
म्याग्दी ।
वरिपरि जंगल, बिचमा केही भाग समथर त्यही ठाउँबाट हिमालसँगै वरिपर देखिन्छ मनमोहक ठाउँ र बस्तीहरु, कुनै समयमा खेती हुने यो ठाउँमा अहिले चिटिक्कको शिव मन्दिर छ । यो मन्दिरमा पूजाआर्चना गरे आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वसका साथ वर्षौंदेखि यहाँ पूजाआजा गरिँदै आएको छ ।
म्याग्दीको रघुगंगा गाउँपालिका–८ मंगलेखानीका स्थानीयले अहिले यो काप्चुच्चेलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्न अग्रसर भएका छन् । अहिले काप्चुच्चेमा स्थानीयको सक्रियतामा मन्दिरमात्र निर्माण भएको छैन । त्यहीं होम गर्न २ वडा होमनकुण्ड, सत्तल निर्माणसँगै मन्दिर परिसरमा चिटिक्क पारेर ढुंगा बिछ्याइएको छ ।
प्रभु महाराजा (कृष्ण भगवान) यस काप्चुच्चेमा आएर ध्यान गरेका आफ्नो शक्ति प्राप्त गरेको भन्ने आफ्ना पुर्खाले भन्ने गरेको ७९ वर्षका ठाकुरप्रसाद छन्त्यालले बताए । ‘प्रभुले यहाँ आएर आफ्नो शक्ति प्राप्त गरेको भन्ने पुर्खाको कुरा अनुसार उहाँहरुको चलन अनुुसार नै हामीले यहाँ पूजा गर्दै आएको छौँ,’ उनले भने, ‘यसलाई अहिले हामीले प्रचार गरी धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने अभियानमा छौँ ।’
वर्षको दुईपटक कृष्णाष्टीका दिन पूजाआजा हुने यस मन्दिरमा अहिले भक्तजनको आगमनलाई मध्यनजर गरी देशविदेशमा रहेका मंगलेखानीबासीहरुबाट सहयोग संकलन गरी मंगलेखानीबाट मन्दिरसम्म पुग्न पदर्माण निर्माण गरिएको शिव मन्दिर संरक्षण समितिका अध्यक्षसमेत रहेका नरबहादुर छन्त्यालले बताए । उनले भने, ‘हामीले स्थानीय सरकार र गाउँबाट वैदेशिक रोजगारीका लागि विदेश जानुभएका वा बसाइसराइ गरेर गएकाहरुको सहयोगमा यहाँ विभिन्न पूर्वाधारहरु निर्माण गरेका छौँ ।’
पहिले ढुंगाको थान बनाएर पूजा गरिँदै आएको थियो । अहिले व्यक्तिको सहयोगमा मन्दिर निर्माण गरिएको छ । मन्दिर नजिकै पानीका लागि धारा निर्माण गरिएको छ । मंगलेखानी गाउँबाट करिब १ घण्टामा पुग्न सकिने काप्चुच्चेलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सके धर्मिक पर्यटक भिœयाउन सकिने स्थानीय टमबहादुर छन्त्यालले बताए ।
छन्त्याल जातिको बासोबास रहेको मंगलेखानीमा पर्ने काप्चुच्चे पर्यटकीयस्थलको रुपमा विकास गर्न सके गाउँमा उत्पादन हुने आलु, सिमीले समेत बजार पाउने छन्त्यालको भनाइ छ । स्थानीयको सक्रियतामा केही वर्षयता काप्चुच्चेमा पूर्वाधार निर्माण भएका छन् । त्यसमा वडाले पनि सहयोग गरेको रघुगंगा गाउँपालिका–८ का वडा अध्यक्ष गमान छन्त्यालले बताए । ‘हामीले काप्चुच्चेलाई पर्यटकीय रुपमा विकास गर्न गुरुयोजना नै बनाएर अघि बढेका छौँ,’ उनले भने, ‘यसमा वडाले मात्र नभर संघ र प्रदेश सरकारको पनि सहयोग आवश्यक छ ।’
प्रचारको कमी भएकाले धार्मिक पर्यटक आउन सकेका छैनन् । वडाको प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउने गरी प्रसार गर्ने अध्यक्ष छन्त्यालले बताए । धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको काप्चुच्चेमा पुग्न बेनी बजारदेखि ३ घण्टाको सवारी साधान र १ घण्टा पदमार्ग हुँदै जानुपर्छ ।

राकेश शर्मा
शर्मा समाधान राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हुन् ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया