ लेनको पुलभित्रभन्दा बाहिर पर्न गइहाल्छन् । तर वर्षाैंदेखि पुल अलपत्र छ । निर्माण कम्पनी बेपत्ता छ । त्योभन्दा बढी बेपत्ता त त्यस्ता कम्पनीलाई कारबाही गर्नुपर्ने सरकार छ ।
कास्कीमा २०७९/८० मा १ सय १७ ठूला दुर्घटना भए । २०७८/७९ मा ९८ ठूला दुर्घटना भएकोमा झन् बढे । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले त्यसै भन्छ । यी दुर्घटनामध्ये ज्यानै जाने गरी भएका ठूला दुर्घटनास्थल भनेको तिनै फराकिला र चौडा राजमार्गहरु नै हुन् । पोखरा बागलुङ राजमार्ग वा पृथ्वीराजमार्ग दुवैतिर दुर्घटना धेरै भएका छन् । राजमार्गमा गति तीब्र हुनु एउटा कुरा तर नियन्त्रण नै नहुने गरी कुदाउनुचाहिँ लापरवाही नै हो । कतिपय खण्डमा त अर्काे दिशापट्टि पुगेरै समेत गाडी दुर्घटित हुनु भनेको नियन्त्रण गुमाउनु नै हो ।
राजमार्गमा पैदलयात्रु पनि उत्तिकै चनाखो हुनुपर्छ । तर अघिल्लो साता पोखरा बागलुङ राजमार्गमा रातिको बेला भएको दुर्घटनामा भने बटुवाहरु पनि बिच सडकमै फुक्काफाल हिँडिरहँदा दुर्घटना भयो । पैदलयात्रुले पनि चालकहरुले जत्तिकै सचेतना अपनाउनुपर्ने त्यो दुर्घटनाको शिक्षा हो । सडकमा भएका संकेतहरुको पालना पैदलयात्रुहरुको कर्तव्य हो ।
चालकहरुको पनि । फराकिलो सडक भन्दैमा अनियन्त्रित तवरको हकाँइचाहिँ हुनु हुँदैन । तर त्यस्तो धेरै देखिन्छ । राजमार्ग त भइहाले पोखराको मुख्यसडकमध्येको एक नयाँसडक (न्युरोड)मै थुप्रै त्यस्ता दृश्य दिनहुँ देखिन्छन्, जहाँ झन्डै सय किलोमिटर प्रतिघन्टाको गतिमा मोटरसाइकल कुदाउने प्रयास हुन्छ । छोटो दुरीका गाडीमा पनि सुदूरपूर्व वा पश्चिम पुग्ने हतारोमा झै हुइँकिन्छन् । गतिको नियन्त्रण नगर्दा जीवनको क्षति हुन्छ भन्ने मनन सबैले गर्नुपर्छ । तबमात्रै दुर्घटना कम हुन्छ ।
तपाईको प्रतिक्रिया