पञ्चासेः जैविक विविधताको नमुना

पोखरा नजिकैको एक प्राकृतिक भ्युटावर अथवा पोखराको शिर पञ्चासे प्रकृति प्रेमी र पारखीहरुका माझ परिचित नाम नै हो । पोखराको माथका रुपमा पर्ने पञ्चासे जैविक विविधता र पर्यावरणीय सौन्दर्यको परिचायक उपमा नै हो । पोखरा सहरदेखि दक्षिण पश्चिमी भेगमा हरियाली पहिरन पहिरिएर रंगीबिरंगी फूलहरुको सौन्दर्यको संयोजनले सजिएको पञ्चासे एक उद्यान पनि हो । पहाडी सौन्दर्यात्मक दृश्य, पर्यापर्यटनको रमणीयता, बहुमूल्य सुनाखरी फूलहरुको सुन्दर सजावट, पुष्प बगानयुक्त र वनस्पतियुक्त जंगल यहाँका मूल बिशेषता नै हुन् । हरित पहाड र पहाडका बीचबाट सुन्दर रुपमा सुसेली गडगडाहटका साथ बग्ने झरनाहरु र खोलानालाहरु पनि यहाँका बिशेषता नै हुन् ।
७५२५ हेक्टर क्षेत्रफल जंगल र कास्की, स्याङ्जा र पर्वत गरी तीन जिल्लाको संगम बनेर रहेको पञ्चासे पहाड २५१७ मिटर उचाइमा रहेको छ । पहाडी शितलता, पर्यावरणीय सौन्दर्यात्मक परिदृश्य र मनमोहक हिमालहरुको प्रस्ट सुन्दर दृश्यावलोकन यहाँका मूल बिशेषता नै हुन् । बढ्दो सहरीकरण र सहरी व्यस्तताका कारण मानव समाज आकुल व्याकुल बन्दै गइरहेको परिप्रेक्ष्यमा पञ्चासे भ्रमण मानव स्वास्थ्यका निम्ति र पर्यावरण विचरणका निम्ति महत्वपूर्ण माध्यम बन्न सक्छ ।
पञ्चासे हरित पहाड
पञ्चासे पर्यावरण र प्रकृति पारखीका लागि एक पवित्र नाम हो । ७५२५ हेक्टर क्षेत्रफलमा फैलिएको विशाल पुष्प बगानयुक्त हरित जंगल र रंगिन पुष्प बगानले पञ्चासेलाई प्रकृतिको स्वर्गका रुपमा विकास गरेको छ । पञ्चासे यात्राको सुरुवात प्रस्थान विन्दुदेखि नै हरित जंगललाई सारथि गाँस्दै पञ्चासे सुनाखरी पदयात्राको यात्रा तय गर्न सकिन्छ । पदयात्रामा दायाँ र बायाँ यात्राको क्रममा बुट्यान र रुखहरुको सामीप्यतामा प्रकृतिको न्यानो स्वागत गाँस्दै लुकामारी गर्दै यात्रा पार गर्न पाइनु पनि यहाँको प्राकृतिक विशेषता हो ।
वनस्पतिगत विविधता र प्राकृतिक बिशेषता पनि यहाँको प्रकृतिका अभिन्न उपहार हुन् । घना वनजंगल र सो घना जंगलका बीचबाट प्रकृतिको साइनो साट्दै दृश्यावलोकनका साथ यात्रा तय गर्न पाईनु नै पञ्चासे यात्राको मूल महिमा नै हो । खस्रु, सल्ला, चिलाउने, कटुस, रचनमाला, उत्तिस लगायतका बुट्यानको संयोजनमा सुनाखरीले सजाईदिएको पुष्प सौन्दर्य नै सहरका महंगा बत्तीहरुको संयोजनभन्दा अझै बहुमूल्य सौन्दर्य बन्न पुग्छ । कोणधारी बहुसंख्यक रुखहरुको हरित सौन्दर्यका वीचमा सयौँ चराचुरुङ्गी र वन्यजन्तुहरुको क्रीडा सौन्दर्य पनि थप रोचक बन्नपुग्छ । सहरी कोलाहल र मरुभूमि जस्तै कङ्क्रिटको अत्यास मेट्न र सयौँ रुखहरुको हरियाली स्वच्छता रसस्वादन गर्न एक पटक पुग्नैपर्ने यात्रा गन्तव्य नै पञ्चासे हो ।
