काम नहुँदा हेभी इक्विपमेन्ट थन्किए

पोखरा ।
पोखराका मेयर धनराज आचार्यले विकास, निर्माणका काम समयमै सम्पन्न गर्नको लागि महानगर दत्तचित्त रहेको बताएका छन् । ठेक्का लाग्ने तर समयमा काम सम्पन्न नहुनुमा निर्माण कम्पनीको पनि दोष रहेको उनको भनाइ छ ।
कास्की हेभी इक्विपमेन्ट व्यवसायी संघको आठौं साधारण सभामा उनले पोखराले महानगरले समयमै कामको भुक्तानी गर्ने प्रतिवद्धता पनि जनाए । मेयर आचार्य निर्माण व्यवसायीले समयमा भुक्तानी नपाउँदा, प्रक्रिया झन्झटिलो हुँदा तथा कतिपय अवस्थामा कर्मचारी रिझाउनैपर्ने अवस्था रहेको भन्ने व्यवसायीले उठाएको गुनासोको उत्तर दिँदै थिए ।
उनले भुक्तानीको लागि प्रक्रिया पु¥याउनुपर्नेमा जोड दिए । हेभी इक्विपमेन्ट व्यवसायीले गरेको ठूलो लगानीको संरक्षण हुनुपर्ने बताउँदै उनले व्यवसायीलाई पनि अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह गरे ।
ठूला मेसिन चलाउने चालक अभावबारे आफू जानकार रहेको बताउँदै मेयर आचार्यले दक्ष जनशक्ति उत्पादन तथा थप तालिमका लागि महानगरले सघाउने प्रतिवद्धता जनाए ।
विभिन्न दातृ निकायले पोखराको भौतिक निर्माणका लागि ठूलो रकम सहयोग गरेको प्रसंग उल्लेख गर्दै उनले तालचोक –बेगनास, दोबिल्ला–पुँडीटार, शिशुवा–सिसाघाट लगायत सडक निर्माणले पोखरालाई साँच्चिकै सुविधा सम्पन्न महानगर बनाउने जिकिर पनि गरे । पृथ्वी राजमार्गको स्तरोन्नति ढिला भएको स्वीकार्दै उनले चिनियाँ निर्माण कम्पनीसँग महानगरले पटक पटक ताकेता गरेसँगै कामले गति लिएको सुनाए ।
कास्की हेभी इक्विपमेन्ट व्यवसायी संघ अध्यक्ष बालकृष्ण कोइरालाले राज्यले लिएको गलत नीति, हेभी इक्विपमेन्ट व्यवसायीलाई हेर्ने गलत दृष्टिकोणका कारण व्यवसायीमा निराशा छाएको दाबी गरे ।
एकातिर हाम्रा मेसिनहरु थन्किएर बस्ने अर्कोतर्फ ब्याज र किस्ताका लागि बैंकहरुबाट ताकेता आइरहने, एउटा व्यवसायीले के सोच्छ होला ?
बालकृष्ण कोइराला
अध्यक्ष, कास्की हेभी इक्विपमेन्ट व्यवसायी संघ
उनले विकास बजेट खर्च नहुँदा मेसिन थन्किएर बसेको जिकिर गर्दै भने, ‘गण्डकी सरकारको अर्थ मन्त्रालयले पुस १ गते दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को लागि पुँजीगततर्फ करिब २० अर्ब १९ करोड रुपैयाँ विनियोजन गरिएकोमा हालसम्म जम्मा १० प्रतिशत अर्थात् २ अर्ब हाराहारीमा मात्र खर्च भएको छ । हाम्रा सरकारहरुको विकास निर्माणको गति कस्तो छ भन्ने अर्थ मन्त्रालयको यही तथ्यले प्रष्ट पार्छ । यस्तोमा भौतिक निर्माणको काम गर्ने हामी हेभी इक्विपमेन्ट व्यवसायीको हालत के होला ?’
उनले आफूले गरेको कामको भुक्तानीको लागि ज्यू, हजुर गर्नुपर्ने अवस्था रहेको बताउँदै अगाडि भने, ‘एकातिर हाम्रा मेसिनहरु थन्किएर बस्ने अर्कोतर्फ ब्याज र किस्ताका लागि बैंकहरुबाट ताकेता आइरहने, एउटा व्यवसायीले के सोच्छ होला !’ उनले तीनवटै तहका सरकारसँग विकासको गति बढाउन, स्वदेशी निर्माण व्यवसायीहरुको संरक्षणको लागि विशेष अभियान सञ्चालन गर्न, राष्ट्र निर्माणमा सघाउने हेभी इक्विपमेण्ट तथा अपरेटरको जीवन बीमामा सहुलियत प्रदान गर्न, कामको सहज अनि छिटो भुक्तानीको प्रत्याभूति गर्न, लाइसेन्स प्रक्रिया सहज बनाउन एवं दक्ष जनशक्ति उत्पादनको लागि विशेष योजनासहित अगाडि बढ्न माग पनि गरे ।
नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष उमाकान्त शर्माले पनि विकास, निर्माणको काम सुस्त हुँदा र भुक्तानी समयमा नहुँदा देशभर रहेका हेभी इक्विपमेन्ट व्यवसायीहरु पीडित भएको बताए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की र लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, नेपाल इन्स्योरेन्स कम्पनीका गण्डकी प्रखुख कल्याण अधिकारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्मा, हेभी इक्विपमेन्ट मेकानिकल संघका अध्यक्ष नेत्रबहादुर अधिकारी, हेभी इक्विपमेन्ट महासंघका संस्थापक अध्यक्ष ताराबहादुर कुँवर, केन्द्रीय सदस्यहरु प्रभुराम श्रेष्ठ र खिन्तबहादुर भण्डारी, कास्की हेभी इक्विपमेन्ट व्यवसायी संघका संस्थापक अध्यक्ष लीलामोहन कुइँकेल, हेभी इक्विपमेण्ट व्यवसायी महासंघका महासचिव सुरेश खत्री, निवर्तमान अध्यष तथा गण्डकी प्रदेश संयोजक निश्चल पोखरेल लगायतले बोलेका थिए ।
सभामा वार्षिक प्रतिवेदन पेश गर्दै संघका सचिव भीम केसीले बुझ्दै नबुझी हेभी इक्विपमेन्ट खरिद गरी व्यवसाय थाल्ने तथा आफू नजिककालाई व्यवसायी बनाउन खोज्ने जनप्रतिनिधिका गतिविधिले सच्चा व्यवसायी नजन्मने जनाए । उनले व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धा र भुक्तानीमा देखिँदै आएको समस्या सल्टाउनुपर्नेमा जोड दिए ।
‘गुणस्तरीय कामबाट विश्वास आर्जन र आफ्नो पेशालाई मर्यादित बनाउने अभियानमा हामी जुट्नैपर्छ,’ उनले भने,‘ निर्माण व्यवसायी, बैंक तथा सरकारको तेहोरो पेलानबाट मुक्ति खोज्ने हो भने पारदर्शी र कानुनसम्मत रुपले चल्नैपर्छ भन्नेमा हामी प्रष्ट हुनुपर्छ ।’
साधारण सभाले सचिव भीम केसीको वार्षिक प्रतिवेदन र भावी कार्ययोजना एवं कोषाध्यक्ष सुमन तिमिल्सिनाको आर्थिक प्रतिवेदन पारित गरेको छ ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया