सत्कार्य गर्ने मदनकाजीको सपना

गत वर्ष माघ १ गते काठमाडौंबाट पोखरा आएको यति एअरलायन्सको विमान पोखरामै दुर्घटना हुँदा चालकदलका ४ जनासहित ७२ जनाको मृत्यु भएको घटनाले पोखरेलीलाई अझै आतंकित बनाइरहेको छ । काठमाडौंबाट १० बजेर ३२ मिनेटमा उडेको विमान पोखरा विमानस्थलमा उत्रने क्रममा दुर्घटनामा परेको थियो । सो विमानका यात्रुमा ३७ पुरुष, २५ महिला र ३ शिशु थिए । यात्रुदलमा ५३ नेपाली, ५ भारतीय नागरिक थिए भने अन्य विदेशी थिए । सरकारले दुर्घटना भएपछि राष्ट्रिय शोक मनाउन माघ २ गते सार्वजनिक बिदा दियो । उक्त विमान दुर्घटनामा पर्नुअघि विमान चालकले अवतरण गर्न दिशा फेरेका थियो । सरकारले उक्त घटनाको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।
आयोगले यो दुर्घटना मानवीय त्रुटिका कारण भएको अन्तिम निष्कर्ष हालै सार्वजनिक गरेको छ । दुर्घटनामा केही पोखरेलीले पनि ज्यान गुमाउनु परेको थियो । हटलाइन दैनिकका सम्पादक त्रिभुवन पौडेल, रामकृष्ण टोलका डाक्टर श्रेष्ठ दम्पती लगायतको मृत्युले पोखरा शोकमग्न हुन पुगेको आज एक वर्ष भएको छ ।
दुर्घटनामा सबैभन्दा गहिरो चोट रामकृष्ण टोल निवासी ७५ वर्षीय मदनकाजी श्रेष्ठलाई पुग्न गयो । उनका छोरा डा. सुशील, बुहारी डा. सोना र नाति सर्मित श्रेष्ठले ज्यान गुमाए । मदनकाजीलाई उक्त घटनापछि धेरैले समवेदना दिए । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले फोनमार्फत समवेदना प्रकट गरे । श्रेष्ठको घरमा आई समवेदना प्रकट गर्नेमा पूर्व मूख्यमन्त्री खगराज अधिकारी, पूर्व सभामुख तारानाथ रानाभाट लगायत विभिन्न पार्टीका वरिष्ठ नेता थिए ।
पोखरा उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी कास्की लगायतका पदाधिकारीले गहिरो सहनुभूति प्रकट गरे । यस घटनालाई श्रेष्ठले शोकलाई शक्तिमा बदल्ने प्रयास गरे । उनको चाहना थियो–बिमावापत प्राप्त हुने रकम लोककल्याणकारी कार्यमा खर्च गर्ने । यसका लागि १ करोडको कोष खडा गर्ने तर घटना घटेको वर्ष दिन भइसक्दा पनि उनले बिमा वापतको रकम प्राप्त गर्न सकेका छैनन् ।
धेरै पोखरेली, उच्च पदस्थसमेतसमवेदना दिए तर यति एअरलायन्सको तर्फबाट पीडितलाई भेट्न, समवेदना दिन अझैसम्म कोही आएको छैन
यस अर्थमा उनको यो सपना अधुरो भएको छ । उनको अर्को गुनासो छ, सबै नेता सर्वसाधारण जनताले समवेदना दिए तर यति एअरलायन्सका तर्फबाट पीडितलाई भेट्न, समवेदना दिन अझैसम्म कोही आएका छैनन् । मानवीय त्रुटिका कारण यत्रो घटना घटेको थाहा पाईपाई सम्बन्धित निकाय समवेदना प्रकट गर्न किन कोही आउँदैनन् ? ७४ वर्षीय श्रेष्ठ सबैसँग प्रश्न गर्ने गर्दछन् ।
त्यो दिन स्मरण गर्दै श्रेष्ठ भन्छन्–परिवारसँग माघेसंक्रान्ति खुसीयालीका साथ मनाउने तयारी गर्दै थियौं, यो पर्व मनाउन छोरा, बुहारी आफ्ना १५ महिने काखे बालकसहित पोखरा आउँदै थिए ।
छोरा डा. सुशीलले हामी यति एयरबाट १० बजे पोखरा आउँदै छौं भनेर खबर गरे । छोरीले दाइभाउजूलाई लिन एयरपोर्ट जाऊँ भनेपछि बाबुछोरी नयाँ विमानस्थल हुँइकियौं । जहाजको प्रतीक्षा गर्दै थियौं । टर्मिनल भवनका कारण जहाज ल्यान्डिङ गरेको भने देखिदैनथ्यो । छोराले काठमाडौं एयरपोर्टबाट हामीले बोडिङपास लियौं, १० बजे जहाजमा प्रवेश गर्दैछौ भनेको सम्झें । यता, समयमा जहाजले ल्यान्डिङ गरेन । केही समयपछि एयरपोर्टबाट दुई दमकल निस्किए ।
मैले सम्झँे– पोखरा बजारमा कतै आगलागी भयो होला ! केही समयपछि एयरपोर्टमा हल्ला चल्यो, प्लेन क्य्रास भयो । मेरो मनमा चिसो पस्यो । कतै यो क्य्रास भएको जहाज यति एयर त होइन ?
एयरपोर्ट नजिकै जहाज खसेको थाहा पाएपछि छोरीले चिच्याउँदै भनिन्– बुबा ! हामी पनि उद्धार गर्न जाऊँ । हामी अघि बढ्यौं । बाटोमा मान्छे नै मान्छे थिए । हामी थुम्कोमा चढेर प्लेन खसेको ठाउँ हेरौं । मैले केही सुर पाइँन । पानी पानी भनि चिच्याएछु । पानी दिने मान्छे कोही भेटिएनन् । केही समयपछि मलाई मेरो ओठमा पानी हालिदिएछन् । गण्डकी मेडिकल कलेजबाट ज्वाइँ आइपुग्नुभयो । त्यसपछि के भो मलाई थाहा भएन ।
अमेरिकामा भएको जेठो छोरा सुनीललाई कसैले खबर गरिदिएछ । उनी नेपाल आईपुगे । घरमा रुवावासी चल्यो । म र श्रीमती भीममाया होशमा थिएनौं । दिनभरी, रातभरी सुत्थ्यौं, को आए को आएनन्, थाहै भएन । हेर्दाहेर्दै घटना घटेको वर्ष दिन बित्यो ।
मदनकाजीलाई लाग्यो–मान्छे जन्मेर एक दिन अवश्य मर्नुपर्छ । अन्तर के मात्र हो भने कोही अघि, कोही पछि । मेरा छोरा डा. सुशील, बुहारी डा. सोना, नातिले दीर्घायू पाएनन्, तर मैले उनीहरुलाई जीवन्त राख्नका लागि केही न केही गर्नुपर्छ । यसो हुन सक्यो भने उनीहरुको आत्माले शान्ति पाउँछन् । सत्कार्यका कारण उनीहरु युग युग बाँचिरहन्छन् । अहिले म यो कोष स्थापनाका लागि लागिपरेको छु । हेरुँ, सम्बन्धित निकायले कहिले साथ दिन्छ ?
तपाईको प्रतिक्रिया