दक्षिण पश्चिमी भेगतर्फ फैलिएको पञ्चासे पहाडमा लाखौं हरियाली रुखको सौन्दर्यले छर्ने अमिट हरियाली सौन्दर्य र पर्यावरणीय स्वच्छता नै पञ्चासे पहाडको मूल बिशेषता हो । पर्यावरणीय स्वच्छता र हरित सौन्दर्य, स्वच्छताका सबालमा विश्वले नै नजर लगाइरहेको सन्दर्भमा पोखरा सहरको प्राकृतिक र पर्यावरणीय सौन्दर्यताको महिमा पहिचान बचाईराख्न थप मद्दत गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका काँडेदेखि सुरु हुने पञ्चासे सुनाखरी पदयात्रामा दाँयाबाँया घना वनजंगलको सजावटी प्राकृतिक सौन्दर्य र पर्यावरणीय सौन्दर्यता नै पञ्चासे पदयात्राको विशिस्टीकृत सौन्दर्य पक्ष नै हो ।
यात्रामा भेटिने थकान चौतारी र चौतारीमा सजाइएका बृक्षको शितलता छहारी पनि सुखद् प्राकृतिक आनन्दको पक्ष हो । यात्रासँगै घना जंगलको बिचमा हरित कार्पेट बिछ्याइएको सरी स्वर्गको टुक्राझैं प्राकृतिक रुपमा सिँगारिएका चौरहरु पनि यात्रा आकर्षणका सबल पक्ष हुन् । हरित बगैंचासरि झाँगिएका बुट्यानहरुको स्वच्छ पावन सयर गर्दै यात्रा तय गर्दा बाटोमै झपक्कै सिँगारिएका लालीगुँरास, झलझल बत्तीझैँ सिँगारिएका सुनाखरी र अन्य पुष्प बनस्पति पनि यहाँका पर्यावरण सुन्दरताका कोटीहरु हुन् ।
कास्की, स्याङ्जा र पर्वतको संगम पञ्चासे २५१७ मिटर उचाइमा छ
शान्त पर्यटनको अभिन्न अंगका रुपमा मानिएको पञ्चासे यात्रामा हरियाली पहाडका बीचमा पर्ने सुन्दर मन्दिर, गुम्बाहरु, मनेहरु र परम्परागत कुटीहरु पनि कम महत्वका पाटो भने हैनन् । पञ्चासे पदयात्राको उकालो चढ्दै गर्दा प्रकृतिले पस्केका जंगल र बुट्यानमात्रै होइन, जंगलका बीचमा फैलिएका अनेकौं प्रजातिका हरित फलफूलका वृक्ष, बहुमुल्य फूलहरु, बहुमूल्य उन्यूहरु पनि यहाँका कम सौन्दर्यका पक्ष भने हैनन् ।
विशेषतः पञ्चासे पहाडको मूल बिशेषता नै घना वनजंगल नै हो । प्रकृतिको निशुल्क उपहारका रुपमा पाइएका मानव जीवनका अस्तित्वका माध्यम रुखबिरुवा र तिन्को हरित पर्यावरणीय सौन्दर्य नै पञ्चासेको मूल बिशेषता हो । डाँडाको चारैतिर हरित पर्यावरणीय स्वच्छता नै आज यहाँको प्रकृतिको महिमा र उपहार बनेको छ । घना वनले घेरिएको हरित पहाड र हरित जंगल पाकृतिक सुन्दरता नै आज पञ्चासेको मूल महिमा हो र पर्यावरणीय स्वच्छताको परिचायक नै हो ।
बहुमूल्य सुनाखरी
कास्की, स्याङ्जा तथा पर्वत जिल्लाको संगमस्थल पञ्चासे पारिस्थितिकीय प्रणाली तथा जैविक विविधताले भरिपूर्ण पर्यापर्यटकीय स्थल पनि हो । पञ्चासे क्षेत्रमा पाइने ६ सय थरिका वनस्पतिमध्ये १ सय ४३ प्रजातिका विभिन्न आकर्षक सुनाखरीहरु पनि अभिलेख गरिएको छ । यीमध्ये केही पञ्चासे क्षेत्रमा मात्रै पाइन्छन् । त्यसैगरी नेपालका वनस्पति सूचीमा ६ प्रजातिका सुनाखरी सर्वप्रथम यसै क्षेत्रबाट थपिएका हुन् । यसरी विश्वमा पञ्चासेमा मात्रै पाइने केही प्रजातिका सुनाखरीसहित नेपालमा पाईने अधिकांश पञ्चासे घना जंगलका बीचमा सुन्दर स्वरुपमा फुलेका सुनाखरीहरु यात्रा आकर्षणमा महत्वपूर्ण पर्याय पनि बनेका छन् ।
