राजतन्त्र ल्याउन संविधानले रोक्दैनः थापा

पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संघीय लोकतान्त्रिक गणतन्त्र असफल भएको दाबी गरेको छ । पार्टीका अध्यक्ष कमल थापाले संघीयताको विकल्पमा हिन्दू अधिराज्यको अलवा राजा सहितको प्रजातन्त्र आवश्यक भएको बताए ।
पार्टीले मंगलबार आयोजना गरेको पश्चिमाञ्चल क्षेत्र स्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष थापाले नेपालको संविधान अनुसार राजासहितको प्रजातन्त्र स्थापना गर्न सकिने तर्क गरे । उनले सीमित दलका सीमित नेताले राज्य सयन्त्र कब्जा गरेको, संघीयता भ्रष्ट, सिन्डिकेट र तस्करतन्त्रमा रुपान्तरण भएको दाबी गरे ।
अहिलेको शासकीय स्वरुप, राज्यको संरचना र निर्वाचन प्रणालीले भ्रष्टाचार बढाउने काम गरेको उनको जिकिर छ । ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था असफल भएको छ,’ पार्टीको निश्कर्ष सुनाउँदै उनले भने, ‘अहिलेको व्यवस्थाको परिवर्तन अपरिहार्य छ । संघीय व्यवस्थाको विकल्प अनिवार्य भएको छ ।’ उनले संविधान विपरीत भएर व्यवस्था परिवर्तन गर्न नखोजेको दाबी गरे ।
राजनीतिक दल बीचको सहमति र सहकार्यबाट यही संविधानबाट व्यवस्था परिवर्तन गर्न सकिने उल्लेख गर्दै उनले राष्ट्रवादी, राजावादी र देशभक्तहरुको वृहत मोर्चा आवश्यक भएको बताए । उनले पार्टीले पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र स्थापना गर्न देशव्यापी अभियान चलाएको जानकारी दिए ।
उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री आवश्यक भएको बताए । प्रदेशस्तरीय संरचनाको खारेज गरी केन्द्र र स्थानीय सरकार गरी २ तहको सरकार रहने व्यवस्था कायम गरिनुपर्ने उनले उल्लेख गरे ।
उनले भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा गरिएको विद्युत व्यापार सम्झौता स्वागतयोग्य भएता पनि जलस्रोतमा एउटामात्र देशको एकाधिकार हुन नहुने बताए । अध्यक्ष थापाले भारतीय दूतावासले सिघैं २० करोड रुपैयाँसम्मका आयोजनामा खर्च गर्न पाउने व्यवस्था आपत्तिजनक भएको उल्लेख गरे । उनले सम्झौताले नेपालमा भारतको समानन्तर सरकारको झल्को दिने भएकोले कार्यान्वयन गर्नु अगावै खारेज गर्न माग गरे ।
उनले बहुचर्चित इपिजी, १९५० को सन्धीको पुनरावलोकन, सिमा विवाद लगायतका विषयमा सरकार मौन रहनुले निरीहतालाई प्रदर्शित गरेको आरोप लगाए । उनले राष्ट्रियसभामा पटक पटक अवसर पाएका र प्रतिनिधि सभाको निर्वाचनमा हार व्यहोरेकालाई उम्मेद्वार बनाएर ठूला दलले संविधनाको खिल्ली उडाएको बताए ।
अध्यक्ष थापाले राष्ट्रिय सभालाई सिमान्तकृत, अल्पसंख्यक र विज्ञहरुको सहभागिता रहनुपर्ने सभा बनाउन माग गरे । पार्टीका केन्द्रीय सदस्य सूर्य बास्तोलाले पार्टीको पश्चिमाञ्चल क्षेत्र स्तरीय प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्य, क्षेत्रीय, जिल्ला तथा नगर अध्यक्ष र भातृ संगठनका केन्द्रीय पदाधिकारी तथा सदस्यको सहभागिता रहेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया