पोखरा १५ मा खेलकुद महोत्सव हुने

समाधान संवाददाता २०८० पुष २६ गते ११:३३

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजनामा माघको पहिलो साता वडा १५ स्तरीय दोस्रो बृहत खेलकुद महोत्सव हुने भएको छ । माघको २ देखि ४ गतेसम्म वन विज्ञान अध्यायन संस्थान भित्रको मैदानमा हुने महोत्सवको पूर्वाद्धमा वडाले बुधबार वडावासीसँग छलफल गरेको छ ।

Advertisement


सो अवसरमा वडाध्यक्ष तोरण बानियाँले आगामी प्रतियोगितालाई सफल पार्न वडावासीलाई आग्रह गरे । आपसी भाइचारा विकास र वडावासीबिचको सम्बन्ध मजबुत बनाउन वडाले यो महोत्सव आयोजना गरेको उनले बताए । प्रतियोगितामा सहभागिता जनाउन वडा १५ को बासिन्दा हुनुपर्ने तथा अन्यत्रबाट आएको भए बसाइसराइको कागजात हुनुपर्ने बानियाँले सो अवसरमा जानकारी दिए ।


महोत्सवमा पुरुष, महिला, विद्यालय तथा अपांगता भएका व्यक्तिहरुबिच फरक फरक इभेन्टमा प्रतिस्पर्धा हुने खेलकुद कार्यक्रमका संयोजक वडा सदस्य आशीष भण्डारीले जनाए । पुरुष स्तरीय टोल तथा क्लहरुबिच फुटबल, भलिबल, ५० वर्ष माथिकाहरुको सडक दौड, डबल्स ब्याडमिन्टन हुने छन् ।

Advertisement


महिलाबिच भलिबल, रस्साकसी, ४० वर्ष माथिकाको सडक दौड, डबल ब्याटमिन्टन लगायतमा प्रतिस्पर्धा हुने छन् । विद्यालय स्तरीय फुटबल तथा अपांगता भएका व्यक्तिहरुबिच बास्केट बल प्रतियोगिता हुने संयोजक भण्डारीले बताए । प्रतियोगिताका विभिन्न इभेन्टमा जित हाँसिल गर्ने टिमले नगदसहित सिल्ड, मेडल र प्रमाण–पत्र पाउने छन् ।

Advertisement

तपाईको प्रतिक्रिया