पञ्चासेको हरित सौन्दर्यमा सुनाखरीहरुको सुन्दर संयोजन नै यात्राको रमणीय पक्ष हुन् । तसर्थ पञ्चासे सुनाखरीको राजधानी नै हो भन्ने कुरामा कुनै द्विविधा नै छैन । पञ्चासे क्षेत्रमा समुन्द्र सतहबाट ९ सयदेखि २ हजार १ सय मिटरसम्म पाइने यी सुनाखरी प्रजाति रकचन, गुँरास र चिलाउनेका बोटहरुमा बैशाखदेखि जेठ महिनामा फूलेको देख्न पाइन्छ ।
यसरी असाधारण प्राकृतिक सौन्दर्यमा बहुमूल्य सुनाखरीहरुको सौन्दर्यले पदयात्रा को सम्झनालाई अझै अविराम बनाईदिन्छ । पदयात्रामा शान्त पदयात्रा शयर गरिरहँदा मुसुक्क हाँसेका लालीगुँरास र बत्तीझैँ धपधप झिलीमिली स्वरुपमा फुलिरहेका सुनाखरीले पदयात्राको थकान बिर्साईदिन्छन् । पदयात्रामा घना जंगलमा सयर गरिरहँदा रुखैपिच्छे झुन्डिएका सुनाखरीको सुन्दर दृश्य पनि अधिक रोचक र यादगार बन्न पुग्छ ।
छत्रे उन्यू
पञ्चासे पदयात्रामा यात्राको क्रममा उन्यू प्रजाति अन्तर्गत पर्ने लोपोन्मुख प्रजाति छत्रे उन्यु पनि अवलोकन गर्न पाइन्छ । उन्यू प्रजाति अन्तर्गत पञ्चासेमा धेरै प्रजाति पाइएता पनि छत्रे उन्यु डाइनोसरका पालादेखिको वनस्पतिका रुपमा मानिन्छ । छत्रे उन्यू पाइने जंगललाई पर्यावरणीय दृश्टिले स्वच्छ पनि मानिन्छ । पञ्चासे यात्रामा छत्रे उन्यूले प्राकृतिक गेटको स्वरुपमा मानव लस्करलाई स्वागत गरेको हुने गर्दछ ।
प्रकृतिको भूस्वर्गका रुपमा रहेको पञ्चासे पहाडको पर्यावरण सुन्दरतामा यहाँका सुनाखरीहरु र छत्रे उन्यूहरु महत्वपूर्ण प्राकृतिक छटाका रुपमा र विशेषताका रुपमा रहने गर्दछन् । शान्त पर्यटनको रसस्वादन गर्ने पर्यापर्यटन पारखीका निम्ति पदमार्गमा देखिने रुखहरुमा फुलेका सुनाखरीहरुको दृश्यले मन अचम्मित बनाइदिन्छ र बाटोमा विशाल खम्बामाथि मुना निकालेर फुलेका छत्रे उन्यूले स्वागत गर्दा मानव मनको दुख पीडा बिर्साईदिन्छ । औषधीय विशेषतासमेत बोकेको छत्रे उन्यू मानव जीवन अस्तित्वसँग समेत जोडिएको बहुमुल्य जडिबुटीसमेत हो ।
वन्यजन्तु र चराचुरुंगी
पञ्चासे पदयात्रामा जंगल परिभ्रमणका क्रममा सयौँ चराचुरुंगी र वन्यजन्तु सहज अवलोकनसमेत गर्न पाइन्छ । खासगरी घना वनजंगल क्षेत्रफलमा फैलिएको पञ्चासे क्षेत्र सैयौँ चराचुरुंगी र वन्यजन्तुको वासस्थानस्थल पनि हो । यात्राका क्रममा हरित घाँसे मैदानहरुमा र पखेराहरुमा सुन्दर मृग, सुन्दर कालिजका जोडी लगायतका वन्यजन्तु र चराहरुको सहज अवलोकन गर्न पाउँदा कस्को मन नरमाउला र ? स्वच्छ र शान्त हरियालीमा रमाइरहेका वन्यजन्तुहरुको क्रीडा देख्दा मान्छेले सबै दुख र दर्द भुल्ने गर्दछ । पदयात्रामा घना बासस्थानका वीच रमाइरहेका वन्यजन्तु देखिनु र अनेकौं चराको दृश्य देख्न र सुसेली सुन्न पाइनु पनि पञ्चासे पदयात्राको पृथक पक्ष हो ।
यहाँका जंगली वन्यजन्तु र चराचुरुंगी नै यहाँको यात्राका रोचक परिदृश्य र पदयात्राको रमणीय पक्षसमेत हुन् । पञ्चासे जंगल सफारी आफैँमा पर्यावरणीय स्वच्छताका हिसाबले महत्वपूर्ण थेरापी र स्वास्थ्योपचार पनि हो भन्न सकिन्छ । सहरी कोलाहलबाट उन्मुक्ति र पर्यापर्यटनको रसस्वादन र स्वच्छ पर्यावरणको आनन्दानुभूति नै पञ्चासे पदयात्राको मूल विशेषता बन्न सक्छ । पर्यावरण र हरित जंगलको सामीप्यतामा सहज कैद गर्न सकिने वन्यजन्तु पञ्चासे यात्रा आकर्षणका महत्वपूर्ण आधार हुन् । वन्यजन्तु र चरा अध्ययन, अनुसन्धान र अवलोकन पनि पञ्चासे यात्राको महत्वपूर्ण उपलब्धि बन्न सक्ने छ ।
वास्तवमै प्रकृतिको भूस्वर्ग उपहारका रुपमा रहेको पञ्चासे पर्यापर्यटन परिभ्रमण, जल, जंगल अवलोकन, वन्यजन्तु, चराचुरुंगी अबलोकन र अनुसन्धान र ग्रामीण पर्यापर्यटन अवलोकनका दृष्टिले पनि महत्वपूर्ण यात्रा गन्तव्य हो । पोखरा नजिकैको महत्वपूर्ण तीर्थयात्रा, प्राकृतिक पदयात्रा गन्तव्य पञ्चासे प्रकृति र पर्यावरण विचरण पारखीहरुका निम्ति अति महत्वपूर्ण प्राकृतिक भ्रमणस्थल पनि हो । लाखौं मानिस बर्सेनि पञ्चासे सिद्धबाबाको दर्शन गर्ने उद्देश्यले धार्मिक तीर्थाटनका निम्ति मात्रै होइन, पर्यावरण अवलोकन र अनुसन्धान, अन्वेषणका निम्ति समेत आउने गर्दछन् ।
पञ्चासे जंगल थेरापी कार्यक्रम आज पनि पञ्चासे पर्यावरण विचरण एवं जंगल सफारीको महत्वपूर्ण माध्यम बनिरहेको छ । हाइकिङ, ट्रेकिङ लगायत पदमार्ग पर्यटनका गतिविधिका लागि समेत परिचित भ्रमण गन्तव्य पञ्चासे जैविक विविधता अवलोकन र अध्ययनको महत्वपूर्ण हब नै हो । हरित वन, जंगलका बीचमा रंगीचंगी फुल्ने लालीगुराँस र सुनाखरीहरु नै यहाँका प्राकृतिक बत्तीहरु हुन्, जसले नै आज पञ्चासेलाई उज्यालो बनाइरहेका छन् या संसारभर चिनाइरहेका छन् । आकर्षक प्राकृतिक झरना, स्वच्छ र कञ्चन पानी बगिरहने खोला पनि यहाँको यात्रा थकान बिर्साउने माध्यम हुन् ।
संसारभर प्रकृति र पर्यावरणीय सौन्दर्यको महत्व अझै झाँगिएर गइरहेको सन्दर्भमा पञ्चासे प्रकृतिको उपहारका रुपमा चिरपरिचित छ । सुन्दर ग्रामीण पर्यापर्यटन उपहारको रुपमा प्रकृतिका अलौकिक छटाहरुको रसस्वादन गर्दै सुन्दर, हरियाली जंगलमा जंगली वन्यजन्तुको क्रीडा हेर्दै र वरपर सेताम्मै हाँसिरहेका हिमाल दृश्यावलोकन गर्दै स्थानीय परम्परा, भाषा, भेषभूषाबारे बुझ्दै परम्परागत होमस्टेहरुको आवास, ग्रहण गर्न पाउँदा पञ्चासे यात्रामा निस्कनेहरु जीवनभर यो यात्रालाई बिर्सन्नन् । वास्तवमै जैविक विविधता र पर्यावरणीय सुन्दरताको राजधानीसमेत मानिने पञ्चासे भ्रमण एक पटकले पुग्दै पुग्दैन ।
तपाईको प्रतिक्रिया